ठाउँ खाली गर्ने आदेश जारी गरेर दक्षिणी लेबननमा इजरेलद्वारा भीषण हमला

    • Author, समान्था ग्र्यान्भील
    • Reporting from, बेरुत
    • Author, डेभिड ग्रिटन
  • Published
  • पढ्ने समय: ५ मिनेट

इजरेली सेनाले हिज्बुल्लाह लडाकु समूहका संरचनालाई निसाना बनाएर आफूले बिहीवार दक्षिणी लेबननमा आक्रमण गरेको जनाएको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा लेबननको एउटा ठूलो सहर टायरमा भत्किएका भवनहरू वरपर धुलाम्मे मानिसहरूको भिड लागेको देखिन्छ।

इजरेल डिफेन्स फोर्सेज (आईडीएफ)ले ठूलो बल प्रयोग गरेर कारबाही गर्ने चेतावनी दिँदै इजरेलसँगको सीमावर्ती भूमिबाट मानिसहरूलाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको थियो। उक्त नदी इजरेलसँगको सीमाबाट ४० किलोमिटर पर छ।

इजरेल र हिज्बुल्लाह दुवैले एकअर्कामाथि गत १७ एप्रिलमा लागु भएको युद्धविराम पटकपटक उल्लङ्घन गरेको आरोप लगाएका छन्।

हिज्बुल्लाह इरानबाट समर्थनप्राप्त शक्तिशाली शिया समूह हो।

कहाँकहाँ भयो आक्रमण

लेबनन सरकारद्वारा सञ्चालित समाचारसंस्था न्याश्नल न्यूज एजन्सी (एनएनए)का अनुसार बिहीवार बिहान टायरमा दुई पटक र उक्त सहरभन्दा पूर्वमा अवस्थित एउटा क्षेत्रमा एक पटक इजरेली हमला भयो।

टायरमा खिचिएका भिडिओहरूमा बुधवार रातिदेखि बिहीवार बिहानसम्म कैयौँ पटक विस्फोटन भएको र आगो लागेको देखिन्छ।

भिडिओमा आगोले उज्यालो देखिएका र धुवाँ भरिएका सडकहरू देखिन्छन्।

उज्यालो भइसकेपछि अग्लो आवासीय भवनहरू भएको क्षेत्रमा ठूलो आगलागी हुँदा निस्किएको ज्वाला र धुवाँको मुस्लो निस्किएको देखिएको छ।

आक्रमणका कारण स्तब्ध स्थानीय बासिन्दाहरू सडकमा छरिएको भग्नावशेष हेरेर बसेको देखियो।

इजरेलले हिज्बुल्लाह समूहका संरचनाहरूलाई निसाना बनाइएको दाबी गरेको छ।

परिस्थिति "निकै खतरनाक" भएकाले उद्धारकर्मीहरूले आफ्नो काम छोड्नु परेको र कामदारहरूलाई ठाउँ खाली गर्न इजरेली सेनाले फोनबाट चेतावनी दिएको टायरस्थित एक हिज्बुल्लाह सदस्यले बीबीसीलाई बताए।

टायरमा थप आक्रमण हुने त्रास बढेका बेला एम्बुलेन्स सञ्चालन गर्ने टोलीहरूले सडकसडकमा घुमेर मानिसहरूलाई अन्यत्र जान आह्वान गरेका छन्।

बुधवार राति मानिसहरू निद्रामा परेको बेला इजरेलले मानिसहरूलाई विभिन्न ठाउँबाट अन्यत्र जान आदेश जारी गरेको थियो। अहिले ठूलो क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन्।

साइडनमा भएका आश्रयस्थलहरूमा थप मानिसहरू अटाउन सक्ने अवस्था नरहेको उक्त नगरका प्रमुखले बीबीसीलाई बताएका छन्। टायरका अधिकारीहरूले मानिसहरूलाई अझ उत्तरमा रहेको बेरुततिर जान सुझाव दिएका छन्।

एनएनएका अनुसार दक्षिणी लेबननबाट अन्यत्र जान लागेको एउटा परिवारमाथि इजरेली ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको छ।

दुई पक्षबीच युद्धविराम लागु भएपछि इजरेलले ठाउँ खाली गर्न बुधवार जारी गरेको आदेश सबैभन्दा ठूलो हो। यसले लेबननको झन्डै १४ प्रतिशत भूभाग ओगट्छ।

दक्षिणी लेबननको केही भाग आफ्नो नियन्त्रणमा लिने इजरेली सैनिकहरू र उत्तरी इजरेलमा बसोबास गर्ने मानिसहरूमाथि हिज्बुल्लाहले ड्रोन हमला गरेपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त लडाकु समूहविरुद्ध कारबाही गर्ने घोषणा गरेका थिए।

बुधवार ठाउँ खाली गर्ने आदेशपछि इजरेलले लेबननमा हवाई हमला गर्‍यो। सहरमा इजरेली आक्रमण हुन थालेपछि आतङ्कित बनेका मानिसहरूले बार्दलीबाट बाहिर हेरे, कसैले फोनबाट भिडिओ खिचे।

गत महिना युद्धविराम हुनुभन्दा केही अघि इजरेली हमलामा आफ्नो घर र क्याफे गुमाएका ५२ वर्षीय रिडाले पहिला आफू टायरबाट बाहिर नजाने बताएका थिए। तर अहिले उनको धारणा फेरिएको छ।

"म समुद्री तटसँगै रहेको बन्दरगाहमा गएँ, त्यहाँ धेरै मानिस छन्," बुधवार उनले फोनमा भने। "मानिसहरूले आआफ्ना सामान ल्याएका छन्। सबै जना तर्सिएका छन्।"

पछि जारी गरिएको ठाउँ खालि गर्ने आदेश जारानी नदीबाट दक्षिणीपट्टि रहेका झन्डै ३०० नगर र गाउँका लागि हो। पहिला पनि विस्थापित भएकासहित धेरै मानिसहरूका लागि अब जाने कुनै ठाउँ छैन।

लेबननस्थित अन्तर्राष्ट्रिय रेड क्रस समिति आईसीआरसीको प्रतिनिधिमण्डलका प्रमुखले लेबननको दक्षिणी भेगको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएका छन्।

"जारी द्वन्द्वका कारण सर्वसाधारण मानिसहरूका लागि बस्न नसकिने अवस्था सिर्जना भएको छ र यसबाट दीर्घकालीन दुष्परिणामको जोखिम बढ्छ," एग्निस दुरले भनिन्।

लेबननी सञ्चारमाध्यमका अनुसार बुधवार दक्षिणी लेबनन र पूर्वी बेका उपत्यकामा भएका इजरेली हमलाहरूमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो।

हिज्बुल्लाहले आफ्ना लडाकुहरू र इजरेली सैनिकहरूबीच लिटानी नदीको उत्तरपट्टि रहेको जाउटर अल-शर्कियामा भिडन्त भएको बुधवार जनाएको थियो।

इजरेली अधिकारीहरूले हिज्बुल्लाहले बारम्बार आक्रमण गरेर इजरेल र लेबनन सरकारबीच भएको अस्थायी युद्धविराम सम्झौता उल्लङ्घन भएको बताएका छन्। गत महिना लागु भएपछि युद्धविरामको अवधि दुई पटक थप भएको थियो।

लेबननी अधिकारीहरूले भने इजरेलले हवाई हमलाहरू गरेर सम्झौताको उल्लङ्घन गरेको दाबी गरेका छन्।

अहिले बढेको तनावका कारण अमेरिका र इजरेलको इरानसँगको लडाइँ अन्त्य गर्ने उद्देश्यसहित जारी वार्ता भाँड्न सक्ने खतरा बढेको छ।

इरानले शान्तिका लागि गरिने सम्झौतामा लेबननलाई पनि संलग्न गर्नुपर्ने अडान लिँदै आएको छ। इजरेलले भने आफूसँग हिज्बुल्लाहबाट हुने खतराविरुद्ध लड्न पाउने अधिकार रहेको तर्क गर्दै आएको छ।

गत २ मार्चमा इजरेली आक्रमणमा परी इरानका सर्वोच्च नेताको मृत्यु भएपछि हिज्बुल्लाहले इजरेलमा रकेट प्रहार गरेको थियो। त्यसपछि उक्त समूह इजरेलको निसानामा परेसँगै लेबनन पनि अहिले जारी युद्धमा तानियो। इजरेलले लेबननभरि हवाई र स्थल कारबाही गरेर त्यसको त्यसको जबाफ दियो।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार लडाइँ सुरु भएयता त्यहाँ कम्तीमा ३,२१३ जनाको मृत्यु भइसकेको छ। तर कति लडाकु र कति सर्वसाधारण मानिस हताहत भए भनेर खुलाइएको छैन।

इजरेलले सीमाको दुवैतर्फ गरी आफ्ना २३ सैनिक र चार सर्वसाधारणको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ।

एन्जी म्राडको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।