बाढीबाट क्षतिग्रस्त नुवाकोट र रसुवामा आकाश र जमिनबाट के देखियो?

बाढीबाट क्षतिग्रस्त नुवाकोट र रसुवामा आकाश र जमिनबाट के देखियो?
    • Author, सृजना श्रेष्ठ
    • Role, बीबीसी न्यूज नेपाली
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

भीषण बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका केही क्षेत्रको बीबीसीले स्थलगत रिपोर्टिङ गरेको थियो।

हेलिकप्टरबाट यात्रा गर्दा माथि पहाडमा केही घरहरू सग्ला देखिन्छन्, नदीतटका क्षेत्रमा भने ठूलो विनाश देखिन्छ।

भदौ १० गतेको विनाशकारी बाढीको एक हप्तापछि हामी उद्धारमा देखिएका विभिन्न चुनौती र राहत वितरणको अवस्थाबारे बुझ्ने क्रममा नुवाकोट पुगेका थियौँ। हेलिकोप्टरले भुइँ छाड्नेबित्तिकै विपद्ले जमिनमा निम्त्याएको कहालीलाग्दो अवस्था प्रत्यक्ष अनुभव गर्न सकिन्थ्यो।

नेपाल-चीन सीमाबाट सुरु भएको बाढीले त्रिशूली नदीको किनारामा रहेका कैयौँ बस्तीहरू बगाएको थियो।

पहाड र खोँच हुँदै हेलिकोप्टरमा उडिरहँदा हामीले कैयौँ ठाउँमा घरहरू पुरिएका देख्यौँ। नदीकिनार सेताम्मे गेग्र्यानले ढाकिएको थियो। कुनै ठाउँमा घर थिए, कहीँ केही पनि थिएनन्।

विद्युत् आयोजनाका सुरुङमा जारी उद्धार प्रयास

केही मिनेटमा हामी नेपाल विद्युत् प्राधिकरणले छ वर्षअघि सञ्चालनमा ल्याएको माथिल्लो त्रिशूली ए जलविद्युत परियोजना भएको स्थानमा पुग्यौँ।

हामी पुग्दा नेपाली सेना, प्रहरी, विद्युत् प्राधिकरणसहित विभिन्न निकायका प्राविधिक जनशक्ति र सुरक्षा निकायहरूले उक्त सुरुङको मुख खोल्ने प्रयास गरिरहेका थिए।

त्यहाँ एक्स्कभेटर र डोजरहरूले धमाधम खोतल्ने काम गरिरहेका थिए। ढुङ्गा र चट्टान फोड्ने उपकरण चलिरहेका थिए। एकातर्फ तिनको चर्को आवाज, अर्कोतर्फ बाढीले बगाएको लेदो।

अँध्यारो केबल टनेलबाहिर काम गरिरहेका सुरक्षाकर्मीले मूल सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेका थिए।

अहिले हामीले यो सामग्री बनाउँदासम्म त्यहाँबाट दुई जनाको जीवित उद्धार भइसकेको छ।

हेलिकप्टरबाट हामीले नेपाल-चीन सीमा क्षेत्रको एक झलक पनि देख्यौँ।

माटो नै माटोले पुरिएको दुःखलाग्दो दृश्य त्यहाँ थियो।

अलि तल टिमुरेको दृश्य पनि मनमा बिझाउने खालको थियो : केही लडिरहेका घरहरूदेखि उल्टो परेका बसहरूसम्म।

भौगोलिक रूपमा निकै चुनौतीपूर्ण रहेको पहाडको बीचबाट हेलिकप्टरहरू तारन्तार उडाएर पाइलटहरूले कठिन काम गरिरहेका थिए।

हामीले बाढीमा देखेका र रिपोर्टिङ गरेका जस्ता दृश्यहरू र बाढीलगत्तैको क्षणका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमार्फत् संसारभर पुगिसकेका छन्।

लाखौँ मानिसहरूले दुःख व्यक्त गर्दै पीडित र प्रभावितहरूप्रति सहानुभुतिहरू व्यक्त गरेका छन्। तर दुर्लभ प्राकृतिक विपद्‌का यी त्यस्ता दृश्य र अनुभवहरू लामो समयपछिसम्म पनि तपाईँ हाम्रो मनमस्तिष्कबाट सजिलै हटेर जाने छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।