तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, भदौ २२ गते राष्ट्रिय शोक घोषणा, मृतक र सम्पर्कविहीनको सङ्ख्या बढ्यो

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको आज नवौँ दिन हो। सरकारी निकायहरूका अनुसार अहिलेसम्म १,२५० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने अझै ५,००० जनाभन्दा बढी मानिस सम्पर्कविहीन छन्।

सारांश

लाइभ कभरेज

  1. सुरुङभित्र फसेकाहरूलाई नवौँ दिनसम्म पनि किन निकाल्न सकिएन?

    विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र त्यसभित्र रहेका उत्पादन केन्द्र ('पावरहाउस')हरूमा मानिसहरू थुनिएको नौ दिन बितिसक्दा पनि अहिलेसम्म चार जनाभन्दा बढीको जीवित उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

    विभिन्न जलविद्युत् आयोजनाका सुरुङ संरचनाभित्रबाट तीन वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। बिहीवार लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट थप दुई जनाको शव निकालिएको आयोजनाका प्रवर्धकले बताएका छन्।

    कैयौँ दिनको प्रयासबाट पनि जलविद्युत्‌को सुरुङमा फसिरहेको ठानिएका १५० जनाभन्दा धेरै मानिसहरूसम्म उद्धारकर्मी किन पुग्न सकिरहेका छैनन्?

  2. सम्पर्कविहीनको सङ्ख्या ५ हजार नाघ्यो, १,२५९ जनाको मृत्यु

    रसुवा बाढीमा परेर १,२५९ जनाको शव फेला परेको र ५,०८३ जना सम्पर्कविहीन बनेको पछिल्लो विवरणमा सरकारले जनाएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार साँझ ७ बजे जारी गरेको विवरणमा भेटिएका शवमध्ये ९५ जनाको मात्र सनाखत भई बुझिलिएको जनाइएको छ।

    यसबीचमा १२ हजार जनाभन्दा धेरैको उद्धार भएका र ३ हजार आठ सयभन्दा धेरै आश्रय स्थलमा रहेको उक्त विवरणमा जनाइएको छ।

  3. पेट्रोलियम र ग्यास आपूर्तिको वैकल्पिक व्यवस्था

    बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि सो रूटबाट पेट्रोलियम ट्याङ्कर तथा ग्यास बुलेटहरू आउन नसक्ने हुँदा आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको नेपाल आयल निगमले जनाएको छ।

    निगमले काठमाण्डू उपत्यकामा बिक्रीवितरण गर्ने पेट्रोलियम पदार्थ 'बाइरोडो बाटो' (त्रिभुवन राजपथ)बाट भित्र्याइरहेको छ भने एलपी ग्यास ग्यास उद्योगहरूका हकमा हाललाई तराईका उद्योगहरूमा ग्यास सिलिन्डर भरी सोही बाटोबाट ल्याउने व्यवस्था मिलाएको छ।

    बिहीवार मात्र उपत्यकाका लागि विभिन्न ब्र्याण्डका करिब २४,५०० सिलिन्डर उपत्यका ल्याउने व्यवस्था मिलाइएको र शुक्रवारदेखि यो क्रम नियमित एवं थप परिमाणमा ल्याइने निगमले जनाएको छ।

    “उद्धार कार्यको सहजीकरणका लागि निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रहरूमा हाल सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म पेट्रोल १,०५,००० लिटर र डीजल २,०२,००० लिटर उपलब्ध गराइएको तथा माग बमोजिम सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डीजलको बिक्रीवितरणको व्यवस्था मिलाएको” बिहीवार जारी निगमको विज्ञप्तिमा उल्लेख छ।

    प्रभावित क्षेत्रका विभिन्न स्थानका सेल्टरमा रहेका बाढी प्रभावित व्यक्तिहरूका लागि आवश्यक पर्ने एलपी ग्यास निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग सङ्घबाट उपलब्ध गराउने १,२५० थान मध्येबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाण्डूको अनुरोधमा रसुवा र नुवाकोट जिल्लामा ५०० थान सिलिन्डर पठाउने व्यवस्था मिलाएको निगमले जनाएको छ।

  4. चीनद्वारा तिब्बतबाट ११४ नेपालीको उद्धार, नेपाल आइपुगे

    भोटेकोशी नदीमा बाढी आउँदा कामविशेषले तिब्बततर्फ रहेका एक नाबालकसहित ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल प्रवेश गराएको नेपाल प्रहरीले जनाएको छ।

    ती नेपालीहरू नेपालतर्फ प्रवेश गरिरहेको प्रहरीद्वारा बिहीवार सार्वजनिक एउटा भिडिओ फुटेजमा देखिन्छ।

    यसअघि मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले बाढीका कारण चीनतिर अड्किएका नेपालीलाई चीनले तातोपानी पुर्‍याएपछि पूर्वाधार विकास मन्त्रालयले काठमाण्डूमा उपयुक्त व्यवस्था मिलाउन र भूमिव्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घरठेगानासम्म पुर्‍याउन व्यवस्था गर्ने, गराउने निर्णय गरेको थियो।

  5. बाढीले विनाश गरेपछि आफ्ना सामान खोज्न आएकाहरू

    भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा हजारौँ घरहरूमा क्षति पुगेको छ।

    भागेर ज्यान जोगाएका मानिसहरू अहिले बिस्तारै बाढीले पुरेको आफ्नो घर वा भग्नावशेषमा केही उपयोगी सामान भेटिन्छ कि भनेर खोज्न जान थालेका छन्।

    यो भिडिओ हेर्नुहोस्।

  6. त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङको मुख खुलाउने काम 'जारी'

    बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङको मुख खुलाउने काम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्का गरिएको छ।

    नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली पाँच वटा एक्स्कभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका सचिवालयले जानकारी दिएको छ।

    सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूल्ठूला ढुङ्गाहरू छन्।

    “रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ,” सचिवालयले जनाएको छ।

    योसँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्कभेटर तथा मशीनसहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी अवरोध हटाउने कार्य जारी छ।

    माटो तथा लेदोले भरिएको उक्त सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिने बताइएको छ।

  7. परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थाले, धर्म र मनोविज्ञान के भन्छन्?

    काठमाण्डूस्थित पशुपति आर्यघाटमा पनि कुशको प्रतिमा बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गर्नेहरूको सङ्ख्या बुधवारदेखि बढ्न थालेको अधिकारीहरूले बताएका छन्।

    "बुधवार तीन जनाको त्यसरी अन्तिम संस्कार गरिएको हाम्रो अभिलेखले देखाउँछ," पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी सूर्य भाटले बीबीसीसँग भने, "बिहीवार चाहिँ घाटमा त्यसरी अन्तिम संस्कार गर्नेहरूको लस्कर देखियो।"

    अन्य विभिन्न धार्मिक समुदायमा पनि कतिपय सम्पर्कविहीन व्यक्तिको धार्मिक बिदाइ कार्य सुरु भइसकेको सम्बन्धित जानकारहरू बताउँछन्।

    त्यसो त सामाजिक सञ्जालमा कतिपयले बाढीमा परेर पितृकार्य गरिएको घटनामा परिवारले अनावश्यक हतार गरेको वा केही दिन पनि कुर्न नसकेको भन्दै टिप्पणी गर्ने गरेको पाइन्छ।

    तर मानिसहरूले नबुझेर त्यस्ता टिप्पणी गर्ने गरेका जानकारहरूको भनाइ छ।

  8. केरुङमा अलपत्र नेपालीहरू फर्किने क्रम सुरु

    रसुवागढीमा आएको भीषण बाढीपछि तिब्बतको केरुङमा रोकिएका ११४ जना नेपालीहरू बिहीवारबाट नेपाल फर्किन थालेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

    मानसरोवर तीर्थयात्रा र व्यापार व्यवसायका लागि भिसा लगाएर तिब्बत पुगेका अधिकांश नेपालीहरू स्वदेश फर्किसकेको महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए।

    तर अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू अहिले फर्किन लागेका हुन्।

    यसबारे विस्तृत समाचार

  9. भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    नेपाल सरकारले आगामी भदौ २२ गते सोमवारका दिन गत साता भोटेकोशी-त्रिशूली बाढीमा परी ज्यान गुमाउने मानिसहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

    बिहीवार बसेको मन्त्रिपरिषद्‌ बैठकले विनाशकारी बाढीको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।पोखरेलका अनुसार उक्त दिन स्वदेश तथा विदेशमा रहेका नेपाल सरकारका कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

    "भदौ १० गते नेपाल-चीन सिमानामा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरूप उक्त घटना भएको १३औँ दिनको पुण्यतिथिका दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने र उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास तथा नियोगहरूको राष्ट्रिय झण्डा आधा झुकाउने," सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले बताए।

  10. बाढीमा बेपत्ता डडेल्धुराका व्यक्तिको पहिचान गर्न तिनका आफन्तको डीएनए नमुना सङ्कलन गरिने, प्रकाश पार्की, डडेल्धुरा

    बाढीमा बेपत्ता भएका डडेल्धुरा जिल्ला स्थायी ठेगाना भएका व्यक्तिहरूको पहिचानका लागि उनीहरूका नजिकका आफन्तबाट डीएनए नमुना सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बेपत्ता व्यक्तिका नजिकका आफन्तलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ।

    डीएनए परीक्षणका लागि बुवा, आमा, दाजु, भाइ, दिदीबहिनीसहितका रगतका नातेदारबाट नमुना सङ्कलन गरिने प्रहरीले जनाएको छ।

    सम्बन्धित आफन्तले नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको तीन प्रति फोटो लिएर जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सम्पर्क गर्नुपर्ने बताइएको छ।

    रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोपछि डडेल्धुरा स्थायी ठेगाना भएका केही व्यक्ति अझै सम्पर्कविहीन छन्।

    बेपत्ता व्यक्तिको वास्तविक पहिचान खुलाउन डीएनए परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइएको डीएसपी वरूणबहादुर सिंहले जानकारी दिए।

    बाढीपछि सुदूरपश्चिमका १५० जना अझै सम्पर्कविहीन रहेका छन्।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका २०९ जना सम्पर्कविहीन भएका थिए।

    तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने १५० जनाको अवस्था अझै अज्ञात छ।

  11. 'हिमालयन सुनामी': कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालद्वारा ब्रीफिङ

    परराष्ट्रमन्त्री शिशिर खनालले काठमाण्डूस्थित कूटनीतिक समुदायलाई भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीसँग सम्बन्धित विविध विषयबारे आज ‘ब्रीफिङ’ गरेका छन्।

    उक्त ब्रीफिङमा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्क तथा संयुक्त राष्ट्रसङ्घसहितका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मन्त्री खनालले अहिले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताए।

    “यो विनाशकारी बाढीलाई म ‘हिमालयन सुनामी’ भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,” मन्त्री खनालले भने।

    उनका अनुसार सरकारले यो विपद्को कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको छ। त्यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइएको बताए।

    मन्त्री खनालले कूटनीतिक नियोगका प्रतिनिधिहरूबाट आफ्ना नागरिक बेपत्ता भएको विवरण उपलब्ध भएकोमा धन्यवाद दिए। उनले त्यस्तो सूचनाले खोजी, प्रमाणीकरण तथा पहिचान प्रक्रियामा महत्वपूर्ण सहयोग पुग्ने बताए।

    “प्राप्त ऐक्यबद्धता र सहयोग विभिन्न स्वरूपमा आएको छ – उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, स्वास्थ्य तथा फरेन्सिक सहयोग र आर्थिक सहायता। यी प्रत्येक सहयोगले प्रभावित क्षेत्रमा फरक पारिरहेको छ,” मन्त्री खनालले भने।

    ब्रीफिङको अन्त्यमा मन्त्री खनालले विपद्को यस कठिन घडीमा नेपालले छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे। सरकारले उपलब्ध सबै राष्ट्रिय स्रोत परिचालन गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्ने तथा कूटनीतिक समुदायलाई विपद्को अवस्थाबारे नियमित रूपमा जानकारी गराउने बताए।

  12. फरेन्सिक विज्ञसहित तेस्रो खेपको चिनियाँ सहायता नेपाल आइपुग्यो

    रसुवा बाढीपछि चिनियाँ सहायताको तेस्रो खेप बिहीवार नेपाल आइपुगेको नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले बताएका छन्।

    सहायता सामग्रीसँगै १० जना विधिविज्ञानविज्ञहरू काठमाण्डू आएको उनले उल्लेख गरेका छन्।

    चिनियाँ विदेश मन्त्रालयका अनुसार तेस्रो खेपको सहायतामा बेलिब्रिज, शव राख्ने फ्रिज, महामारी फैलिन रोक्ने सामग्रीहरू र आपत्कालीन सञ्चार उपकरणहरू रहेका छन्।

  13. अस्ट्रेलियाले विज्ञ ड्रोन सञ्चालकहरू नेपाल पठाउने

    नेपालमा बाढीपछिको खोज तथा उद्धारमा सहयोग पुर्‍याउन अस्ट्रेलियाले विज्ञ ड्रोन सञ्चालकहरूको टोली पठाउने त्यहाँकी विदेशमन्त्री पेनी वङले जानकारी दिएकी छन्।

    उनका अनुसार १५ सदस्यीय विपद् सहयोग टोलीले नेपालमा काम गर्ने छ।

    “उनीहरूले खोज तथा उद्धारमा सहयोग गर्न अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरेर म्यापिङ तथा थर्मल इमेजिङ (प्राविधिक सेवा) प्रदान गर्ने छन्,” उनले भनिन्।

    “खोज तथा उद्धारमा संलग्नहरूले सामना गरिरहेको परिस्थिति निकै चुनौतीपूर्ण छ।”

    कतिपय स्थानहरूमा पुग्न नै मुस्किल रहेको उनले बताइन्।

    “होटेल कैलास तथा होटल रोयल हिमालयजस्ता अस्ट्रेलियाले पहिचान गरेका क्षेत्रहरूमा खोजी कार्य भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्। दुवै ठाउँमा सेनाले पैदल गएर तथा हेलिकप्टर र ड्रोनको सहयोगमा खोजी कार्य गरिरहेका छन्।”

    यसअघि अस्ट्रेलियाले नेपालमा १९ जना सहयोगकर्मी पठाएको थियो।

    भोटेकोशी बाढीमा परेर अझै ३८ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन छन्।

  14. उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति पठाउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव

    प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी र त्रिशूली बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूको जतिसक्दो चाँडो उद्धार गरिने प्रतिबद्धता व्यक्त गरेको भूतपूर्व ऊर्जामन्त्री कुलमान घिसिङले बताएका छन्।

    घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख हुन्।

    घिसिङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहलाई सिंहदरबारमा आज भेट गरेको थियो।

    राष्ट्रिय समाचार समितिका अनुसार उक्त भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको बताए।

    “सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रधानमन्त्रीको जिज्ञासा थियो,” भेटपछि घिसिङले सञ्चारकर्मीसँग भने।

    आफूहरूले फसेका व्यक्तिको उद्धारका लागि सुरुङ क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति लैजान सुझाव दिएको बताए।

    उनका अनुसार प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचालन गर्ने बताए।

    “प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध साधनस्रोत र बाहिरबाट पनि ल्याउनुपर्ने छ भने पनि त्यसलाई तत्काल परिचालन गरिने विश्वास दिलाउनु भएको छ,” घिसिङले भने।

  15. गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार

    सरकारले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा दिइने जनाएको छ।

    ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि बाढीबाट प्रभावित जिल्लाहरूका १५ वटा स्थानीय तहबाट हवाई उद्धारकार्य गर्न सकिने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो।

    “यदि तपाईँको घरवरपर छरछिमेकमा यस्ता गर्भवती तथा सुत्केरी महिला र नवजातशिशु (२४ घण्टाभित्रको) को स्थानीय तहमा उपचार हुन नसकी निःशुल्क हवाई उद्धार गर्नुपरेमा तुरुन्त सम्पर्क गर्नुहोस्,” मन्त्रालयको सूचनामा उल्लेख छ।

  16. अमेरिकी 'अतिरिक्त सहायता' काठमाण्डू आइपुग्यो

    बिहीवार दुई वटा अमेरिकी सैन्य कार्गो विमानमार्फत्‌ नेपालमा बाढीबाट प्रभावित समुदायका लागि पठाइएको थप सहायता नेपाल आइपुगेको दक्षिण तथा मध्यएशियाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले बताएका छन्।

    “…५,००० विशेष विपद्‌ सहायता सामग्री, ५०० ‘फस्ट एड किट’, स्ट्रेचर र फ्रन्ट-एन्ड लोडर पुर्‍याइएको छ ताकि नेपालको नेतृत्वमा जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस्,” गोरले सामाजिक सञ्जालमा लेखेका छन्।

    “यो सहायता नेपाल सरकारको अनुरोधमा दिइँदै छ र बाढीपछि राहतका लागि यसअघि घोषित ३६ लाख डलर सहायताभन्दा अतिरिक्त हो।“

  17. दिवङ्गत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाखको अतिरिक्त राहत दिइने

    भदौ १० गतेको बाढीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावली बमोजिम उपलब्ध हुने सेवा-सुविधाका अतिरिक्त जनही १० लाख रुपैयाँ राहतस्वरूप दिइने नेपाल प्रहरीले बताएको छ।

    “साथै दिवङ्गत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिने,” निर्णय भएको उसले बताएको छ।

    परिवारबाट इच्छुक एकजनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गरिने तथा नेपाल प्रहरी स्कूलमा सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिले गरेको उल्लेख छ।

    बाढीमा परी अझैसम्म नेपाल प्रहरीका २५ जना सम्पर्कविहीन रहेका छन्।

    नेपाली सेनाका ४५ जना तथा सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यसरी सम्पर्कविहीन बनेकाहरूमा भन्सार कार्यालयका १४ जना, र अध्यागमन कार्यालयका ३ जना छन्।

    राहत, खोज तथा उद्धारकार्यमा २१ हजारभन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन् जसमध्ये ९ हजारभन्दा धेरै नेपाल प्रहरीका छन् भने नेपाली सेनाका झन्डै ८ हजार अनि सशस्त्र प्रहरीका ४ हजारभन्दा धेरै रहेका छन्।

  18. लाङटाङ विद्युत् आयोजनाको सुरुङमा पाइपबाट जाँदा 'शव भेटिए'

    रसुवाको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारकर्मीहरू 'पेनस्टक पाइप'बाट मानिसहरू फसेको ठाउँसम्म पुग्न सफल भएका छन्।

    सुरुङको १५० मिटर भित्रबाट दुई जनाको शव निकालिएको आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले बीबीसी नेपालीलाई जानकारी दिए।

    "हाम्रो प्राविधिक टीम बाइफर्केशन पाइपबाट भित्र पसेर पेनस्टकको पाइपबाट माथि पुगेर त्यहाँ प्वाल पारियो। हामीलाई जहाँ मानिसहरू फसेका छन् भन्ने जानकारी थियो, त्यसमा मान्छे भित्र छिर्ने प्वाल बनायौँ। त्यहाँबाट सेना भित्र पसेर शवहरू निकालिरहेको छ," भट्टराईले भने।

    सुरुङबाट ल्याइएको पानी तीव्र गतिमा पावरहाउससम्म पठाउन प्रयोग गरिने 'पेनस्टक' पाइपको मुखसम्म जानका लागि पावरहाउसभन्दा माथिबाट १५० मिटर लामो सुरुङ बनाइएको थियो।

    आयोजनामा अझैसम्म ४२ जना सम्पर्कविहीन रहेका र तीमध्ये सुरुङभित्र छिरेर पेनस्टकको मुखमा काम गरिरहेका १५ जना हुन सक्ने अनुमान गरिएको थियो।

  19. मन्त्रिपरिषद्को बैठक बस्दै

    आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।

    बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने राष्ट्रिय समाचार समितिले जनाएको छ।