माओ त्सेतुङको निधन भएको ५० वर्ष भयो, तर जेनजीहरू यी 'शिक्षक'प्रति किन आकर्षित भइरहेका छन्?

तस्बिर स्रोत, Getty Images/BBC
- Author, चेन यान
- Role, बीबीसी चाइनिज
- Published
- पढ्ने समय: ६ मिनेट
"धेरै महान् व्यक्तिहरू छन्, तर एक मात्र शिक्षक छन्।"
चिनियाँ युवाहरूले दिवंगत माओ त्सेतुङलाई हिजोआज अनलाइनमा नियमितजसो "शिक्षक" का रूपमा प्रस्तुत गर्ने गरेका छन्।
भिडिओ प्ल्याटफर्म बिलिबिलीमा "माओ त्सेतुङ" अथवा "टीचर [शिक्षक]" भनेर सर्च गर्दा विभिन्न चलचित्र वा नाटकहरूबाट लिइएका अंशहरू झिकेर बनाइएका उनीसम्बन्धी दर्जनौँ सङ्ग्रहहरू भेटिन्छन्।
ती भिडिओहरूमा उनको युवाकाल, सैनिक कमान्डर रहेको समय, चीन, अमेरिका र सोभियत सङ्घबीचको शीतयुद्ध बेलाको व्यवस्थापकीय नेतृत्वका अवधि समेटिएका छन्।
तीमध्ये धेरै भिडिओहरूलाई लाखौँ मानिसले हेरेका छन् भने हजारौँको सङ्ख्यामा तिनमा कमेन्टहरू गरिएका छन्। कतिपयले "महान् व्यक्ति जिन्दाबाद" भनेर लेखेका छन्।
बिलिबिलीका प्रयोगकर्ताहरू मूलतः युवा रहेका छन्, जसमध्ये ६० प्रतिशत जति १८ देखि २४ वर्ष उमेर समूहका छन्।
एक फरक माओ
२०औँ शताब्दीको चीनका सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा माओले सन् १९४९ मा गणतन्त्रको स्थापनादेखि सन् १९७६ मा आफ्नो निधनको अघिसम्म कम्युनिस्ट पार्टी र मुलुकको नेतृत्व गरे।
उनले 'ग्रेट लीप फरवर्ड' र सांस्कृतिक क्रान्ति जस्ता अभियानहरूमार्फत् चीनको नेतृत्व गरे, जसले लाखौँ जीवनको मूल्यमा देशको अर्थतन्त्र र समाजलाई पुनः आकार दियो।
माओबाट प्रभावित हुनेमध्ये नान्जिङ विश्वविद्यालयमा अध्ययन थाल्न लागेका दोङ एक हुन्। हालै चाङ्साको अरेन्ज आइलमा माओको विशाल प्रतिमाअगाडि दुई युवतीहरूले देशभक्तिपूर्ण गीत गाएको भिडिओले उनलाई प्रभावित गर्यो।
"उनीहरूले पूरै भावनाका साथ गीत गाए। माओको प्रतिमा धेरै अग्लो र जवान अवस्थाको छ। त्यो हेरेर म भावुक भएँ," दोङले बीबीसीसँग भने।
उनका धेरै सहपाठीहरू 'किबोर्ड पोलिटिकल सर्कल' भनिने समसामयिक विषयबारे छलफल गर्ने युवा 'अनलाइन कम्युनिटीहरू'मा सहभागी हुन्छन्।
यो प्रवृत्तिको अर्को सङ्केत के हो भने माओ त्सेतुङका छानिएका रचनाहरू अप्रत्याशित रूपमा चिङ्ख्वा विश्वविद्यालय पुस्तकालयबाट सन् २०१९ यता सबैभन्दा धेरै लगिएको पुस्तक बन्यो र सन् २०२५ सम्म प्रत्येक वर्ष त्यो क्रम जारी रह्यो।

तस्बिर स्रोत, Mytruestory Photography via Getty Images
माओप्रतिको आजका युवाहरूको रुचि सार्वजनिक भाष्य सुन्दै हुर्किएका उनीहरूका आमाबुवाको रुचिभन्दा पृथक छ।
सन् १९८१ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले दङ सियाओपिङको नेतृत्वमा तयार पारिएको सङ्कल्प प्रस्तावलाई पारित गर्यो।
त्यसले आधिकारिक रूपमा माओबारे गरिएको समीक्षालाई स्थापित गर्यो। उक्त समीक्षाले उनका उपलब्धिहरू र गल्तीहरूलाई सन्तुलनमा राख्यो, जसमा "७०% उपलब्धिहरू, ३०% गल्तीहरू" भनियो।
दङ र पछि जियाङ जेमिनको शासनकालमा रेल्वे स्टेशनहरू, सार्वजनिक चोकहरू र कक्षाकोठाहरूबाट माओका चित्रहरू बिस्तारै हराउँदै गए।
मानिसहरूले माओलाई देउताको सट्टा एक ऐतिहासिक व्यक्तित्वका रूपमा हेर्न थाले, आफ्नै सीमितता भएको व्यक्तिको रूपमा।
दङ नयाँ आर्थिक युगको प्रतीक बने अर्थात् देशभित्र बजारमुखी अर्थतन्त्र निर्माण गर्ने र त्यो अर्थतन्त्रलाई विश्वका लागि खुला गर्ने सुधार कार्यक्रमका अगुवा।
तर चिनियाँ युवाहरूका लागि माओ अहिले फेरि सान्दर्भिक भएका छन्। दोङलगायत धेरैले माओको नाम विरलै उल्लेख गर्छन्, बरु उनलाई "शिक्षक" भनेर सम्बोधन गर्छन्।

तस्बिर स्रोत, History/Universal Images Group via Getty Images
यो उपाधिको उत्पत्ति खास रूपमा भएको हो। सन् १९७० मा अमेरिकी पत्रकार एडगर स्नोसँगको भेटका क्रममा माओले "फोर ग्रेट्स" अर्थात् "चार महान्" जस्ता उपाधिहरू आफूले मन नपराएको टिप्पणी गरेका बताइन्छ।
सांस्कृतिक क्रान्तिको समयमा उनको प्रशंसा गर्न राजनीतिक नाराका रूपमा उनलाई महान् शिक्षक, नेता, कमान्डर र मार्गदर्शक भन्ने गरिन्थ्यो। माओले अगाडि थपेः "अब एउटा मात्र बाँकी छ… शिक्षक। किनकि म सधैँ शिक्षक हुँ।"
दोङ र उनका सहपाठीहरूले माओबारे खुलेर विस्तृत रूपमा छलफल गर्छन्। तर जब वर्तमान चिनियाँ नेता सी जिन्पिङको कुरा आउँछ, तब दोङलाई लाग्छ "यो त्यस्तो विषय होइन, जसबारे खुला रूपमा छलफल गर्न सकिन्छ।"
मर्केटर इन्स्टिच्यूट फर चाइना स्टडीज (मेरिक्स) को एउटा अध्ययनले चिनियाँ अनलाइन फोरमहरूमा सार्वजनिक छलफलका लागि केही अवसर भए पनि उच्च तहको नेतृत्वसँग सम्बन्धित विषयहरूलाई प्रायः पन्छाइन्छ भनी औँल्याएको छ।
अध्ययन प्रतिवेदनले छलफलको यो "कमजोर वातावरण" सेन्सरशिप र सेल्फ-सेन्सरशिप दुवैको परिणाम हो भन्ने तर्क गरेको छ।
'विगतको सम्झना मात्र होइन'
कतिपय विज्ञहरूका अनुसार केही युवाहरूले माओप्रति ध्यान दिनुको पछाडि सम्पत्तिमा असमानता र घट्दो सामाजिक गतिशीलता जस्ता सामाजिक मुद्दाहरूप्रति मिल्दोजुल्दो उनीहरूको धारणा एक कारण हो।
चिनियाँ युवाहरूको राजनीतिक संस्कारबारे लामो समयदेखि अध्ययन गरेका लाइडन विश्वविद्यालयका प्राध्यापक फ्लोरिअन स्नाइडरका अनुसार आजका युवाहरूले अघिल्ला पुस्ताहरूभन्दा धेरै फरक वास्तविकताको सामना गरेका छन्।
उनीहरूका आमाबुवा त्यस्तो युगमा बाँचेका थिए, जसमा आर्थिक वृद्धिले सबैको जीवनस्तरमा सुधार ल्याएको देखिन्थ्यो, जबकि आज धेरै युवाहरू सुधारसम्बन्धी दङले गरेका प्रगतिका वाचाहरूले आफूहरूलाई नछोएको महसुस गर्छन्।
चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोको पछिल्लो तथ्याङ्कअनुसार जुलाई २०२६ मा १६ देखि २४ वर्ष उमेर समूहका गैरविद्यार्थीहरूको शहरी बेरोजगारी दर १७.९% पुगेको पाइएको छ। यो तीन वर्षअघि तथ्याङ्कीय विधि परिमार्जन गरिएयताको उच्च दर हो।
नयाँ शब्दहरू युवाहरूको दैनिक जीवनका हिस्सा बनेका छन्। "९९६" भनेको साताको छ दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म काम गर्नु भन्ने हो।
धेरै युवाहरू निष्क्रिय भएर बस्न खोजिरहेका छन्। उनीहरू "इनभोलुशन" भनिने एक किसिमको होडमा पर्न चाहँदैनन्, जहाँ उहीँ स्थानमा रहिरहन पनि कडा मेहनत गर्नुपर्छ।

तस्बिर स्रोत, MAGWIN/Moment via Getty Images
यो पृष्ठभूमिमा पुँजीवादबारे माओका आलोचनाहरू केही युवामाझ पुनः सान्दर्भिक बन्न थालेका छन्।
स्नाइडरका अनुसार कतिपयले माओका विचारहरूलाई "पुँजीले राज्यलाई कब्जामा लिएको" भन्ने असन्तुष्टि व्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गर्छन् भने कतिपयले माओका लेखरचनालाई जीवनका विरोधाभासहरूको सामना गर्नका लागि एक किसिमको मार्गदर्शनका रूपमा लिन्छन्।
दोङ त्यस्तै धारणा राख्छन्, "हाम्रो पुस्तालाई बाल्यकालदेखि नै कडा परिश्रमले फल दिन्छ भनेर सिकाइयो। तर जब हामी हुर्कियौँ, तब हामीले जागिर खोज्नु सजिलो नभएको र घर किन्नु हाम्रो पहुँचभन्दा बाहिर रहेको थाहा पायौँ।"
उनका अनुसार माओको भाषा सरल छ, त्यसले मानिसहरूलाई छुट्टाछुट्टै वर्गमा विभाजन गर्छ।
"पीडक को हुन् र पीडित को हुन् भनेर उहाँले स्पष्ट भन्नुभएको छ। यो सरल रूपरेखा बुझ्न आर्थिक भाषाभन्दा निकै सजिलो छ।"
स्नाइडर भन्छन्, "माओको पुनरुत्थान पुरानो यादको स्मरण मात्र होइन। यसले युवाहरूले अनुभव गर्ने असमानता र असुरक्षालाई वर्तमान ऐतिहासिक भाषा प्रयोग गरी नाम दिने एवं बुझ्ने प्रयासलाई प्रतिनिधित्व गर्छ।"
राजनीतिक ऊर्जा
माओ त्सेतुङबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को आधिकारिक समीक्षा अझै पनि सन् १९८१ को प्रस्तावमा आधारित छः माओका उपलब्धिहरू प्राथमिक हुन् भने उनका गल्तीहरू गौण हुन्।
सन् २०२१ मा अपनाइएको पार्टीको तेस्रो ऐतिहासिक प्रस्तावले "चिनियाँ राष्ट्रको महान् पुनरुत्थान" लाई आफ्नो भाष्यको केन्द्रमा राखेको छ।
यो ढाँचाभित्र माओको क्रान्तिलाई प्रायः त्यो चरणको रूपमा बुझिन्छ जहाँ चीन "उठ्यो", जनगणतन्त्र स्थापना गर्यो, राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्यो र राष्ट्रिय पुनरुत्थानको जग बसाल्यो।
त्यस कारण माओ केवल एक ऐतिहासिक व्यक्तित्व मात्र होइनन्, जसका उपलब्धि र असफलताहरूको मूल्याङ्कन गरिनुपर्छ; उनलाई आजको राष्ट्रिय शक्तिको भाष्यका आधारभूत स्रोतहरूमध्ये एकका रूपमा पनि प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, AFP via Getty Images
"आज माओवादको पुनरुत्थानका लागि पार्टीका शैक्षिक नीतिहरू कम्तीमा आंशिक रूपमा जिम्मेवार छन्। धेरै युवाहरूका लागि माओको चीन एउटा कल्पनामा आधारित छ, जसमा यी महान् नेता एक निर्विवाद नायक हुन्" स्नाइडरको विश्वास छ।
उनका अनुसार धेरै युवाहरू 'ग्रेट लीप फरवर्ड' र सांस्कृतिक क्रान्तिको विनाशकारी वास्तविकतासँग अपरिचित छन् अथवा उनीहरूमा माओको भूमिकाबारे गलत बुझाइ छ।
माओप्रतिको यो प्रशंसाले तुरुन्तै स्पष्ट हुन सक्नेभन्दा धेरै राजनीतिक शक्ति बोकेको स्नाइडर बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















