तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'क्याम्बोडिया कनेक्सन'बाट नेपालमा पनि 'स्क्यामिङ सेन्टर चलाउने प्रयास', १९ जना पक्राउ
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
क्याम्बोडिया र म्यान्मारमा जस्तै प्रकृतिको 'स्क्यामिङ सेन्टर' चलाउने तयारी गरिरहेका विदेशी नागरिकहरू काठमाण्डूबाट पक्राउ परेको प्रहरीले बताएको छ।
काठमाण्डूमा पर्यटकहरूको मुख्य चहलपहल हुने ठमेल क्षेत्रबाट प्रहरीले शुक्रवार १५ जना बाङ्ग्लादेशी र चार जना भारतीय नागरिकहरू पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ।
काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू चिनियाँ नागरिकले सञ्चालन गरेको "स्क्यामिङ सेन्टरमा" काममा लगाइएको पाइएको छ।
"त्यसका सञ्चालक चिनियाँ नागरिक फरार छन्। हामीले सञ्चालकको पनि खोजी गरिरहेका छौँ," अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले भने।
उनका अनुसार पक्राउ परेका अधिकांश बाङ्ग्लादेशी नागरिकहरू यसअघि क्याम्बोडियामा कामका लागि गएको पाइएको छ। उनीहरूले प्रहरीसँगको बयानमा क्याम्बोडियामा चिनजान भएका चिनियाँ नागरिकले नै आफूहरूलाई नेपाल ल्याएको बताएको प्रहरीले जनाएको छन्।
क्याम्बोडियामा सरकारी नियन्त्रणपछि नेपालतर्फ?
गत ज्यानुअरीयता क्याम्बोडियाले देशमा सञ्चालन भइरहेका स्क्यामिङ सेन्टरहरूमा काम गरेको आशङ्का गरिएका १० हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई एप्रिलसम्म स्वदेश फर्काइएको जनाएको छ।
क्याम्बोडियाले ज्यानुअरीमा स्क्यामिङ र क्रिप्टोकरेन्सी ठगीमा संलग्न भएको आरोप लागेका चेन झीलाई चीन पठाएको थियो। अमेरिका र यूके सहितका देशहरूले स्क्याम सेन्टर सञ्चालन गरेको भन्दै प्रतिबन्ध लगाएका झी स्वदेश पुगे लगत्तै चीनमा पक्राउ परेका थिए।
उनको पक्राउसँगै क्याम्बोडियाको प्रशासनले कैयौँ स्क्यामिङ सेन्टर बन्द गराइसकिएको जनाएको छ। नयाँ कानुन पारित गरेर क्याम्बोडियाले यस्ता सेन्टरमा काम गर्नेहरूलाई दुई वर्षदेखि आजीवन कैदसम्मको सजाय हुनसक्ने व्यवस्था गरेको थाईल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ।
म्यान्मारमा पनि चीन सहितका देशको सहयोगमा स्क्याम सेन्टरहरू बन्द गर्ने क्रम चलिरहेको छ। यसअघि म्यान्मार र क्याम्बोडियाका स्क्यामिङ सेन्टरमा काम गर्न पुगेका कैयौँ नेपाली नागरिकहरू समस्यामा परेको विवरण आएका थिए।
क्याम्बोडियाको स्क्यामिङ सेन्टरमा काम गर्न पुगेका सुर्खेतका रामप्रसाद अधिकारीको गत सेप्टेम्बरमा मृत्यु भएपछि शव ल्याउन महिनौँ लागेको परिवारले बीबीसीसँग बताएको थियो।
ब्याङ्ककस्थित नेपाली दूतावासका अनुसार सन् २०२५ मा मात्रै ९६७६ जना नेपालीहरू पर्यटक भिसामा क्याम्बोडिया पुगेका थिए।
शुक्रवार नेपाली दूतावासले एक सूचना जारी गर्दै नेपालको पहलमा क्याम्बोडियाका अधिकारीहरूले हालसम्म ६०२ जना नेपाली नागरिकहरूलाई भिसा अवधि नाघेपछि लाग्ने जरिबाना शुल्क मिनाहा गरेको जनाएको छ। ब्याङ्ककस्थित राजदूत धनबहादुर ओलीका अनुसार पटकपटक गरेर आठौँ चरणमा क्याम्बोडियाले नेपाली नागरिकहरूको भिसा शुल्क मिनाहा गरेको हो।
"उहाँहरूलाई तत्काल स्वदेश फर्कन दूतावासले आग्रह गरेको छ। त्यसमध्ये कोको फर्कनुभयो भनेर पनि हामीले सम्पर्क गरेरै बुझ्ने काम गरिरहेका छौँ," ओलीले बीबीसी न्यूज नेपालीसँग भने।
थाईल्यान्डस्थित नेपाली दूतावासले क्याम्बोडियाबाट हालसम्म १०० जनाभन्दा धेरै नेपाली र म्यान्मारबाट १५० जनाभन्दा धेरै नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जनाएको छ। रङ्गुनस्थित नेपाली दूतावासले पनि स्क्यामिङ सेन्टरमा पुगेका ३०० जना भन्दा धेरै नेपाली नागरिकहरूको उद्धार गरेको अधिकारीहरूले बताएका थिए।
नेपालमा कस्तो सावधानी
प्रशासनले म्यान्मार, क्याम्बोडिया र भियतनाममा स्क्यामिङ सेन्टरमा कडाइ गरेपछि नेपालमा यस्ता सेन्टरहरू खोल्ने प्रयास भएको अधिकारीहरूको आशङ्का छ।
नेपाल प्रहरीका सूचना अधिकारी दीपशम्शेर जबराले नेपालमा हालसम्म क्याम्बोडिया वा म्यान्मारमा जस्तो ठूलो भौतिक "स्क्याम कम्पाउन्ड" सञ्चालन नभएको बताएका छन्।
"तर, ती देशहरूमा सक्रिय अन्तर्राष्ट्रिय साइबर ठगी समूहहरूले नेपाली नेपाली नागरिकलाई भर्ती गर्ने, नेपाललाई ट्रान्जिट वा सहायक आधारका रूपमा प्रयोग गर्ने, तथा नेपाल भित्रैबाट अनलाइन ठगी, क्रिप्टो कारोबार, फिसिङ, सामाजिक सञ्जालबाट ठगी र डिजिटल वित्तीय अपराध सञ्चालन गर्ने जोखिम भने बढिरहेको छ," जबराले बीबीसीसँग भनेका छन्।
नेपालमा स्क्यामिङ लगायतका ठगीका घटना हुन नदिन टेलिग्राम, ह्वाट्सएप, फेसबुक सहितका सामाजिक सञ्जालको निगरानी र सूचना सङ्कलन भइरहेको प्रहरीको भनाई छ।
पछिल्लो समय शङ्कास्पद कारोबारको प्रत्यक्ष निगरानी, अरूको खाता प्रयोग गरेर हुने ठगीको पहिचान र ब्याङ्किङ संयन्त्रबाट तत्काल सूचना आदानप्रदान प्रणाली स्थापना गरिएको प्रहरी प्रवक्ताले बताएका छन्।
प्रहरी प्रवक्ताले लुकीछिपी सञ्चालन भएका साइबर स्क्यामिङ सेन्टरहरूमा कारबाही गरिएको र इन्टरपोल र विदेशी दूतावासहरूसँगको समन्वयनमा अनुसन्धान र उद्धारका काम भएको बताएका छन्।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले ठमेलमा पक्राउ परेकाहरूले आर्थिक ठगीकै शैली अपनाएको बताए।
"उनीहरूले सामाजिक सञ्जालमा महिलाहरूको नग्न तस्बिर पठाउने अनि त्यसबाट ब्ल्याकमेलिङ गर्ने गरेको पाइएको छ," कार्की भन्छन्।
"त्यसपछि पैसा हाल्न लगाउने गरेको देखिन्छ।"
उनीहरूले नेपाली नागरिकहरूभन्दा भारतीय र बाङ्ग्लादेशी नागरिकहरूलाई ठगीको निशाना बनाउने गरेको आफ्नो प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका सबै १९ जनालाई कारबाहीका लागि कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल फरार चिनियाँ नागरिकले "स्क्यामिङ सेन्टर"का लागि ठमेल क्षेत्रमा चलिरहेको एउटा होटेल नै भाडामा लिएका थिए। मासिक सात लाख रुपैयाँभन्दा धेरै भाडा दिने सम्झौतापछि होटेलका सञ्चालकले उक्त होटेल भाडामा दिएका थिए। त्यहाँबाट कम्प्युटर र मोबाइल सहितका उपकरण बरामद भएको कार्कीले बताए।
चिनियाँले चलाएको अर्को 'स्क्यामिङ सेन्टर'
यस्तै प्रकृतिको अर्को "स्क्यामिङ सेन्टर"बाट पनि प्रहरीले सोमवार १९ जनालाई पक्राउ गरेको जनाएको छ। चिनियाँ नागरिकहरूले नै राजधानीको नक्साल क्षेत्रमा सञ्चालन गरेको उक्त कार्यालयबाट दुई जना चिनियाँ नागरिक, दुई जना भारतीय र १६ जना नेपाली महिलाहरू पक्राउ परेका छन्।
"उनीहरूले नयाँ एप्स प्रयोग गरेर भिडिओ कल गर्ने र त्यो कल गरेपछि खातामा पैसा ट्रान्सफर हुने स्क्यामिङ गर्दा रहेछन्," कार्की भन्छन्।
पछिल्लो समय विदेशी नागरिकहरू विभिन्न अपराधमा संलग्न भएको देखिएको भन्दै प्रहरीले घर भाडामा दिँदा कार्यालयको प्रयोजनबारे पनि बुझ्न सर्वसाधारणलाई आह्वान गरेको छ।
गत वर्ष असारमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले डेटिङ एप र क्रिप्टो कारोबारका लागि राजधानीका दुई स्थानमा कार्यालय नै खोलेर काममा लगाइरहेका छ जना चिनियाँ नागरिक सहित ५२ जनालाई पक्राउ गरेको थियो।
चैत यता ४३ विदेशी महिला पक्राउ
प्रहरीले पछिल्लो समय राजधानीको ठमेल क्षेत्रमा 'अश्लील गतिविधि' र यौन धन्दाका लागि प्रस्ताव गरेको आरोपमा ४३ जना विदेशी महिलाहरू पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये २२ जनालाई डिपोर्ट गरिएको छ। बाँकी २१ जनामाथि अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए।
"उनीहरू भिसा अवधि सकिएर पनि नेपालमा बसोबास गरिरहेको पाइएकाले अध्यागमन कानुन अनुसार कारबाहीका लागि हामीले बुझाएका छौँ," भट्टराईले भने।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २९ जना युगान्डाका, ६ जना भियतनामी, चार जना केन्याली र २-२ जना थाई र बाङ्ग्लादेशी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।