एस्पिरिनले क्यान्सर लाग्ने जोखिम घटाउन सक्छ - र 'किन त्यस्तो हुन्छ भनेर हामी भर्खर बुझ्न थालेका छौँ'

    • Author, मिरिअम फ्र्याङ्केल
  • पढ्ने समय: ७ मिनेट

दुखाइको उपचार गर्न सामान्यतः प्रयोग गरिने ४,००० वर्ष पुरानो औषधीले शरीरमा केही ट्यूमर बन्न लागेका छन् वा बनेका छन् भने पनि तिनलाई फैलनबाट रोक्छ भन्ने तथ्य वैज्ञानिकहरूले फेला पारेपछि कैयौँ देशका स्वास्थ्य नीतिमा परिवर्तन सुरु भएको छ।

ब्रिटेनमा काठको काम गर्ने करिब ४५ वर्षे निक जेम्सकी आमाको क्यान्सरबाट मृत्यु भएपछि र भाइ तथा अरू पनि परिवारका सदस्यहरूमा क्यान्सर देखा परेपछि उनले आफ्नो वंशाणु परीक्षण गर्ने विचार गरे। परीक्षणमा उनमा क्यान्सर गराउने किसिमको 'जीन' भएको थाहा भयो।

यस्तैमा उनलाई अनपेक्षित रूपमा नसोचेको ठाउँबाट सहयोग आइपुग्यो। उनले हरेक दिन एस्पिरिन खाने 'क्लिनिकल' परीक्षणमा सहभागी हुने विचार गरे। दुखाइ निवारण गर्ने एस्पिरिनले क्यान्सर बढ्नबाट रोक्छ कि भनेर हेर्न परीक्षण गरिँदै थियो।

लिन्च सिन्ड्रोम (वंशाणुगत रूपमा हुने समस्याको एक प्रकार) भएका मानिसमध्ये जीन म्यूटेशनका आधारमा १०- ८०% प्रतिशतसम्म मानिसहरूमा उनीहरूको जीवनकालमा 'बावल क्यान्सर' हुने खतरा रहन्छ। जेम्सका लागि अहिले सबै कुरा राम्रै भइरहेको छ। यो अध्ययनको नेतृत्व गरेका न्यू क्यासल युनिभर्सिटी यूकेमा क्लिनिकल जेनेटिक्सका प्राध्यापक जन बर्न भन्छन्, "जेम्सले एस्पिरिन खान थालेको १० वर्ष पुगेको छ र उनलाई अहिलेसम्म क्यान्सर भएको छैन।"

यो विश्वास गर्न असम्भव जस्तो लाग्छ तर एस्पिरिनले कोलोरेक्टल क्यान्सर बढ्नबाट जोगाउने वा बन्नै नदिने सङ्केत मिलेका छन्। गएको वर्ष गरिएको अध्ययनले पनि त्यस्तै देखाएको छ।

केही देशले आफ्नो औषधीसम्बन्धी नियम नै परिवर्तन गरेर जोखिमपूर्ण अवस्थामा रहेकाहरूका लागि यो औषधी सुरक्षाको पहिलो उपायका रूपमा राखेका छन् (विज्ञहरूले यो औषधी खाने काम डाक्टरको निर्देशन र अनुगमनबिना गर्न नहुनेमा जोड दिन्छन्)। यो औषधीको यस्तो रहस्यमयी प्रभाव किन छ भन्नेबारे हामीले केही थाहा पाउन सुरु गरेका छौँ।

प्राचीन जरो

नयाँ अध्ययन पुरानो र असाध्यै प्रभावकारी औषधीको कथासँग जोडिएको छ। १९ औँ शताब्दीको अन्त्यतिर पुरातत्त्व विज्ञहरूले मेसोपोटामियन सहर निपुरमा ४,४०० वर्ष पुराना माटोबाट निर्मित अभिलेखहरू फेला पारेका थिए जुन अहिले इराकमा पर्छ। त्यो माटोको अभिलेखमा वनस्पति, जनावर र खनिज तत्त्वको मिश्रणबाट बनाइने विभिन्न औषधीहरूको सूची प्रस्तुत गरिएको थियो।

तीमध्ये विलो ट्रीबाट कसरी अवयव निकाल्ने भन्नेबारेको तरिका पनि सामेल थियो।

अहिले हामीलाई थाहा भएको छ कि त्यसमा स्यालिसिन भन्ने रसायन हुन्छ जसलाई शरीरले स्यालिसाइलिक एसिड मा परिवर्तन गर्छ जुन खाँदा हाम्रो शरीरमा भएको दुखाइ कम गर्न सहयोग गर्छ। यो आधुनिक समयको एस्पिरिनको संरचनासँग मिल्दोजुल्दो छ जुन एसिटाइलस्यालिसाइलिक एसिड हो। यो औषधी इजिप्ट, ग्रीक र रोमन सभ्यतामा पनि प्रयोग गरिन्थ्यो।

यो यौगिकमाथि आधुनिक अध्ययनचाहिँ अङ्ग्रेज क्लर्क एडवार्ड स्टोनले द रोयल सोसाइटीलाई विलोको सुकेको बोक्रालाई पाउडरमा परिवर्तन गरेर प्रयोग गर्दा प्राप्त हुने ज्वरोविरुद्ध लड्ने शक्तिबारे लेखेपछि भएको थियो। करिब एक शताब्दीपछि वैज्ञानिकहरूले त्यो पाउडरबाट स्यालिसाइलिक एसिड निकाल्न सम्भव भएको थियो। जसलाई पछि एसिटाइलस्यालिसाइलिक एसिडमा परिवर्तन गरियो र बजारमा बेयर ब्रान्ड नाममा उपलब्ध गराइयो।

त्यसपछिको एक शताब्दीपछि वैज्ञानिकहरूले एस्पिरिनको मुटु रोगसम्बन्धी अवस्थामा अनपेक्षित फाइदाहरू पत्ता लगाउन थाले। त्यसकै लागि यूकेका न्याशनल हेल्थ सर्भिसेज जस्ता संस्थाले हृदयाघात वा मस्तिष्क घातका खतरा भएकाहरूलाई थोरै मात्रामा दैनिक यो औषधी खान मिल्ने सूचीमा राखे।

सन् १९७२ मा आइपुग्दा यसले क्यान्सर हुनबाट पनि बचाउन सक्ने भन्ने कुरा पत्ता लाग्यो। त्यसबेला ट्यूमर बनाउने कोषको सुई दिइएका मुसाहरूलाई एस्पिरिन घुलाइएको खानेपानी दिइएको थियो। एस्पिरिनयुक्त पानी नदिइएका भन्दा दिइएका मुसामा त्यसले शरीरभरि क्यान्सर फैलिने स्थिति अर्थात् मेटास्ट्याटिस हुने खतरा कम गरेको पाइयो।

त्यसले मानिसहरूमा त्यस्तै प्रभाव पार्छ कि पार्दैन भन्ने निश्चित थिएन।

सन् २०१० मा अक्सफोर्ड विश्वविद्यालयमा क्लिनिकल न्यूरोलोजीका प्रोफेसर पीटर रथवेलले एस्पिरिनले मुटु रोगसम्बन्धी कुरामा कसरी सहयोग गर्छ भन्नेबारेका तथ्याङ्कहरू केलाउन थालेपछि त्यसमा एउटा महत्त्वपूर्ण मोड आयो। उनको विश्लेषणमा यो औषधीले क्यान्सर बनाउने र बढ्नबाट बचाउने दुवै भएको पाइयो।

जो सुकै सर्वसाधारणलाई एस्पिरिनले क्यान्सर हुनबाट जोगाउँछ भनेर प्रमाणित गर्न भने एक चुनौतीकै रूपमा छ। त्यसका लागि अनुसन्धानकर्ताले ठूलो सङ्ख्यामा मानिसहरूलाई परीक्षणमा राख्नुपर्छ। आधाले एस्पिरिन खाने र बाँकीले प्लासीबो (तटस्थ वा प्रतिक्रिया नगर्ने तर बिरामीलाई औषधी खाएको भन्ने लाग्ने) चक्की खाने त्यसपछि आउने परिणामको तुलना गर्ने। त्यो गर्न लामो समय र खर्च लाग्छ। कारोलिन्स्का इन्स्टिट्यूट इन स्वीडेनमा सर्जरीकी प्रोफेसर आना मार्टलिङ भन्छिन् "वास्तवमा त्यो असम्भव नै छ।"

त्यसका कारण पनि वैज्ञानिकहरूले पहिले नै क्यान्सर लागिसकेका वा क्यान्सर लाग्ने खतरामा रहेकाहरूमा ध्यान केन्द्रित गरेका छन्।

बढ्दो प्रमाण

त्यसै सन्दर्भमा लिन्च सिन्ड्रोम भएका बिरामीको अध्ययन गरिएको हो। सन् २०२० मा बर्नले ८६१को नियन्त्रित परीक्षण गरेका थिए। दश वर्षसम्म सहभागीहरूमा परीक्षण गरेपछि उनको समूहले हरेक दिन ६०० एमजीको एस्पिरिन कम्तीमा दुई वर्ष खानेहरूमा कोलोरेक्टल क्यान्सरको खतरा आधा भएको पाए।

त्यसपछि उनको समूहले दोस्रो परीक्षण गरेको छ र त्यो अहिले पीअर रिभ्यूमा गएको छ। प्रारम्भिक परिणाममा असाध्यै सानो मात्रा (७५-१०० एमजी) पनि प्रभावकारी हुने पत्ता लागेको छ।

उनी भन्छन्, "दुई वर्षसम्म एस्पिरिन लिएका मानिसहरूमा ५०%ले कोलोन क्यान्सर कम भएको पाइयो।"

न्यून मात्रा (७५-१०० एमजी) चाहिँ मानिसहरूले मुटु रोगबाट बच्नका लागि लिने गर्छन्। मात्रा महत्त्वपूर्ण छ किनभने एस्पिरिनले अपच हुने, आन्तरिक रक्तस्राव हुने, मस्तिष्कमा रक्तस्राव हुने जस्ता केही साइड इफेक्ट गर्न सक्छ। तर न्यून मात्रा शरीरले सहन गर्न सक्छ।

यो अध्ययन परिणामपछि नीति परिवर्तन पनि गरिएका छन्। "हाम्रो अध्ययन परिणामपछि यूकेमा गाइडलाइनहरू परिवर्तन भएका छन्," बर्न भन्छन्। सन् २०२० पछि लिन्च सिन्ड्रोम भएका मानिसमा २० वर्षको उमेरदेखि नै र कम जोखिम भएकाहरूले ३५ वर्षको उमेरदेखि लिन थाले हुने सुझाइएको छ।

यो परिणामका आधारमा एस्पिरिनले अरूखाले बिरामीको समूहलाई पनि फाइदा गर्छ कि भनेर सोच्न थालिएको छ।

एस्पिरिनले कोलोरेक्टल क्यान्सर भइसकेका बिरामीमा मेटास्ट्याटिस हुने खतरा पनि कम गराउँछ कि भनेर अनुसन्धान गरिएको छ। मार्टलिङले भनिन्, "कोलोरेक्टल बिरामीमध्ये ४०%मा हामीले अध्ययन गरेको म्यूटेशन हुन्छ।" अघिल्ला अध्ययनले मानिसहरूलाई एस्पिरिनले फाइदा गर्ने देखाएको छ।

तीन वर्ष लगाएर २,९८० जना बिरामीमा गरिएको परीक्षणमा सर्जरी गरेको तीन महिनाभित्रै १८० एमजीको औषधी खाने समूह थियो र अर्को समुहले प्लासीबो लिएको थियो। एस्पिरिन लिएकाहरूमा क्यान्सर दोहोरिने खतरा आधाभन्दा कम देखियो। मार्टलिङ र बर्नको परीक्षणले एस्पिरिन लिने मानिसहरूमा नराम्रो असर परेको निकै कम मात्र मानिसमा नराम्रो असर परेको देखियो।

मार्टलिङको अध्ययन परिणाम सन् २०२५ को सेप्टेम्बरमा छापिएपछि स्वीडेनमा तत्काल एक परिवर्तन आयो। ज्यानुअरी २०२६ देखि बावल क्यान्सर बिरामीहरूलाई न्यून मात्राको एस्पिरिन दिन थालिएको छ।

एस्पिरिनले अरू खाले क्यान्सरबाट पनि जोगाउँछ कि भन्ने स्पष्ट भएको छैन। तर यूके आयरल्यान्ड र भारतका ११००० कोलोरेक्टल ब्रेस्ट ग्यास्ट्रोइसोफेगल र प्रोस्ट्रेट क्यान्सरका बिरामीलाई एस्पिरिन दिएर परीक्षण भइरहेको छ। र उनीहरूले अर्को वर्ष यसको रिपोर्ट आउने ठानेका छन्।

यसले कसरी काम गर्छ

एस्पिरिनले क्यान्सर रोक्न कसरी काम गर्छ भन्ने रहस्यमै छ। यो अद्भूत औषधीले कोषभित्र र बाहिर दुवैतिर काम गर्छ- मार्टलिङ भन्छिन्। त्यसैले त्यहाँ विभिन्न प्रक्रिया सक्रिय भएका हुन सक्छन्।

उनको कामले देखाएको छ कोषभित्र हुने कक्स-२ नामको इन्जाइमलाई एस्पिरिनले दबाउँछ। यो इन्जाइमले पोस्टाग्ल्यान्डिन्स नामको होर्मोन जस्तो यौगिक उत्पादन गर्न सहयोग गर्छ जसले अन्ततः अनियन्त्रित कोष वृद्धि नहुनमा सघाउन सक्छ।

युनिभर्सिटी अफ केम्ब्रिजमा रहेका क्यान्सर इम्युनोलोजीका प्रोफेसर राहुल रोयचौधरी र उनका सहकर्मीले गरेको पछिल्लो अनुसन्धानमा मेटास्ट्याटिक क्यान्सर कोष मार्न अर्कै प्रक्रिया पनि हुन सक्छ भनेका छन्।

कसले एस्पिरिन नियमित रूपमा खाने भन्नेबारे बहसकै विषय हो। केही अनुसन्धानकर्ताहरू मुटु रोग र क्यान्सरबाट पनि जोगाउने भएकाले धेरैले खानुपर्ने विचार राख्छन्। बचाउका लागि एस्पिरिन खाएका बर्न आम स्वास्थ्यमा त्यसको भूमिकाबारे आशावादी छन्।

अन्य अनुसन्धानकर्ताको तर्क भने त्यसको प्रयोग क्यान्सर बिरामीले गरे पनि स्वस्थ्य जनसङ्ख्याले पनि त्यही खानुपर्छ भन्ने होइन त्यसले उनीहरूलाई हानी पनि पुर्‍याउन सक्छ किनभने एस्पिरिनका गम्भीर साइड इफेक्ट हरू छन् र यसले सबै क्यान्सरका बिरामीलाई काम नगर्न पनि सक्छ।

* यसमा प्रस्तुत गरिएको विषयवस्तु साधारण जानकारीका लागि हो। तपाईँले यसमा भएको जानकारी चिकित्सकीय सुझावको विकल्पका रूपमा लिन मिल्दैन। यो विषयवस्तुमा आधारित भएर कसैले आफ्नो रोगको निदान वा उपचार गर्‍यो भने बीबीसी त्यसका लागि जिम्मेवार हुने छैन। बीबीसीले कुनै पनि व्यावसायिक उत्पादनलाई इन्डोर्स गर्दैन। यदि तपाईँलाई स्वास्थ्य समस्या भएको छ भने कृपया आफ्नो चिकित्सकसँग परामर्शमा जानुहोला।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।