लामिछानेसँगको भेटमा 'मोदीले मागे' छलफल गर्नुपर्ने विषयको सूची

रवि लामिछाने र नरेन्द्र मोदी

तस्बिर स्रोत, X/@narendramodi

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार दिल्लीमा भेटवार्ता भएको छ।

भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्।

मोदीले थप लेखेका छन् : "हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।"

रास्वपा सभापति लामिछानेले आफूहरूबीच एक घण्टा लामो "रचनात्मक कुराकानी" भएको सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।

लामिछानेले थप लेखेका छन् : "म भविष्यका लागि नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्ने तपाईँको दृष्टिकोणसँग सहमत छु। साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र निर्बाध कनेक्टिभिटीमा ध्यान केन्द्रित गर्दै हामी साँच्चै प्रगति र पारस्परिक विश्वासद्वारा परिभाषित साझेदारी निर्माण गर्न सक्छौँ।"

उनले नेपाल र भारतका जनताको साझा समृद्धिको लागि सम्भावनाहरूलाई वास्तविकतामा बदल्न रास्वपा तत्पर रहेको समेत उल्लेख गरेका छन्।

लामिछाने सोमवार पाँचदिने भारत भ्रमणमा निस्किएका थिए। उनी भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) निमन्त्रणामा दिल्ली पुगेका हुन्।

नेपालमा जेन जी आन्दोलन भएपछि सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत ल्याएर शक्तिशाली सरकार बनाएको छ। परिवर्तित राजनीतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने लामिछाने वरिष्ठतम नेता हुन्।

केके कुरा भए?

लामिछाने नेतृत्वको भ्रमण दलमा रहेका रास्वपा सांसद दीपक बोहराले छलफलका क्रममा नेपालको जलविद्युत्, विमानस्थल, सीमालगायत सबै विषयमा आफूहरू छलफल गर्न तयार रहेको भन्दै मोदीले सूचीको माग गरेको बताए।

"'हामी छलफल गर्छौँ। तपाईँहरू त्यसको सूची बनाएर ल्याउनूस्। एउटा समयसीमा बनाऊँ। उच्च प्राथमिकतामा छन् ती काम मेरा लागि' भन्नुभयो," बोहराले बीबीसीसँग भने।

प्रतिनिधिमण्डल स्तरमा भएको वार्ता

तस्बिर स्रोत, x/@narendramodi

उनले यसलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण हुने कुरा समेत तय गरिएको बताए।

"यस क्रममा भारतसँगको सहकार्यमा गर्न बाँकी कामहरू, अधुरा कामहरूको सूची बनाएर काम गर्ने नरेन्द्र मोदीले भन्नुभएको छ।"

वार्ताका क्रममा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिस्रीलगायत सहभागी देखिन्छन्।

त्यस क्रममा रास्वपा प्रतिनिधिमण्डलमा रहेका लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सांसदहरू विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापालगायत सहभागी देखिएका छन्।

नेपाल-भारत सीमा विवादको धङधङी

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले आइतवार प्रतिनिधिसभामा 'नेपालले पनि भारतको भूमि मिचेको' भन्ने टिप्पणी गरेको भोलिपल्ट लामिछाने भारतका भ्रमणमा निस्केका थिए।

उनले नेपाल-भारत सीमा विवाद समाधानमा यूकेको पनि भूमिका हुन सक्ने जनाएका थिए।

तर भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल-भारत सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने प्रतिक्रिया दिएका छन्।

मङ्गलवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारतबीचका सीमासम्बन्धी विषयहरू विद्यमान द्विपक्षीय संयन्त्रमार्फत् सम्बोधन भइरहेका भन्दै भारतले यसमा कुनै तेस्रो पक्षको भूमिका नरहने बताए।

लामिछानेले आफ्नो भ्रमणकै समय पारेर मङ्गलवार भारतबाट अङ्ग्रेजी भाषामा प्रकाशित हुने पत्रिका 'द हिन्दुस्तान टाइम्स'मा प्रकाशित एक लेखमा "सीमा विवाद लम्बिरहन नहुने" भन्दै तिनलाई "ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारित व्यावहारिक, तथ्यमा आधारित संवादमार्फत्" समाधान गर्नमा जोड दिएका छन्।

"यतिखेर हामीसँग हाम्रो परराष्ट्रनीतिलाई रूपान्तरण गर्न आवश्यक पर्ने सबैभन्दा ठूलो सम्पत्ति छ - हामी विगतको कुनै बोझ बोक्दैनौँ। हामी पुरानो शत्रुताले बाँधिएका छैनौँ," लामिछानेले उक्त लेखमा भनेका छन्।

भारतका लागि नेपालका पूर्वराजदूत शङ्कर शर्माले यो भ्रमण दुई देशबीच विश्वासको वातावरण बनेको समयका रूपमा अर्थ्याए। "यस्तो बेलामा पञ्चेश्वर आयोजना, हवाई मार्गका कुराजस्ता लामो समयदेखि अड्किएर बसेका कुराहरू अघि बढ्न सक्छन्, बढाउनु पनि पर्छ।"

सीमाका विषयमा कुराकानी मात्रै सुरु भयो भने पनि त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने पूर्वराजदूत शर्माले बीबीसीसँग भने।

केही साताअघि सरकारको प्रवक्ता समेत रहेका मन्त्री सस्मित पोखरेलले लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमणको विषयलाई जोडेर हेर्नु आवश्यक नरहेको बताएका थिए।

"प्रधानमन्त्रीज्यूको भारत जाने समय जतिखेर आउँछ, त्यति बेला उहाँ जानुहुन्छ। अहिले उहाँ भारत मात्र नभई कतै पनि जानुभएको छैन," सञ्चारकर्मीहरूले सोधेको एउटा प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले भनेका थिए।

"अहिले हाम्रो पहिलो १०० दिनको कार्य व्यस्तता धेरै भएकाले काममा बढी केन्द्रित हुनुपरेको छ।"

महत्त्व दिइएको भ्रमण

भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्त्व दिएको देखिएको छ।

रास्वपा सभापति लामिछानेले भाजपा अध्यक्ष नीतिन नवीनसँग मङ्गलवार वार्ता भएको थियो। उनले भारतका गृहमन्त्री अमीत शाह, विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटेका थिए।

भारतका गृहमन्त्री अमित शाहले हतपत विदेशी नेताहरूलाई नभेट्ने गरेको बताइन्छ। उनले लामिछानेसँग भेटवार्ता गर्नुलाई भारतले उनको भ्रमणलाई दिएको महत्त्वका रूपमा हेर्न सकिने टिप्पणी भइरहेका छन्।

भारतीय अखबार द हिन्दूकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्वीटमा लेखेकी छन्: "गृहमन्त्रीले विदेशी नेतालाई भेट्नु एकदमै दुर्लभ थियो। प्रधानमन्त्रीले आज भेट्ने अपेक्षा गरिएको छ।नेपालका प्रधानमन्त्री बालेन शाहको चर्का कुरा र विदेशसचिव मिश्रीलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उनको पार्टी प्रमुखका बिछ्याएको रातो कार्पेट रोचक छ।"

लामिछाने र शाहको भेटघाट भएपछि भारतको गृह मन्त्रालयले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टमा "दुवै पक्षले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अभिवृद्धि गर्न मिलेर काम गर्ने दृढ सङ्कल्प व्यक्त गरेको" उल्लेख छ।

विदेशमन्त्री एस जयशङ्करले लामिछानेसँगको भेटमा नेपाल र भारतबीचको विकास साझेदारी र जनस्तरीय सम्बन्धबारे चर्चा गरेको जनाउँदै "विकास र समृद्धिको प्रवर्धनमा यी विषयको महत्त्वपूर्ण भूमिका हुने" लेखेका छन्।

लामिछानेले आफ्ना ती भेटहरू "रचनात्मक" रहेको लेखेका छन्।

लामिछानेको नेतृत्वमा रहेको भ्रमणदललाई स्वागत गर्न भाजपाको विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित पार्टीको पहिलो वरीयताका राष्ट्रिय महासचिव अरुण सिंह विमानस्थल पुगेका थिए।

नेपालमा भएको निर्वाचनमा रास्वपा विजयी भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) दुवैलाई टेलिफोन गरेर बधाई दिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।