विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'

पाइलटको पोसाक लगाएका पाइलट आर्थर रोडिनोभ

तस्बिर स्रोत, Artur Rodionov

तस्बिरको क्याप्शन, पाइलट आर्थर रोडिनोभ 'जीपीएस स्पूफिङ' अहिले नियमित भोग्नुपर्ने समस्या बन्न थालेको बताउँछन्
    • Author, पीटर बल
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

यूकेका रक्षामन्त्री सवार ब्रिटिश रोयल एअर फोर्सको विमान केही दिनअघि एस्टोनिया पुगेलगत्तै एउटा अस्वाभाविक अवस्था देखा पर्‍यो।

बीबीसी विश्व सेवाले पनि जाँच गरेको उडान डेटाअनुसार विमान अचानक केही सेकेन्डभित्रै त्यहाँबाट ३०० किलोमिटर टाढाको रुसी भूभागभित्र पुगेको विवरण देखियो।

उक्त विमान सेन्ट पीटर्स्बर्गनजिकैको एउटा तालमाथि मात्र ११ किलोमिटर प्रतिघण्टाको गतिमा उडिरहेको देखियो।

यो कुनै पनि विवरण वास्तविक थिएन। 'जीपीएस स्पूफिङ' भनिने एक किसिमको झुक्क्याउने प्रणालीका कारण विमानको 'न्याभिगेशन' प्रणाली अलमलमा परेको थियो।

जीपीएस स्याटलाइटले पठाउने विवरणहरू धेरै रेडिओ सिग्नलहरूले नक्कल गर्दा यस्तो हुनेगर्छ।

किनभने पृथ्वीमा पुग्ने बेलासम्म स्याटलाइट सिग्नलहरू निकै कमजोर भइसकेका हुन्छन्। अनि जमिनमा रहेका ट्रान्स्मिटरहरूले त्यसलाई टक्कर दिने अझै शक्तिशाली सिग्नलहरू प्रसारण गर्छन्। अनि विमानको 'न्याभिगेशन' गर्ने सहितका प्रणाली यसमा झुक्किन्छन्।

'स्पूफिङ' के हो?

स्पूफिङ धेरैजस्तो सैनिकहरूले प्रयोग गर्छन्। उनीहरूले लामो दूरीका क्षेप्यास्त्र र साना ड्रोनहरूलगायत जीपीएस न्याभिगेशन प्रविधि प्रयोग गर्ने शत्रु पक्षका अस्त्रको लक्ष्य कमजोर बनाउन यसो गर्छन्।

कैयौँ देशका सैनिकहरूले यस्ता ट्रान्स्मिटर बनाएका छन् र तीनलाई निश्चित ठाउँमा राख्ने वा गाडीहरूमा राखेर डुलाउने गर्छन्।

तर युद्धका लागि थापिएका विद्युतीय जालमा कहिलेकाहीँ व्यापारिक उडानहरू पनि पर्ने गर्छन्।

रोयल एअर फोर्सका पाइलटहरू हालैको घटनापछि जीपीएसको सट्टा त्यो भन्दा कम सटिक प्रणाली प्रयोग गरेर विमानलाई आफ्नो मार्गमा उडाउन बाध्य भएको रक्षा मन्त्रालयले जनाएको छ।

विमानको सुरक्षामा भने कुनै जोखिम नभएको मन्त्रालयले बताएको छ।

एउटा मात्रै विमान होइन

उडिरहेको विमान

तस्बिर स्रोत, EPA/Shutterstock

वास्तवमा त्यस दिन उक्त क्षेत्रमा प्रभावित हुने जहाज त्यही एउटा मात्र थिएन। उड्डयन परामर्शदाता कम्पनी एसकेएआई डेटा सर्भिसले बीबीसीलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार स्पूफिङका कारण १०० वटा भन्दा धेरै यात्रुवाहक विमानहरूले गलत डेटा देखाइरहेका थिए।

त्यही डेटाले 'स्पूफिङ' र 'जामिङ' धेरै सैन्य गतिविधि चलिरहेका वा युद्ध क्षेत्रमा व्यापक हुँदै गएको देखाएको छ। जीपीएसको काम अवरुद्ध गर्ने यस्ता सिग्नलहरू बल्टिक क्षेत्र, खाडी, लाल सागर, भारत, पाकिस्तान र म्यानमार वरिपरि देखिए।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरान युद्ध सुरु गरेयता खाडीमा पनि विमानहरूले स्पूफिङको समस्याबारे जानकारी गराएका छन्।

एसकेएआई डेटा सर्भिसका अनुसार मार्चमा ५,३८१ वटा उडानले स्पूफिङको समस्याबारे जानकारी गराएका थिए। त्यो सङ्ख्या फेब्रुअरीमा ९९ र ज्यानुअरीमा मात्र १४ थियो।

बाल्टिक क्षेत्रमा स्पूफिङको घटना सन् २०२४ मा १७,२४३ बाट बढेर २०२५ मा ५९,४४७ पुगेको एसकेएआई डेटा सर्भिसको तथ्याङ्कले देखाउँछ। रुस र युक्रेनबीचको युद्धमा ड्रोन आक्रमण बढेसँगै यो स्पूफिङको समस्या पनि बढेको देखिएको छ।

युरोप, मध्यपूर्व र एशियाका अन्य कैयौँ व्यस्त हवाई मार्गहरूमा पनि स्पूफिङ र जामिङको समस्या देखिएको छ। विश्वभरिमा दैनिक ८०० वटा उडानमा यस्तो समस्या देखिएको छ।

यसका लागि आवश्यक प्रविधि धेरै देशहरूमा सहजै उपलब्ध हुँदा विज्ञहरूले यो समस्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

पाइलटलाई झुक्क्याउने समस्या

ब्रिटिश पाइलट साम रथर्फर्डले गत महिना साउदी अरबबाट ओमानमा चारसीटे विमान उडाइरहँदा पहिलो पटक यो समस्या सामना गरे। उनी साउदी र यूएईको सीमानजिक पुगेका बेला विमानको न्याभिगेशन प्रणाली र 'अटोपाइलट' दुवैले काम गर्न छोडे।

सुरुमा त उनलाई विमानमै समस्या हो कि भन्ने लाग्यो। तर त्यो क्षेत्रमा भएका कैयौँ विमानहरूले त्यही समस्याबारे जानकारी गराइरहेका थिए।

पछि जीपीएस स्पूफिङ र जामिङ दुवै कुराले विमानलाई असर गरिरहेको थाहा भयो।

ब्रिटिस सेनाका लागि आठ वर्ष हेलिकप्टर उडाएका रथर्फर्डले विमानको चुम्बकीय कम्पास प्रयोग गरे र एअर ट्राफिक कन्ट्रोलरलाई सम्पर्क गरेर गन्तव्यसम्म उडानलाई बाटो देखाइदिन अनुरोध गरे।

उनले विमानलाई सुरक्षित अवतरण गराए। तर उनी भन्छन्, "खराब मौसमको अवस्थामा अझ इन्धन पनि कम भएको र रातको समय भएको अवस्थामा यस्तो कुराले फरक परिस्थिति निम्त्याउँछ।"

यसको एउटा जोखिम चाहिँ यदि विमानले आफू फरक स्थानमा भएको ठान्यो भने पाइलटले विमान ठोक्किने सम्भावनाबारे जारी गर्ने चेतावनी कि त बेवास्ता गर्नुपर्ने, कि चाहिँ त्यो प्रणाली नै बन्द गर्नुपर्ने ४० हजार पाइलटहरूको संस्था युरोपेली ककपिट असोसिएशनकी अध्यक्ष तान्जा हार्टर बताउँछिन्।

यो प्रणालीले पहाडजस्ता अवरोधमा विमान ठोक्किने अवस्थामा चेतावनी जारी गर्छ।

हार्टरका अनुसार ३७,००० फीट माथि उडिरहँदा पनि विमानलाई अझै माथि लैजान गलत चेतावनीहरू जारी भएका कैयौँ विवरण जानकारीमा आएका छन्।

विमानलाई खराब मौसममा सहयोग गर्ने रेडारहरूले पनि यस्तो अवस्थामा काम गर्न नसक्ने उनी बताउँछिन्।

कैयौँ वायुसेवाहरूले पाइलटहरूलाई यसबारे सूचना दिने गरे पनि हार्टरका अनुसार यसले "विमानको सुरक्षा सञ्जाल कमजोर बनाउँछ।"

स्पूफिङबारे आफ्नो अनुभव सुनाउँदै पाइलट आर्थर रोडिनोभ भन्छन्, "लिथुआनियाबाट एकैपटक नर्थ सीमा पुगेको" स्क्रीनमा देखाउँदा वास्तविक स्थानबीचको सबैभन्दा ठूलो अन्तर महसुस भएको थियो।

"त्यो भनेको १,६०० किलोमिटर भन्दा टाढा हो," साना विमानहरू उडाउने रोडिनोभ भन्छन्।

स्पूफिङबाट बच्न कस्तो सावधानी

आकाशमा उडिरहेको विमान

तस्बिर स्रोत, Getty Images

नियमितजस्तो स्पूफिङका घटनाहरू भएपछि आफ्नो कम्पनीले जीपीएस प्रणाली सम्पर्कविच्छेद हुनेजस्ता अवस्थामा के गर्ने भनेर पाइलटहरूलाई एउटा निर्देशिका नै बनाएको छ।

पाइलटले विमानका सिग्नलहरू 'स्पूफ' भए नभएको पहिले निगरानी गर्ने छन्। रोडिनोभका अनुसार धेरै अनुभव नभएका पाइलटहरूलाई कहिलेकाहीँ अन्य समस्या पनि देखिएको अवस्थामा स्पूफिङले थप जटिलता निम्त्याउन सक्छ।

"त्यसले निश्चय नै थप काम बढाउँछ," उनी भन्छन्।

विभिन्न देशहरूले जीपीएसमा हस्तक्षेप गर्ने कुरा गैरकानुनी चाहिँ होइन। प्रसारण सिग्नलहरू नियमन गर्ने इन्टर्न्याश्नल टेलिकम्युनिकेशन यूनियनले सुरक्षा प्रयोजनका लागि देशहरूले यस्तो काम गर्न रोक लगाएको छैन। तर यसको व्यापक प्रयोगले खास गरी विमानहरूको सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ।

युरोपको हवाई न्याभिगेशन सुरक्षा निकाय युरोकन्ट्रोलले स्पूफिङका समयमा विमानहरूमा "सुरक्षाका लागि उपायहरू सुनिश्चित गरिएको" र विमानमा रहने न्याभिगेशन प्रविधि अनि जमिनमा रहेका एअर ट्राफिक कन्ट्रोलले त्यस्तो अवस्थामा विमानलाई निर्देशित गर्न सक्ने जनाएको छ।

विमान उत्पादकहरूले स्पूफिङको अवस्थामा विमानहरूलाई समस्या नपरोस् भनेर 'एभिओनिक्स' आपूर्तिकर्ताहरूसँग मिलेर काम गरिरहेको उक्त निकायले जनाएको छ।

तर युरोकन्ट्रोलजस्ता उड्डयन निकायहरू यसबारे धेरै चिन्तित छन्। बीबीसीले हेरेको एउटा आन्तरिक प्रतिवेदनमा यस निकायले स्पूफिङले "अहिलेका विमानको ककपिट सुरक्षा अवधारणामा असर गर्ने" उल्लेख गरेको छ।

असर पर्ने अन्य क्षेत्र

यो समस्याको समाधान सार्वजनिक रूपमा महसुस गरिएभन्दा पनि तत्काल जरुरी देखिएको उड्डयन क्षेत्रका विज्ञहरू बताउँछन्।

"वायुसेवाहरूले सुधारका लागि दबाव दिइरहेका छन्," टेक्सस विश्वविद्यालयका एरोस्पेस इन्जिनिअरिङ प्राध्यापक टोड हम्फ्रीज भन्छन्।

"उड्डयन क्षेत्र २० वर्ष पुरानो जीपीएस प्रविधि प्रविधिमा आधारित छ," उनी भन्छन्। "स्पूफिङ र जामिङबाट सुरक्षित जीपीएस रिसिभर" आवश्यक भएको उनको भनाइ छ।

"हामीले अहिले प्रयोग भइरहेकाभन्दा धेरै सुदृढ नयाँ प्रविधिहरू विकास गर्नुपर्छ," उनी भन्छन्।

यो समस्या समाधानका उपायहरूमा बाहिरी हस्तक्षेप छल्न विमानको सफ्टवेअर अद्यावधिक गर्ने, जमिनबाट आउने गलत सिग्नलहरू छल्न 'डिरेक्शनल एन्टेना' प्रयोग गर्ने र जीपीएससँगै काम गर्ने नयाँ न्याभिगेशन प्रणाली विकास गर्ने लगायत छन्।

हम्फ्रीजका अनुसार जीपीएस स्पूफिङ र जामिङबाट व्यावसायिक उडानहरू मात्रै प्रभावित नभई डुङ्गाहरू, मोबाइल फोनमा प्रयोग हुने 'म्याप'हरू पनि प्रभावित हुन्छन्।

"यसले समुद्री वाहन र सडकमा गाडी चलाइरहेका मानिसहरूलाई पनि असर गर्छ," उनी भन्छन्।

"भविष्यमा द्वन्द्व भएका ठाउँमा प्रभावित हुनेमध्येको पहिलो प्रणाली जीपीएस हुन सक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।