पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लाग्दा भैरहवामा छैन तरखर

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज ७ गतेबाट सुरु हुने भनिएको फ्लाई दुबईको दैनिक अन्तर्राष्ट्रिय उडानपछि उक्त पर्यटकीय सहर व्यापक रूपमा बाहिरी संसारसँग सिधा जोडिने भएको छ।

"उक्त विमान सेवाले दुबईलाई ट्रान्जिट बनाएर विश्वका ३०० भन्दा धेरै गन्तव्यमा उडान गर्ने र ती युरोप, अमेरिका, क्यानडालगायत सबैतिर जोडिने भएकाले त्यसको विशेष अर्थ छ," पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले बीबीसीसँग भने।

यसअघि हिमालय एअरलाइन्सले केही महिना सातामा एक दिन पोखरा-ल्हासा उडान गरे तापनि त्यो लामो समय निरन्तर हुन सकेन। त्यसबाहेक पोखरामा छिटपुट रूपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरू हुँदै आएका थिए।

चीनको छेन्दुबाट समेत सिचुवान एअरलाइन्सका कैयौँ चाटर्ड उडानहरू भएका थिए। भुटानबाट समेत त्यस्ता उडानहरू भए।

देशकै 'पर्यटकीय राजधानी'का रूपमा निकै चर्चा हुने पोखरामा २०७९ साल पुसमा उद्घाटन भएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय अन्तर्राष्ट्रिय उडान नहुँदा विभिन्न सरोकारवालाहरूका साथै स्थानीय व्यवसायीहरूले पनि निराशा व्यक्त गर्दै आएका थिए।

पोखरामा जस्तै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसअघि केही विमान कम्पनीहरूले नियमित उडानहरू गरे तापनि अहिले ती कुनै सञ्चालनमा छैनन्।

विगतमा ती दुवै विमानस्थलमा गरिएका उडानमा 'यात्रु अभाव' नै मुख्य समस्याका रूपमा विमान कम्पनीहरूले औँल्याएको अधिकारीहरू बताउँछन्।

पोखरालाई के फरक पार्छ?

चीनको एक्जिम ब्याङ्कबाट २१.५९६५ करोड अमेरिकी डलर ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिको हो।

तर त्यसको किस्ता भुक्तानी गर्न सकिने गरी आम्दानी गर्न विदेशबाट उडानहरू नहुँदा ब्याज भुक्तानी र प्रतिबद्धता शुल्क तिर्न नै अप्ठ्यारो पर्ने अवस्था रहेको उड्डयन अधिकारीहरूले बताउँदै आएका छन्।

महानिर्देशक जगन्नाथ निरौलाका अनुसार यसरी हुने उडानले पोखरा र आसपासका क्षेत्रलाई गन्तव्य मानेर आउने फराकिलो भेगका पर्यटकको खर्च र समय समेत बचाउने छ।

"नत्र यसअघि हिमालय एअरलाइन्सले सातामा एकपटक उडान गर्दा पनि ल्हासा रुटमा यात्रु नै पाउन सकेन। उसले सबैभन्दा धेरै यात्रु ल्याउँदा पनि त्यो उसको क्षमताको आधाजस्तो मात्र हुन्थ्यो," निरौलाले भने।

"हिमालयले एक वर्षजति उडान गर्दा करिब १३० सीटमध्ये अधिकतम् ६५ मात्र पुर्‍याउन सकेको थियो। अहिले झनै इन्धनमा मूल्यवृद्धि भएको अवस्थामा उसले त्यो रोकेको छ।"

पोखरा र भैरहवाका विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न सरकारले विशेष सहुलियतको व्यवस्था लागु गर्दै आएको छ।

वायुसेवाहरूलाई अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेशनमा पूर्ण छुट दिने र इन्धनको मूल्य पनि कम तोक्ने यसअघि जनाइएको थियो।

"तर उक्त चिनियाँ सहरमा भएको उडानभन्दा फ्लाई दुबईको सम्भवना उच्च छ," निरौला थप्छन्।

यसबीचमा कुनै पनि भारतीय वायुसेवा कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेका छैनन्। यद्यपि त्यहाँबाट भारतका लागि एउटा मेडिकल उद्धार उडान भने हालै भएको छ।

नेपालको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले पोखराबाट भारतका विभिन्न सहरहरूमा नियमित उडान गर्ने इच्छा राखे पनि त्यो कार्यान्वयनका चरणमा पुग्न सकेको देखिँदैन।

तर भारतीय पर्यटकहरूको उल्लेख्य सङ्ख्याको रुचि पोखरा र मुक्तिनाथतर्फ देखिइरहेको अवस्थामा त्यहाँबाट उडान हुने परिस्थिति विशेष हुन सक्ने निरौला थप्छन्: "भारतका सहरहरूसँग पोखरालाई सिधा जोड्न सक्दा यस विमानस्थलको क्षमताले नै नभ्याउने अवस्था हुन्छ।"

भैरहवामा फेरि शून्य अन्तर्राष्ट्रिय उडान

कुनै बेला फ्लाई दुबईले समेत भैरहवाबाट आफ्नो उडान गरेको थियो। पछिल्लो समय त्यो सञ्चालनमा छैन।

भैरहवा विमानस्थलबाट यूएईको फ्लाई दुबईबाहेक कुवेतको जजीरा एयरवेज र थाईल्याण्डको थाई एअर एसिया, कतार एअरवेजले समेत उडान गरेका थिए।

तीमध्येमा सबैभन्दा लामो समय थाई एअर एशियाले हिउँद्‍ उडान गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साह बताउँछन्।

"उसले आउँदो हिउँद्‍मा पनि त्यसलाई निरन्तरता दिन्छ भन्ने हाम्रो अपेक्षा छ। तर उसले अहिले इन्धनको अन्तर्राष्ट्रिय सङ्कटका कारण काठमाण्डूकै उडानबाट पछि हटिरहेको अवस्था पनि छ," उनी भन्छन्।

"त्यसबाहेक यतिखेर अन्य एअरलाइन्सहरू हाम्रो सम्पर्कमा छैनन्।"

यसअघि भैरहवामा उडान गरे तापनि फ्लाई दुबई र कतार एअरवेज स्वेच्छाले त्यहाँ गएका थिएनन्।

काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भार हुँदा त्यहाँको सञ्चालन अवधि साँघुरो पारिएपछि धेरै उडानहरू हुनेमध्येका केहीलाई भैरहवातर्फ मोडिने क्रममा केही त्यहाँ 'कनेक्ट' हुनै पर्ने बाध्यतामा परेका थिए। जसकारण ती त्यहाँ निरन्तर रहेनन्।

कतार एअरवेजले त एक महिना पनि त्यसरी उडान गरेन।

"राम्रो गर्नेमध्येकै थाई एअर एसियाको पनि बिजनेस राम्रो हुन सकेन। उसको एउटा सेक्टर ब्याङ्ककबाट [विहारको] गयाको थियो। त्यहाँबाट बौद्ध सर्किट हुँदै लुम्बिनी आउने पर्यटकलाई लैजान्थ्यो। त्यसमा कोरिया फर्कनेहरू पनि थपिन्थे। तर उसले सिधै नेपाल ल्याउने यात्रु उल्लेख्य थिएनन्," महानिर्देशक साह भन्छन्।

"भैरहवा उत्रने उडानमा छ महिना उडान गर्दा दुई-चार दिन मात्र १०० नाघेका पाइन्थे। नत्र १८० सीट हुने उसको विमानमा धेरैजसो ५० भन्दा कम मानिसहरू पाइन्थे," साह भन्छन्।

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले आफ्ना सीमित विमानका आधारमा काठमाण्डूबाटै पर्याप्त यात्रु भएकाले भैरहवामा रुचि नदेखाएको हुनसक्ने अधिकारीहरूको भनाइ छ।

"बाँकी अन्तर्राष्ट्रिय विमानहरू काठमाण्डूकेन्द्रित ठूला ट्राभल एजेन्टहरूबाट निर्देशित छन्। जो राजधानीको सहजबाट निस्केर नयाँ बजार बनाउने जाँगर देखाइरहेका छैनन्। अन्यथा कतिपय कुरा सुविधाका हिसाबले काठमाण्डूमा भन्दा बढ्ता भैरहवामा छ," महानिर्देशक साह भन्छन्।

"१५-२० मिनेट समय बचत नै पनि यहाँ काठमाण्डूको तुलनामा केही बढ्ता छ। सरकारले प्रोत्साहन स्वरूपमा दिएको छुटबाटै पनि एउटा न्यारोबडी जहाज अवतरण गर्दा कम्तीमा १० लाख रुपैयाँ बचत हुन्छ।"

उनले भैरहवामा भारतका विभिन्न सहरबाट नियमितजसो चार्टर्ड उडानहरू भइरहेको उल्लेख गर्दै त्यसमा बाँकी कुराहरू मिल्दा प्राविधिक रूपमा जटिलताहरू नभएको बताउँछन्।

महानिर्देशक श्याम किशोर साह थप्छन्: "नत्र भैरहवा वा पोखराकै लागि दिगो हुने भनेको भारतबाट हुने उडानहरू नै हुन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।