मृतकको सङ्ख्या बढ्दो क्रममा, भोटेकोशी नदीमा फेरि बाढी 'आउन सक्ने जोखिम'

रसुवामा बुधवार स्थानीय भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण धनजनको ठूलो क्षति भएको छ।

सारांश

  • रसुवाको भोटेकोशी नदी र तल त्रिशूलीमा बुधवार आएको बाढीका कारण धनजनको ठूलो क्षति
  • क्षतिबारे विवरण आउने क्रम जारी
  • बिहीवार दिउँसोसम्म ३५९ जनाको शव फेला परेको नेपाल प्रहरीद्वारा पुष्टि
  • ९०० जनाभन्दा बढी मानिस 'अझै सम्पर्कविहीन'

लाइभ कभरेज

  1. आजका लागि हाम्रो लाइभ पेज पढिदिनुभएकामा धन्यवाद

    हामीले हिजो बुधवार बिहान भोटेकोशी-त्रिशूली बाढीको जानकारी प्राप्त भएयता यसका विविध पक्षहरूबारे जानकारी दिन यो लाइभ पेज सञ्चालन गर्‍यौँ।

    हिजो र आज यो पेजसम्म आएर हामीलाई साथ दिनुभएकामा हार्दिक धन्यवाद। अब हामी यो पेज बन्द गर्दै छौँ।

    सत्यतथ्य समाचारका लागि हाम्रो वेबसाइट हेर्दै गर्नुहोला।

    हामीले यूट्यूबमा प्रकाशन गरेका भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  2. बाढीमा कति सवारीसाधन बेपत्ता भए?

    बुधवार बिहान भोटेकोशी-त्रिशूलीमा अकस्मात्‌ आएको विनाशकारी बाढीमा परी दुई वटा यातायात कम्पनीका मात्रै ४१ वटा यात्रुवाहक सवारीसाधन बेपत्ता भएको ‍‍औपचारिक जानकारी पाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिवले बीबीसीलाई बताएका छन्।

    तर यातायात व्यवसायीहरूका अनुसार चीनतर्फ गएका नेपाली सवारीसाधनहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

    यसबारे विस्तृत समाचार पढ्नुहोस्। साथै भिडिओ पनि हेर्नुहोस्।

  3. चितवनमा किन फेला परे सर्वाधिक सङ्ख्यामा शव

    भरतपुर अस्पतालको पोस्टमार्टम घर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको शव भरतपुर अस्पतालमा सफाइ गरी शव संरक्षणस्थलमा राख्ने व्यवस्था गरिएको छ।

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, चितवनमा फेला परेका शवहरू राख्न छुट्टै स्थान तोकिएको छ

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६:२० बजे सार्वजनिक गरेको विवरणमा अहिलेसम्म बाढीका कारण मृत्यु हुने १३२ जनाको शव चितवनमा फेला परेको जनाएको छ।

    रसुवास्थित भोटेकोशी नदीमा हिजो बिहान आएको बाढीका कारण अहिलेसम्म ३५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये १७ जनाका शव रसुवामा फेला परेका हुन्।

    भोटेकोशी र तल त्रिशूली एवम् नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित आठ जिल्लामा शव फेला पर्ने क्रम जारी छ।

    अतिप्रभावित क्षेत्रबाट अधिकांश शवहरू नदीमा बगेर तल पुगेका हुन्। चितवनभन्दा तल रहेका नवलपरासी पूर्व र पश्चिममा पनि पनि नारायणी नदीमा शवहरू फेला परेका छन्।

    रसुवाको धुन्चे आइपुगेपछि भोटेकोशी नदीले त्रिशूलीको रूप लिन्छ। तनहुँ हुँदै आएको कालीकण्डकी नदी देवघाटमा मिसिएपछि नारायणी नदी बन्छ। भारत प्रवेश गरेपछि उक्त नदीलाई गण्डक भनिन्छ।

    भोटेकोशी, त्रिशूली र नारायणी नदी अङ्कित नक्सा

    कहाँ कति शव फेला परे?

    • रसुवाः १७
    • नुवाकोटः २८
    • धादिङ: ३३
    • गोरखाः ३० (विभिन्न मानव अङ्गसहित)
    • तनहुँः २२
    • चितवनः १३२
    • नवलपरासी पूर्वः ८२
    • नवलपरासी पश्चिमः १५
  4. १३,००० भन्दा बढी सुरक्षाकर्मी परिचालित

    नुवाकोट र रसुवाको विभिन्न स्थानमा फसेका नागरिकहरूलाई उद्धार गरेर नेपाली सेनाको श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा ल्याएपश्चात/ तालिम केन्द्रमा एक महिलको स्वास्थ्य जाँचिँदै

    तस्बिर स्रोत, RSS

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि १३,००० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

    • नेपाल प्रहरी - ७,२५०
    • नेपाली सेना - ४,२००
    • सशस्त्र प्रहरी बल - १,८४५
  5. ५४० पर्यटक सम्पर्कविहीन, ३१ जनाको उद्धार - नेपाल पर्यटन बोर्ड

    नेपाल पर्यटन बोर्डले ३१ देशका ५४० विदेशी नागरिकहरू हराइरहेको जनाएको छ।

    पर्यटकका रूपमा उक्त भेगमा गएकाहरूहरूमध्ये सबैभन्दा धेरै भारतका १७८ जना छन्।

    त्यसपछि आफ्ना धेरै नागरिकहरू हराउनेमा अमेरिकाका ६५, युक्रेनका ५३, मलेशियाका ५१, अस्ट्रेलियाका ३५ र ब्रिटेनका ३३ जना छन्।

    यीबाहेक पर्यटककै रूपमा गएका १२७ जना नेपालीहरू समेत हराइरहेका छन्।

    बिहीवार प्रभावित क्षेत्रबाट विभिन्न देशका ३१ विदेशी नागरिकहरूको उद्धार गरिएको समेत बोर्डले जनाएको छ।

  6. अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न अपील

    सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङसहितका स्थानमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ ।

    मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा सर्वसाधारण नागरिकहरूबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मन्त्रालयका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै विपद्‌बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेका छन्।

    अपुष्ट, कपोलकल्पित तथा एआईको प्रयोगबाट सिर्जित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

    मन्त्रालयले सामाजिक सञ्जालमा विपद्का हृदयविदारक घटनाका तस्बिर, श्रव्यदृश्य वा विवरण पोस्ट वा रिपोस्ट नगर्न पनि अनुरोध गरेको छ। त्यस्ता सामग्रीले ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप मानसिक पीडा पुग्न सक्ने भएकाले पीडित र परिवारप्रति मानवीय संवेदनशीलता अपनाउन मन्त्रालयले जोड दिएको छ।

    विपद्को समयमा भयावह, विचलित बनाउने तथा समाजलाई नै विक्षिप्त पार्ने सामग्री प्रकाशन, प्रसारण, अप्लोड, शेअर, पोस्ट वा रिपोस्ट नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले आग्रह गरेको छ।

  7. नदी किनारबाट उठाइएका सामान सुरक्षा निकायमा फिर्ता गर्न आह्वान, ईश्वर जोशी, चितवन

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनारबाट उठाइएका सामान सुरक्षा निकायमा फिर्ता गर्न सबैलाई आह्वान गरेका छन्।

    यो भिडिओ हेर्नुहोस्।

    भिडिओ क्याप्शन सुरु हुँदैछ, नदी किनारबाट उठाइएका सामान सुरक्षा निकायमा फिर्ता गर्न आह्वान
  8. ३५९ शव फेला परे : नेपाल प्रहरी

    रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुने मानिसको सङ्ख्या ३५९ पुगेको नेपाल प्रहरीले जनाएको छ।

    बिहीवार साँझ ५ बजे मानवीय क्षतिको विवरण सार्वजनिक गर्दा प्रहरीले त्यति सङ्ख्यामा शव फेला परेको जनाएको छ।

    प्रहरीका अनुसार रसुवादेखि नवलपरासी पश्चिमसम्म गरी आठ जिल्लामा शवहरू फेला परेका हुन्।

    विभिन्न जिल्लामा ती शवहरू फेला परेको बताइएको छ।

    अधिकारीहरूका अनुसार नेपालमा बाढी प्रभावित क्षेत्रमा रहेका मानिसहरू ठूलो सङ्ख्यामा सम्पर्कविहीन छन्।

  9. भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको भन्दै सतर्क रहन आग्रह

    खोला थुनिएको दृश्य चीनको एक रेष्टुराँमा देखाइँदै

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, चीनको एक रेष्टुराँको टेलिभिजन स्क्रीनमा खोला थुनिएको दृश्य देखाइएको थियो

    रसुवाको भोटेकोशी नदीमा फेरि पनि बाढी आउन सक्ने जोखिम देखिएको भन्दै जल तथा जलस्रोत अनुसन्धान केन्द्रले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्चसतर्कता अपनाउन आग्रह गरेको छ।

    केन्द्रले आज जारी गरेको सूचनानुसार चीनतर्फबाट प्राप्त भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधवार गएको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको छ। त्यसमा पानीको सतह बढेर ताल विस्फोट हुन सक्ने जोखिम रहेको केन्द्रले जनाएको छ।

    सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

    सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ।

    राष्ट्रिय समाचार समितिका अनुसार केन्द्रको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

  10. परराष्ट्र मन्त्रालयद्वारा आपत्कालीन प्रतिकार्य टोली गठन

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीसँगै विदेशी नागरिकहरू पनि बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (ईआरटी) गठन गरेको छ।

    मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ।

    मन्त्रालयका अनुसार विदेशी नागरिकसम्बन्धी आवश्यक सूचना सङ्कलन, सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्ने छ।

    राष्ट्रिय समाचार समितिका अनुसार विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय सङ्घसंस्था, बेपत्ता व्यक्तिका परिवार तथा सर्वसाधारणलाई रसुवाको बाढीसँग सम्बन्धित प्रभावित वा बेपत्ता विदेशी नागरिकबारे कुनै सूचना भए ईआरटीको हटलाइन वा इमेलमार्फत् जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।

    त्यसका लागि +९७७–९७४४४४१२२७ र +९७७–९७४४४४१२२८ मा आपत्कालीन हटलाइन/ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने छ।

    दोस्रो नम्बरमा बिहान ७ः०० बजेदेखि राति १०ः०० बजेसम्म सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

    त्यस्तै, emergency@mofa.gov.np मा इमेलमार्फत् पनि जानकारी दिन सकिने छ।

  11. फेरि ठूलो बाढी आउन सक्ने जोखिम 'कायम'

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार अपराह्ण एउटा सूचना जारी गर्दै रसुवागढी नाकाबाट झन्डै १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्ग किलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको जनाएको छ।

    भदौ ११ गते गते बिहान ११:४४ बजे प्राप्त भूउपग्रहबाट खिचिएको तस्बिरको विश्लेषणका आधारमा गरिएको " प्रारम्भिक अध्ययनबाट उक्त तालको प्राकृतिक बाँध फुटी पुनः ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेको" उक्त सूचनामा जनाइएको छ।

    "तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन अनुरोध गरिन्छ," विज्ञप्तिमा भनिएको छ।

  12. बाढीपहिरो जानुअघि र गइसकेपछि

  13. यूएसजीएस भन्छ, 'तिब्बतमा भूकम्प गएको थिएन'

    अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले बुधवार नेपालको सीमासँग जोडिएको तिब्बती क्षेत्रमा भूकम्प भनेर मापन गरेको घटना वास्तवमा "हिमनदी विस्फोट" का कारण उत्पन्न भएको कम्पन रहेको जनाएको छ।

    उक्त घटनापछि तिब्बतको केरुङ र नेपालको रसुवा जिल्ला हुँदै आएको नदीमा ढुङ्गामाटोसहितको बाढीका कारण ठूलो विनाश निम्तिएको छ।

    यूएसजीएसले हिजो सो क्षेत्रमा म्याग्निट्यूड ४.४को भूकम्प आएको जनाएको थियो।

    "नजिकै रहेका साइस्मिक स्टेशनहरू, लामो अवधिका साइस्मिक तरङ्गहरू र भूपउग्रहबाट प्राप्त तस्बिरहरूको थप विश्लेषणबाट यो भौगर्भिक घटना वास्तवमा हिमनदी विस्फोट र लेदो बगेका कारण उत्पन्न भएको र त्यहाँ भूकम्प नगएको निर्क्योल भएको छ," यूएसजीएसले बिहीवार बिहान भनेको छ।

    नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पनि बुधवार संसद्‌मा बोल्दै तिब्बतमा भूकम्प गएको प्रारम्भिक जानकारी प्राप्त भएको र त्यसको सम्बन्ध रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीसँग भएको हुन सक्ने बताएका थिए।

    वैज्ञानिकहरू उक्त घटना कसरी भयो र ठूलो विनाश निम्तियो भनेर अध्ययन गर्दै छन्।

  14. मृतकको सङ्ख्या ३०० नाघ्यो

    हराएका आफन्तहरूको नाम टिपाउँदै

    तस्बिर स्रोत, RSS

    रसुवाको भोटेकोसी नदीमा बुधवार बिहान अचानक आएको बाढीका कारण मारिनेहरूको सङ्ख्या ३३२ पुगेको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा २९ जना, चितवनमा १२१ जना, गोरखामा २९ जना, तनहुँमा १९ जना, नवलपरासी पूर्वमा ७४ र नवलपरासी पश्‍चिममा १५ जना गरी ३३२ जनाको शव फेला परेको छ।

    राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको सङ्ख्या ९१० पुगेको जनाएको छ।

    प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक र ७२ जना सुरक्षाकर्मी हुन्।

    अहिलेसम्म ३५१ जनालाई प्रभावित स्थानबाट उद्धार गरिएको प्राधिकरणले बताएको छ

  15. ब्रिटिश प्रधानमन्त्रीद्वारा नेपाललाई ५० लाख पाउन्डको सहयोग प्याकेज घोषणा

    बाढीले पुरेको पुल

    तस्बिर स्रोत, Reuters

    ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले बुधवार नेपालमा आएको आकस्मिक बाढीपछि उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन ब्रिटेनले ५० लाख पाउन्ड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    दक्षिण वेल्सको भ्रमणमा रहेका बर्नमले नेपालबाट निकै हृदयविदारक दृश्य आएको टिप्पणी गरे।

    बाढीपछि सम्पर्कविहीन भएका मानिसहरूमध्ये यूकेका नागरिकहरू पनि छन्। नेपाल प्रहरीले उक्त सङ्ख्या ३३ रहेको जनाएको छ।

    "अहिले धेरै ब्रिटिश नागरिकहरू बेपत्ता भएको ठानिएको छ र यो धेरै दुःखद र विनाशकारी परिस्थितिमा हामी उनीहरूका परिवारलाई सकेजति सबै सहयोग उपलब्ध गराउनेछौँ,” उनले भने।

    बर्नमका अनुसार ब्रिटेनले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन उद्धारकर्ताहरू पठाउने प्रस्ताव नेपालसँग गरेको छ।

  16. 'नेपालमा २८८ भारतीय नागरिक सम्पर्कविहीन': भारत सरकार

    रणधीर जयसवाल

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको बाढीपछि सम्पर्कविहीन रहेका भारतीय नागरिकहरूको सङ्ख्या हालसम्म २८८ जना रहेको जनाएको छ।

    यसअघि नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्कविहीन विदेशी पर्यटकहरूमध्ये १७८ जना भारतीय भएको जनाएको थियो।

    बाढीपछि तिब्बतमा झन्डै २०० जना भारतीय नागरिक अलपत्र परेका र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बताएका छन्।

    तिब्बतमा पनि केही भारतीयहरू हराइरहेको हुन सक्ने सङ्केत गर्दै उनले भने, "हामी स्थानीय अधिकारीहरूमार्फत् उनीहरूको खोजी गर्ने यथासम्भव प्रयास गरिरहेका छौँ।”

    नेपालमा सम्पर्कविहीन अधिकांश भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसुवा हुँदै तिब्बततिर जाने क्रममा थिए।

  17. चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न केरुङमा

    चिनियाँ प्रधानमन्त्री ली चियाङ बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि केरुङ आइपुगेको चीनको सरकारी समाचारसंस्था सिन्ह्वा र नेपालस्थित चिनियाँ दूतावासले जनाएका छन्।

    विपद् प्रभावित क्षेत्रको निरीक्षणका लागि वरिष्ठ अधिकारीहरूको नेतृत्व गर्दै प्रधानमन्त्री ली केरुङ पुगेका हुन्।

    उनको नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गर्ने सिन्ह्वाले जनाएको छ।

    काठमाण्डूस्थित चिनियाँ दूतावासले चीनको विदेश मन्त्रालयलाई उद्धृत गर्दै करिब १०० जना चिनियाँ नागरिकहरू नेपाल क्षेत्रमा मात्रै हराइरहेको जनाएको छ।

    विदेश मन्त्रायका प्रवक्तालाई उद्धृत गर्दै दूतावासले नेपाली पक्षसँग थप पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ।

  18. यूकेका विदेशमन्त्रीद्वारा नेपालमा बाढीले निम्त्याएको क्षतिबारे दुख:

    यूकेका विदेशमन्त्री एड मिलिब्यान्डले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरेर बुधवार भोटेकोशी नदीमा गएको बाढीपछि उत्पन्न विपदले पुर्याएको क्षतिप्रति दुख: व्यक्त गरेका छन्।

    परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार यूकेका मन्त्री मिलिब्यान्डले ‘विपद्को कठिन घडीमा नेपाल तथा नेपाली जनताप्रति यूके सरकार र जनताको ऐक्यबद्धता रहेको’ बताका थिए।

    “टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री मिलिब्यान्डले बुधवारको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो,” मन्त्री खनालका सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए।

    यूकेका विदेशमन्त्री मिलिब्यान्डले बाढीबाट उत्पन्न विषम् परिस्थितिमा नेपाललाई सहयोग गर्न यूके सरकार तयार रहेको बताएका पनि मन्त्री खनालको सचिवालयले जनाएको छ।

    मिलिब्यान्डले बाढीपछि सम्पर्कविहीन रहेका यूकेका नागरिकको खोजी तथा उद्धार प्रयासबारे पनि चासो राखेका थिए।

    खनालले नेपालले जारी राखेको खोज तथा उद्धार कार्यबारे जानकारी गराउँदै यूकेको तत्परताका लागि धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

  19. २७ जना विदेशी नागरिककको उद्धार

    उद्धारमा खटिएको सेनाको हेलिकप्टर

    तस्बिर स्रोत, Nepal Army/FB

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म २७ जना विदेशी नागरिकहरूको उद्धार गरिएको जनाएको छ।

    जसमध्ये सबैभन्दा धेरै भारतीय छन्। प्राधिकरणले अमेरिका, कोरिया, इटाली र अन्य देशका नागरिकहरूको उद्धार गरिएको बताएको छ।

    • भारतका ११ जना
    • कोरियाका ४ जना
    • इटलीका २ जना
    • अमेरिकाका २ जना
    • अन्य ८ जना

    नेपाल पर्यटन बोर्डले यसअघि दिएको जानकारीअनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कमा नआएका पर्यटकहरूको सङ्ख्या ६४४ थियो।

    सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन भएको बोर्डका प्रवक्ता सुनील शर्माले बीबीसीलाई बताएका थिए।

    बोर्डका अनुसार ६५ जना अमेरिकी, ३५ जना अस्ट्रेलियाली तथा ३३ जना यूकेका पर्यटक पनि सम्पर्कबाहिर रहेको प्रारम्भिक विवरण थियो।

  20. प्रभावित क्षेत्रको अनुगमनपछि प्रधानमन्त्री काठमाण्डू फर्किए

    बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री वालेन्द्र शाह बालेन

    तस्बिर स्रोत, PM Secretariat

    भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विदुरमा अनुगमन भ्रमणका लागि गएका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' काठमाण्डू फर्किएको उनको सचिवालयले जनाएको छ।

    आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित नुवाकोट गएका शाहले विदुर र त्यसआसपासका बाढीप्रभावित क्षेत्रमा भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको सचिवालयको भनाइ छ।

    सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएको बताइएको छ।

    भिडिओ क्याप्शन सुरु हुँदैछ, नुवाकोट पुगेर प्रधानमन्त्री बालेनले केके भने?