साउदी अरेबिया र अमेरिकाबीच भएको परमाणु सम्झौताले कस्ता चिन्ता बढाएको छ?

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, जेम्स फिट्जेराल्ड र म्याक्स माट्जा
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिका र साउदी अरेबियाले एक महत्त्वपूर्ण सम्झौता गरेका छन् जसले उक्त खाडी राष्ट्रलाई गैरसैनिक परमाणु कार्यक्रम विकास गर्न मद्दत गर्ने भनिएको छ।
सम्झौतालाई "शान्तिपूर्ण परमाणु सहयोग सम्झौता" भनिएको छ जसले "अमेरिकी कम्पनीहरूलाई साउदी परमाणु ऊर्जा कार्यक्रममा ठूलो पहुँच" दिलाउने अमेरिकी ऊर्जा मन्त्रालयले जनाएको छ।
सम्झौताका विवरण सार्वजनिक गरिएको छैन तर अमेरिकी सञ्चार माध्यमहरूले यसले भविष्यमा साउदी अरेबियालाई युरेनिअम प्रशोधन गर्न अनुमति दिने जनाएका छन् – जसको उपयोग परमाणु ऊर्जा केन्द्रहरूमा मात्र होइन परमाणु बम बनाउन पनि प्रयोग हुन सक्छ।
सम्झौताले के गर्छ?
अमेरिकाले गरेको यस्तो सम्झौताले अहिले नै अस्थिर रहेको क्षेत्र (मध्यपूर्व)मा भविष्यमा परमाणु प्रसारको खतरा झन् बढाइदिने विज्ञहरूले भनेका छन्।
अमेरिकी ऊर्जा मन्त्रालयले सहयोग सम्झौतासँगै "द्विपक्षीय सुरक्षा सहमति" पनि गरिएको बताएको छ।
"समग्रमा यी दुई सहमतिले दशकौँ लामो दशौँ अर्ब डलरका साझेदारीको कानुनी आधारशिला खडा गर्ने छ जसले परमाणु अप्रसारसहित थुप्रै प्राथमिकताप्राप्त आर्थिक तथा रणनीतिक उद्देश्यहरू हासिल हुने छन्," उसको विज्ञप्तिमा उल्लेख छ।
साउदी सरकारले पनि छुट्टै विज्ञप्ति जारी गर्दै नयाँ सम्झौताले दुई देशबीच ऊर्जा क्षेत्रमा विद्यमान सहयोग थप विस्तार गर्ने बताएको छ। गत नोभेम्बरमा साउदी नेताले वाशिङ्टन भ्रमण गरेपछि यो सम्झौता हुन पुगेको उसले भनेको छ।
अमेरिका र इरानबीचको द्वन्द्व चर्किएको समयमा यस सम्झौताको घोषणा भएको छ।
लामो समयदेखि अमेरिकाको साझेदार रहँदै आएको साउदी अरेबियामा कैयन् अमेरिकी सैन्य अखडा छन् जसलाई इरानले निसानामा पार्दै आएको छ। यमनस्थित इरान समर्थित हुथी समूहले साउदी अरेबियाविरुद्ध "सामुद्रिक प्रतिबन्ध" घोषणा गरेको दुई दिनपश्चात् अमेरिका-साउदी अरेबिया सम्झौता प्रकाशमा आएको छ।
परमाणु सम्झौताको यकिन विवरण बाहिर आएको छैन तर यसअघिका विवरणहरूमा अमेरिकासँग संयुक्त अध्ययन गरेपछि साउदी अरेबियालाई उसको भूमिमा अमेरिका-निर्मित इनरिच्मेन्ट केन्द्रमा युरेनिअम प्रशोधन गरेर इन्धन बनाउन अनुमति दिइने उल्लेख थिए।
अमेरिकाका लागि यो अर्बौँ डलरको कारोबार बन्न सक्छ किनकि अमेरिकी कम्पनीहरू त्यस्तो इनरिच्मेन्ट केन्द्र बनाउन सामेल हुने छन्। त्यस्तो केन्द्रले प्रशोधित युरेनिअम उत्पादन गर्ने छन् जसको उपयोग इन्धनका रूपमा मात्र नभई परमाणु बम बनाउन पनि हुन सक्छ।
"ढुक्क हुनुहोस्, यी सहमतिहरूले परमाणु सुरक्षा तथा अप्रसारका उच्चतम मापदण्डहरू बोकेको छ," अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले एक विज्ञप्तिमा भनेका छन्।
परमाणु बमको चिन्ता
परमाणु विज्ञहरू तथा मध्यपूर्वमा अमेरिकाको मुख्य साझेदार इजरेलका पूर्व अधिकारीहरूले पछिल्लो सम्झौतामार्फत् अन्तत: साउदी अरेबियाले परमाणु अस्त्र विकास गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
तथापि कतिपय जानकारहरूले त्यसका लागि दशकौँ लाग्न सक्ने र अन्तर्राष्ट्रिय समुदायले प्रतिवाद गर्न सक्ने बताएका छन्।
अमेरिकास्थित डिफेन्स प्रायरिटिज शोध केन्द्रकी मध्यपूर्व कार्यक्रम निर्देशक रोजमेरी केलानिकले यदि उक्त सम्झौताबाट अमेरिकाले साउदी अरेबियालाई युरेनिअम प्रशोधनका केन्द्रहरू बनाउने अनुमति दियो भने त्यो "एकदम स्तब्धकारी" हुने बताइन्।
"यसअघि अमेरिकाले यस्तो कहिल्यै गरेको छैन – कुनै अन्य देशलाई तिनकै भूमिमा प्रशोधन गर्न मद्दत गर्ने काम," उनले भनिन्। आफैँ परमाणु इन्धनका लागि युरेनिअम प्रशोधन गर्न सक्ने क्षमता हुँदा त्यसले परमाणु अस्त्र निर्माणको खतरा उच्च हुने भएकाले विगतमा अमेरिकाले त्यस्तो मद्दत गर्ने नगरेको उनले भनिन्।
नयाँ सम्झौतालाई अब समीक्षाका निम्ति अमेरिकी कङ्ग्रेसमा पठाइने छ।
रिपब्लिकन तथा डेमोक्र्याट दुवै पक्षका केही सांसदहरूले यसको विरोध गर्ने ठानिएको छ। तथापि ट्रम्पको दल रिपब्लिकनसँग हाल संसद्का दुवै सदनमा नियन्त्रण कायम छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरेबियाले भविष्यमा परमाणु अस्त्र विकास गर्ला भन्ने चिन्ता गर्दै आएका आलोचकहरूलाई जबाफ दिएका छन्।
"अमेरिकाले (परमाणु अस्त्र) प्रसारको खतरा हुने गरी संसारको कुनै पनि देशसँग कुनै पनि सम्झौता गर्ने छैन," फिलिपिन्स यात्रामा रहेका रुबियोले पत्रकारहरूसँग भने।
कतिपय डेमोक्र्याट नेताहरूले रुबियोले विगतमा उनी सिनेटर रहँदा साउदी अरेबियालाई परमाणु अस्त्र नदिइनेसम्बन्धी ऐनलाई समर्थन गरेको स्मरण गराएका छन्।
म्यासाचुसेट्सका डेमोक्र्याटिक सिनेटर एडवर्ड मार्कीले रुबियो र ट्रम्पले "पाखण्डीपना" र "खतरनाक लापरबाही" प्रदर्शन गरेको भन्दै भर्त्सना गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















