नेपाल-भारत सीमाबारे 'तेस्रो पक्षको भूमिका छैन' भन्ने दिल्लीको भनाइको सम्भाव्य अर्थ

भारतका विदेशमन्त्री एस जयशङ्कर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

भारतको विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विषयबारे पत्रकारको प्रश्नमा उत्तर दिँदै यस विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले गत आइतवार प्रतिनिधिसभामा 'नेपालले पनि भारतको भूमि मिचेको' भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै पत्रकारले भारतको धारणा सोध्दा भारतको विदेश मन्त्रालयका प्रवक्ताले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले आइतवार संसद्‍मा बोल्दै "...भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ..." भनेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा चौतर्फी विरोध भइरहँदा भारतको विदेश मन्त्रालयले दिएको यो अभिव्यक्तिमा असहमत हुनुपर्ने कारण नरहेको नेपाल-भारत मामिलाबारे लामो समयदेखि लेख्दै तथा बोल्दै आएका पत्रकार युवराज घिमिरेले बताएका छन्।

"दुईवटा मुलुकले सिद्धान्तत: स्वीकार गरेर अगाडि बढेको कारणले त्यसमा असहमत हुनुपर्ने कारण छैन," देशसञ्चार डट कमका प्रधान सम्पादक रहेका घिमिरेले भने।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का सभापति रवि लामिछाने भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निम्तोमा दिल्ली भ्रमणमा रहेका बेला भारतको विदेश मन्त्रालयले सीमा विवादबारे आफ्नो धारणा स्पष्ट पारेको हो।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारतबीचका सीमासम्बन्धी विषयहरू विद्यमान द्विपक्षीय संयन्त्रमार्फत् सम्बोधन भइरहेका भन्दै भारतले यसमा कुनै तेस्रो पक्षको भूमिका नरहने बताएको हुन्।

प्रधानमन्त्री शाहले संसद्‌मा आफूले गरेको पहिलो सम्बोधनमा नेपाल-भारत सीमा विवाद समाधानमा यूकेको पनि भूमिका हुन सक्ने अभिव्यक्ति दिएका थिए।

त्यसले विवाद निम्त्याएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ताका तर्फबाट जारी एउटा विज्ञप्तिमा उक्त भनाइ "मूलतः दशगजा क्षेत्र अतिक्रमण" र "क्रस-बोर्डर अक्युपेशन" अर्थात् "सीमा वारपारको जग्गा भोगाधिकार"सँग सम्बन्धित रहेको उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्कर

तस्बिर स्रोत, NEPAL EMBASSY

तस्बिरको क्याप्शन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्कर

विदेश मन्त्रालयले भनेको के हो?

पत्रकारहरूको जिज्ञासाहरूको जबाफ दिने क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल-भारत सीमाबारे प्रधानमन्त्री शाहको भनाइ र त्यसपछि परराष्ट्र मन्त्रालयले निकालेको वक्तव्य आफूहरूले "हेरेको" जनाएका छन्।

"भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको छ। तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ," जयसवालले पत्रकारहरूसँग भने।

"गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति आएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र दशगजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको छ।"

यसै क्रममा उनले सीमासम्बन्धी सबै मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनेका र द्विपक्षीय मामिलामा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका नहुने विषयमा सम्बन्धित पक्षहरू स्पष्ट हुनुपर्ने उनले बताएका हुन्।

भारतीय पक्षको उक्त अभिव्यक्तिले नेपाललाई अप्ठ्यारो पर्ला कि नपर्ला?

पत्रकार घिमिरे भन्छन्, "सीमा विवादमा विगतमा सहमति भइसकेका छन् र अरूलाई मिलाउने भन्ने दुई पक्षको बुझाइलाई फरक पर्दैन। तर त्यसलाई सहज बनाउन चाहिँ प्रधानमन्त्रीले नेपालकै संसद्‌मा स्पष्टीकरणसहित स्पष्ट सन्देश दिन सक्नुभयो भने त्यसले मद्दत नै पुर्‍याउँछ।"

मङ्गलवार सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले दुई देशबीचको सीमाबारे बोलेको कुरामा "प्रधानमन्त्री स्वयं अचम्भीत भएको" भन्न खोजेको भन्दै स्पष्टीकरण दिएका छन्।

"प्रधानमन्त्रीज्यूले पनि के भन्नुभएको भन्दा सीमा विवादसम्बन्धी हामीले काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरी प्रधानमन्त्रीले म अचम्भीत परेको भनेर भन्नुभएको हो," सरकारका प्रवक्ता पोखरेलले भने।

तर पत्रकार घिमिरे संसद्को रेकर्डमा रहने संवेदनशील विषयमा प्रधानमन्त्री स्वयंले त्यसबारे स्पष्ट सन्देश दिनुपर्ने ठान्छन्।

"प्रधानमन्त्री आफैँले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिलाई स्पष्टता दिन आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्रै विषय नभई दुई पक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्ग्याउन पटकपटक प्रतिबद्धता गर्ने कुरालाई कुनै न कुनै रूपमा प्रभावित गर्छ," उनले भने।

"प्रधानमन्त्रीलाई ओभररूल गरेर प्रक्रिया अगाडि बढाउने स्थिति पनि सुखद हुँदैन। त्यसैले कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्रीले नै आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देश स्पष्ट पार्न सक्नुपर्छ।"

रास्वपा सभापतिको भ्रमणमा केके भयो?

रास्वपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन

तस्बिर स्रोत, RSP

सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने दिल्ली भ्रमणमा रहेका बेला दुईपक्षीय सम्बन्धलाई सकारात्मक दिशा दिन भूमिका रहन सक्ने पत्रकार घिमिरे बताउँछन्।

"दुईपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा छलफल गर्ने फोरम त्यो हुन्छ। यद्यपि दुईपक्षीय विवाद, समस्याको समाधानलाई औपचारिकता दिने काम सरकारकै निकायले गरेका हुन्छन्," उनले भने।

भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीको निम्तोमा सोमवार दिल्ली पुगेका लामिछानेले मङ्गलवार उक्त पार्टीका अध्यक्ष नीतिन नवीन, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग भेट गरेका छन्।

भारतीय गृहमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच सीमापार सम्पर्क सञ्जाल सुदृढ बनाउने, सीमापार हुने आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापनसम्बन्धी सहकार्यलाई थप बलियो बनाउने विषयमा कुराकानी गरेको दिल्लीस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल एक्समार्फत् जनाएको छ।

साथै विदेशमन्त्री जयशङ्करले छलफल विकास साझेदारी तथा दुई देशका जनताको सम्बन्धमा केन्द्रित रहेको र यी सम्बन्धहरूले दुवै देशको विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

भाजपा पार्टी अध्यक्ष नवीनले सामाजिक सञ्जाल एक्समा लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्न पाउँदा आफू अत्यन्त खुसी भएको कुरा उल्लेख गरेका छन्।

"भाजपा र रास्वपाबीचको सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो," उनले एक्समा लेखेका छन्।

"यो अवसरमा मैले भाजपाको शीर्ष तहदेखि बूथ तहसम्मको सङ्गठनात्मक संरचना, सदस्यता प्रक्रिया तथा तल्लो तहका कार्यकर्तासँगको हाम्रो गहिरो सम्बन्धबारे जानकारी आदानप्रदान गर्‍यौँ।"

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमा विकास र जनकल्याणलाई शासनको केन्द्रबिन्दु बनाइएको विषयमा पनि जोड दिएको उल्लेख गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।