तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जर्मनीबाट ५,००० सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयबारे बर्लिनले के भन्यो?
- Author, यारोस्लाभ लूकिभ
- पढ्ने समय: ४ मिनेट
जर्मनीबाट ५,००० को सङ्ख्यामा आफ्नो सैन्य उपस्थिति घटाउने अमेरिकी निर्णयबारे वाशिङ्टनसँग स्पष्टीकरण मागिएको नेटो सैन्य गठबन्धनले बताइरहेका बेला जर्मनीका रक्षामन्त्रीले अमेरिकी निर्णयलाई "पूर्वानुमानित" भनेका छन्।
समाचारसंस्था 'डीपीए'सँग कुरा गर्दै बोरिस पिस्टरिअसले "युरोपमा र त्यसमा पनि विशेष गरी जर्मनीमा अमेरिकी सैनिकहरूको उपस्थिति हाम्रो र अमेरिकाको पनि हितमा भएकोमा" जोड दिए।
नेटोकी प्रवक्ता एलिसन हार्टले गठबन्धनले "अमेरिकाको निर्णयका विवरणहरू बुझ्न उनीहरूसँग काम गरिरहेको" बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्धका सन्दर्भमा जर्मन चान्सलर फ्रिडरिख मेर्ट्सको आलोचना गरेसँगै वाशिङ्टनले उक्त कदम चालेको हो। मेर्ट्सले इरानी वार्ताकारहरूबाट अमेरिका "अपमानित" भएको बताएका थिए।
जर्मनीमा अमेरिकाका ३६,००० सैनिक तैनाथ छन्, जुन इटालीमा १२,००० र यूकेमा तैनाथ १०,००० को तुलनामा युरोपकै धेरै हो।
जर्मनीमा सैनिक कटौतीबारे सोधिएको प्रश्नमा शनिवार राति ट्रम्पले भने: "हामी निकै घटाउँदै छौँ र ५,००० भन्दा पनि अधिक घटाउँदै छौँ।" उनले थप विवरण भने दिएनन्।
सँगसँगै ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउँदै आएका छन्।
अमेरिकी सैन्य प्रतिबद्धताको ध्यान युरोपबाट मोडेर इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रित गर्ने ट्रम्पको योजनाअनुसार गत वर्ष वाशिङ्टनले रोमानियामा आफ्नो सैन्य उपस्थिति घटाउने निर्णय गरेको थियो।
३२ सदस्यीय नेटो गठबन्धनमा यतिबेला अमेरिकाको पछिल्लो निर्णयले सङ्गठनलाई कमजोर बनाउन सक्ने चिन्ता बढेको छ।
"ट्रान्सअटलान्टिक समुदायका लागि बाह्य शत्रुहरू सबैभन्दा ठूलो खतरा होइनन्, बरु गठबन्धनभित्र जारी विखण्डनहो," पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कले शनिवार चेतावनी दिँदै भने।
"यो विनाशकारी प्रवृत्तिलाई सच्याउन हामी सबैले आवश्यक कदम चाल्नुपर्छ," उनले थपे।
त्यस्तै ट्रम्पकै रिपब्लिकन पार्टीका दुई वरिष्ठ सांसदहरूले "जर्मनीबाट अमेरिकी ब्रिगेड फिर्ता बोलाउने निर्णयप्रति आफूहरू अत्यन्त चिन्तित रहेको" बताएका छन्।
"उक्त महादेशबाट पूर्ण रूपमा सेना फिर्ता बोलाउनुको साटो युरोपमा बलियो प्रतिरोध क्षमता कायम राख्नु अमेरिकाको हितमा छ," सिनेटर रोजर विकर र प्रतिनिधि माइक रोजर्सले भने। विकर र रोजर्सले क्रमशः सिनेटको र सदनअन्तर्गतको एउटा समितिको नेतृत्व गर्छन्।
'डीपीए'सँगको शनिवारको अन्तर्वार्तामा पिस्टोरिअसले युरोप आफ्नो सुरक्षाका निम्ति थप जिम्मेवार हुनुपर्ने र बर्लिनले अब महादेशका सहयोगीहरूसँग अझ नजिकबाट काम गर्ने पनि बताएका थिए।
"जर्मनी सही बाटोमा छ," आफ्नो देशले पछिल्ला वर्षहरूमा सैन्य खर्च उल्लेखनीय रूपमा बढाएकोतर्फ सङ्केत गर्दै उनले भने।
यसअघि ट्रम्पले जर्मनीमाथि "जिम्मेवारी पूरा गर्न चुकेको" आरोप लगाएका थिए किनकी उसको सैन्य खर्च नेटोको लक्ष्य (कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत) भन्दा निकै कम थियो।
तर मेर्टस् सरकार आएपछि उक्त अवस्थामा उल्लेखनीय परिवर्तन आएको छ।
जर्मनीले सन् २०२७ मा १०५.८ बिलिअन युरो खर्च गर्ने र आगामी वर्ष रक्षाखर्च जीडीपीको ३.१ प्रतिशत पुग्ने ठानिएको छ।
शनिवार सामाजिक सञ्जाल 'एक्स'मार्फत् नेटो प्रवक्ता हार्टले जर्मनीबाट सेना फिर्ता गर्ने अमेरिकी निर्णयले "युरोपले रक्षा क्षेत्रमा अझ धेरै लगानी गर्नुपर्ने र हाम्रो साझा सुरक्षाको जिम्मेवारीमा अधिक हिस्सा लिनुपर्ने आवश्यकतालाई झनै स्पष्ट बनाएको" उल्लेख गरेकी छन्।
"हामीले पहिले नै प्रगति देखिरहेका छौँ किनकि गत वर्ष हेगमा भएको नेटो शिखर सम्मेलनमा गठबन्धनका सदस्यहरू जीडीपीको ५ प्रतिशत लगानी गर्न सहमत भएका थिए।"
ट्रम्प र मेर्ट्सबीचको पछिल्लो विवाद जर्मन चान्सलरको सोमवारको टिप्पणीबाट सुरु भएको थियो।
यसै हप्ताको सुरुमा विश्वविद्यालयका विद्यार्थीहरूसँग उनले "अमेरिकीहरूसँग स्पष्ट रूपमा कुनै रणनीति नभएको" बताएका थिए।
"इरानीहरू स्पष्ट रूपमा वार्तामा निकै सिपालु छन् वा भनौँ वार्ता नगर्नमै सिपालु छन्। अमेरिकीहरूलाई इस्लामाबादसम्म यात्रा गराउँछन् र कुनै परिणामबिना फर्काइदिन्छन्।"
साथै उनले "सम्पूर्ण राष्ट्र" इरानी नेतृत्वद्वारा "अपमानित" भइरहेको पनि थपेका थिए।
प्रतिक्रियामा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै मेर्टसले "इरानसँग परमाणु हतियार हुनु ठीक ठानेका" र "आफूले के भनिरहेको छु भन्ने हेक्कै नपाएका" बताएका थिए।
त्यसलगत्तै अमेरिकाले जर्मनीबाट सेना फर्काउने घोषणा गर्यो। पेन्टागनका प्रवक्ता सीन पर्नेलले उक्त आदेश रक्षामन्त्री पीट हेग्सेथबाट आएको बताए।
"हामीले आउँदो ६ देखि १२ महिनाभित्र फिर्ता प्रक्रिया पूरा हुने ठानेका छौँ," उनले थपे।
लामो समयदेखि नेटो गठबन्धनको आलोचक रहँदै आएका ट्रम्प खासगरी होर्मुज स्ट्रेट खुलाउने कारबाहीमा भाग लिन अस्वीकार गरेपछि सहयोगीहरूबारे चर्को सुनिन थालेका हुन्।
अमेरिका र इजरेलले २८ फ्रेब्रुअरीमा थालेका आक्रमणहरूको प्रतिक्रियास्वरूप इरानले जलमार्गमार्फत् हुने आवतजावतलाई गम्भीर रूपले खुम्च्याइदिएको छ।
अमेरिकाले पनि खाडीका इरानी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।