ड्रोन हमलापछि साउदी अरेबियाले गर्यो मुख्य तेल पाइपलाइन बन्द

तस्बिर स्रोत, Copernicus Sentinel-3/Reuters
- Author, टिफनी टर्नबुल
- Published
- पढ्ने समय: ३ मिनेट
मध्यपूर्वमा द्वन्द्व विस्तार हुँदै गर्दा इराकको भूमिबाट गरिएको ड्रोन हमलापछि साउदी अरेबियाले एउटा महत्त्वपूर्ण तेलको पाइपलाइन बन्द गरेको छ।
इराकले आफ्नो छिमेकी देशको पूर्वपश्चिम पाइपलाइनमा भएको ड्रोन हमला इरानसँग सीमा जोडिएको आफ्नो प्रान्तबाट भएको स्वीकार गरेपछि उसले एकजना सैन्य कमान्डरलाई बर्खास्त गरेको र अनुसन्धान सुरु गरेको बताएको छ।
१२ सय किलोमिटर लामो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरेबियालाई स्ट्रेट अफ होर्मुजको मार्ग प्रयोग नगरीकनै आपूर्ति गर्न मद्दत गरेको थियो।
यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले तिनको नियन्त्रण भएको क्षेत्र थप विस्तार गरेका बेला यो घटना भएको हो।
अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा चल्दै गर्दा विश्वव्यापी तेल ढुवानी मार्गहरूमा थप दबाव परेको छ।
रियादले शुक्रवार सावधानीपूर्वक पाइपलाइन बन्द गरेको बताएको छ किनभने भूउपग्रहका तस्बिरहरूमा उक्त क्षेत्र नजिकै धुँवा बाहिर आएको र जमिन कालो भएको देखिएको छ।
विदेश मन्त्रालयले हमलामा केही घाइते र क्षति भएको बताएको छ जसको मूल्याङ्कन अझै भइरहेको भनिएको छ।
जहाज ट्र्याकिङ गर्ने कम्पनी र विश्लेषकहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले पाइपलाइनले विश्वव्यापी तेल आपूर्तिको ४ देखि ५ प्रतिशत ढुवानी गर्दै आएको विवरण दिएको छ।
इराकका प्रधानमन्त्रीको आह्वानपछि साउदी अरेबियाले यतिबेला जबाफ नफर्काउने विदेश मन्त्रालयले जनाएको छ।
उसले छिमेकी देशहरूविरुद्ध सुरु हुने "आक्रमण रोक्न" इराकको सरकारको प्रयासलाई समर्थन गर्ने जनाएको छ।
"साउदी अरेबियाले आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा आफ्नो सुविधाहरूको रक्षा गर्न र आफ्ना नागरिक र बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाउने आफ्नो अधिकार सुरक्षित राखेको छ," उक्त विज्ञप्तिमा भनिएको छ।
इराकको प्रधानमन्त्रीको कार्यालयले आफ्नो वक्तव्यमा इरानसँग सीमा जोडिएको मेसन गभर्नोरेटका उक्त अपरेशन कमान्डरलाई त्यस क्षेत्रबाट ड्रोन हमला गरिएको पुष्टि भएपछि पदबाट हटाइएको उल्लेख गरेको छ।
संयुक्त अरब एमिरेट्स, बाहरेन, ओमान, कतार र कुवेतका प्रतिनिधिहरू सम्मिलित गल्फ कोअपरेशन काउन्सिलले पनि हमलाको निन्दा गरेको छ।
"यो हमलाले द्वन्द्वको खतरनाक विस्तार जनाउँछ र साउदी अरेबियाको सुरक्षा, यसको क्षेत्रीय अखण्डता र यसका महत्त्वपूर्ण प्रतिष्ठानहरूका लागि यो अस्वीकार्य खतरा हो, साथै अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन हो," काउन्सिलका महासचिव जसेम मोहम्मद अल्बुदाइवीले भने।
यो साता यमनमा हुथी लडाकुहरूले तेज गतिमा देशका धेरै समुद्री तटमा कब्जा जमाएको स्रोतहरूले बताएका छन्।
उक्त समूहले रेड सी र स्वेज नहरतर्फ जाने प्रवेशमार्गका रूपमा रहेको बाब अल-मन्दब जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ। यद्यपि उसले साउदी अरेबियाका पानीजहाजबाहेक अरू सबै कम्पनीका लागि समुद्री आवागमन "सुरक्षित" रहेको बताएको छ।
यी घटनाक्रमले अरेबियन प्रायद्वीपको दुवै छेउमा दबाव बढाएको छ जसका कारण कच्चा तेलको मूल्य जुलाईपछि पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















