तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मौसमी विपद्बारे पूर्वसूचना 'अब फोन कलमार्फत् पनि आउने'
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेपालमा मौसमी विपद्बारे हालसम्म एसएमएस र टोल फ्री नम्बरमार्फत् पूर्वसूचना दिँदै आइएकोमा यो मनसुनदेखि फोन कलमार्फत् पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्।
फोन कलमार्फत् दिइने पूर्वसूचना तुलनात्मक रूपमा प्रभावकारी हुने अपेक्षा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलजिस्ट विनोद पराजुलीले बताए।
मौसमसम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यससम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने एक विज्ञले सुझाएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालले नगरपालिका र गाउँपालिका प्रमुखहरूको सचिवालयमार्फत् फोन कलबाट पूर्वसूचना दिन सकिए प्रभावकारी हुन सक्ने बीबीसीलाई बताए।
पछिल्ला वर्षहरूमा विपद्सम्बन्धी पूर्वसूचनाले गर्दा खास गरी बाढीका कारण हुने मृत्युका घटनामा न्यूनीकरण हुन थालेको अधिकारीहरूको दाबी छ।
सूचना किन फोनबाट पनि?
जल तथा मौसम विज्ञान विभागस्थित अधिकारीहरूका अनुसार विसं २०७३ देखि मौसमजन्य विपद्बारे नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा एसएमएसमार्फत् पूर्वसूचना दिँदै आइएको छ।
खास गरी देशका ठूला नदी तथा तिनका उपजलाधारहरूमा जलस्तरबारे 'अलर्ट' जारी गर्ने गरिएको अधिकारीहरू बताउँछन्।
"भीषण वर्षा, आकस्मिक बाढी र ठूला हिमताल विस्फोटको हकमा जोखिम क्षेत्रका बासिन्दाहरूलाई हामीले एसएमएस पठाउने गरेका छौँ," वरिष्ठ हाइड्रोलजिस्ट पराजुलीले बीबीसी न्यूज नेपालीसँग भने।
तर एसएमएसमार्फत् जारी गर्ने गरिएको पूर्वसूचना बेलाबखत समयमा पुग्न नसकेको गुनासोबीच अब चाँडै पुग्ने गरी नेपाल टेलिकमसँग यसै साता समझदारी भएको उनी बताउँछन्।
उक्त समझदारीपत्रमा कल सेवासम्बन्धी उल्लेख नगरिए पनि त्यो पनि अभ्यासमा ल्याउन लागिएको पराजुलीले उल्लेख गरे।
"हामीले एसएमएसमार्फत् पूर्वसूचना पठाउँदा धेरैले एसएमएस नहेर्ने, रातिको समयमा धेरैलाई त्यसले बिउँझाउने भएन। त्यसको ठाउँमा कल गर्न सकियो भने कम्तीमा फोन बज्छ, भाइब्रेट हुन्छ। त्यसले अलि प्रभावकारी होला भन्ने हाम्रो विश्वास छ," उनले अगाडि थपे।
"नेपाली टेलिकमसँगगको समझदारीपत्रमा यो विषय नपरे पनि छलफल भएर निर्क्योल भइसकेको विषय हो। त्यसमा यो मनसुनमै हामी काम गर्छौँ। यो नयाँ अभ्यास हुने भयो।"
यद्यपि सम्भावित विपद्बारे पूर्वसूचना दिन जोखिम क्षेत्रका सबै मानिसलाई भने फोन कल नगरिने पराजुलीले स्पष्ट पारे।
"धेरै मानिसलाई एकैपटक कल जाँदा नेटवर्कमा 'कन्जेशन' हुने समस्या हुन सक्छ। त्यस कारण पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, विपद् मामिला हेर्ने स्थानीय अधिकारीहरूलाई अनि रेडक्रसलगायतलाई कल गरिने छ, जसले कल पाएपछि समुदायलाई बिउँझाउन सक्छन्," उनले भने।
फोन कल गर्न लाग्ने खर्च कसले बेहोर्छ?
नेपाल टेलिकम र एनसेलले एक दशकयता सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बारे एसएमएस सेवा दिँदै आएको अधिकारीहरू बताउँछन्।
त्यसबापत जल तथा मौसम विज्ञान विभागको केही खर्च जोगिएको उनीहरू स्वीकार गर्छन्।
कल सेवाबापत लाग्ने खर्च भने विभागले बेहोर्ने वरिष्ठ हाइड्रोलजिस्ट पराजुलीले बताए।
"एक मिनेटभन्दा लामो कल हुँदैन। एउटा कलबापत एक रुपैयाँ हाम्रो खर्च हुने छ," उनले अगाडि थपे।
आउँदा दिनमा विभागको सट्टा अरू कोषमार्फत् त्यो खर्च गराउने गरी गृहकार्य भइरहेको पनि पराजुलीले जानकारी गराए।
उनका अनुसार नेपाल टेलिकमको टोल फ्री नम्बर ११५५ मा कल गर्दा सर्वसाधारणले शुल्क तिर्नुनपरे पनि त्यसको खर्च पनि जल तथा मौसम विज्ञान विभागले नै बेहोर्दै आएको छ।
यो उपाय कति प्रभावकारी होला?
मौसमी विपद्बारे हाल जारी गर्ने गरिएको पूर्वसूचना प्रभावकारी देखिएको अधिकारीहरूको दाबी छ।
उनीहरूका अनुसार त्यस्ता सूचनाका कारण खास गरी मानवीय क्षति न्यूनीकरणमा सघाउ पुगेको देखिन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तथ्याङ्कले त्यो पुष्टि गरेको वरिष्ठ हाइड्रोलजिस्ट पराजुली बताउँछन्।
"बाढीबाट हुने मानवीय क्षति तुलनात्मक रूपमा कम हुँदै गएको छ। बर्सेनि प्राकृतिक विपद्बाट हुने मृत्युको कारणमा पहिलापहिला बाढी पहिलो स्थानमा हुने गरेकोमा अहिले दोस्रो वा तेस्रो स्थानमा हुन थालेको छ," उनले भने।
पश्चिम राप्तीको उदाहरण दिँदै उनले एक दशकअगाडि बाढीबाट बर्सेनि २० जनासम्मको ज्यान जाने गरेकोमा अहिले औसतमा आठ जनाजतिको मृत्यु हुने गरेको जानकारी पराजुलीले दिए।
तर मौसमी विपद्बारे पूर्वसूचना प्रणाली अझै अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको कतिपय विज्ञहरू बताउँछन्।
"प्रविधिलगायत कारणले पछिल्ला वर्षहरूमा हाम्रै मौसममी पूर्वानुमानहरू भरपर्दा हुन थालेका छन्," त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख दीपक अर्यालले बीबीसी न्यूज नेपालीसँग भने।
"तर त्यससम्बन्धी सूचनाहरू सम्प्रेषण गर्ने काम प्रभावकारी हुन सकेको देखिँदैन। त्यसमा ध्यान दिनुपर्यो," उनले सुझाए।
पालिकाका प्रमुख र उपप्रमुखहरू निकै व्यस्त हुने गरेकाले उनीहरूलाई फोन कलमार्फत् पूर्वसूचना दिनु त्यति उपयुक्त हुने उनी देख्दैनन्।
"बरु मेअरहरूका सचिवालयलाई फोन कलमार्फत् त्यस्ता सूचना दिँदा अझ प्रभावकारी हुन सक्ला," अर्यालले भने।
पूर्वसूचना प्रणाली तथा पूर्वानुमानको दिशामा स्थानीय निकायहरूले पनि केही खर्च गरे उपयोगी हुने उनको तर्क छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।