फिलिपिन्समा ७.८ म्याग्निट्यूडको भूकम्पपछि सुनामीको चेतावनी

Published
पढ्ने समय: २ मिनेट

दक्षिणी फिलिपिन्समा सोमवार बिहानै गएको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएका छन्।

फिलिपिन्ससँगै इन्डोनेसिया र जापानसहित यो क्षेत्रका कैयौँ देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। मुख्य भूकम्पपछि कम्तीमा १६ वटा परकम्प मापन भएका छन्। मानिसहरू सुरक्षित स्थान खोज्दै घर बाहिर निस्किएर बसिरहेका तस्बिरहरू सार्वजनिक भएका छन्।

रोएटर्ट समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै कम्तीमा पाँच जनाले ज्यान गुमाएको जनाएको छ। यसअघि प्रहरीले एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

फिलिपिन्स इन्स्टिट्यूट अफ भोल्कानोलोजी एन्ड साइज्मोलोजीले भूकम्प ७.८ म्याग्निट्यूडको रहेको बताएको छ। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर गहिराइमा रहेको उक्त निकायले जनाएको छ।

तर जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले भूकम्प ७.८ म्याग्निट्यूडको रहेको र जमिनभन्दा ५० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ७.८ म्याग्निट्यूड मापन गरेको छ र ३५ किलोमिटर गहिराइमा गएको उल्लेख गरेको छ।

फिलिपिन्सका राष्ट्रपतिले "सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न" निर्देशन दिएका छन्। उनले सुनामीबाट बच्न अग्लो स्थानतर्फ सर्न मानिसहरूलाई आग्रह गरेका छन्।

यूएसजीएसले इन्डोनेसियाका केही स्थानमा तीन फिटसम्मका सुनामी देखिएको जनाएको छ।

भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।