अमेरिकी सेना होर्मुजमा प्रवेश गरे आक्रमण गर्ने इरानको धम्की

पढ्ने समय: ५ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'स्ट्रेट अफ होर्मुज'मा फसेका पानीजहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू उक्त जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत् स्थानीय समयानुसार सोमवार बिहानदेखि अमेरिकी सेनाले "मानवीय" आधारमा फसेका पानीजहाजहरूलाई बाहिर निकाल्न थाल्ने घोषणा गरेका थिए। उनका अनुसार धेरै पानीजहाजमा खाद्यपदार्थ सकिँदै गएको छ।

तर इरानको सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने "जुनसुकै विदेशी सशस्त्र बल विशेष गरी आक्रामक अमेरिकी सेनालाई" हमला गर्ने जनाएको छ।

इरानको भनाइले फेरि सैन्य भिडन्त हुन सक्ने सङ्केत देखाएको छ। अमेरिकी जलसेना उक्त क्षेत्रमा प्रवेश गर्‍यो भने केही सातादेखि जारी युद्धविराम सङ्कटमा पर्न सक्ने बीबीसीकी मध्यपूर्व संवाददाता योलान्ड नेलले जनाएकी छन्।

यद्यपि केही विवरणहरूका अनुसार अमेरिकी जलसेनाले सुरक्षा प्रदान गरेर व्यापारिक पानीजहाजहरूको आवागमनमा सघाउन लागेको नभई तिनलाई सुरक्षित मार्ग प्रयोग गर्न तथा इरानी हमलाबाट जोगिने गरी नजिकै रहन सुझाव दिन लागेको हो।

अमेरिकी युद्धपोत रोकेको इरानी दाबी

इरानले अमेरिकी जलसेनाको एउटा युद्धपोतलाई होर्मुज जलमार्गमा प्रवेश गर्नबाट रोकिएको दाबी गरेको छ।

"इरानी जलसेनाको दृढ र छरितो चेतावनीका कारण अमेरिकी र यहुदी शत्रुका युद्धपोतहरूको होर्मुज जलमार्गमा प्रवेश रोकिएको छ," इरानी सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा सेनाको जनसम्पर्क विभागलाई उद्धृत गरिएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुजमा इरानी पक्षले नियन्त्रणमा लिएको "नयाँ क्षेत्र" देखिने गरी नक्साहरू सार्वजनिक गरेको छ।

त्यसबारे अमेरिकी प्रतिक्रिया आइसकेको छैन।

यसअघि इरानका एक वरिष्ठ सांसद तथा आईआरजीका भूतपूर्व कमान्डर इब्राहिम अजिजीले अमेरिकाले गर्ने जस्तोसुकै हस्तक्षेपलाई "युद्धविरामको उल्लङ्घन" मानिने जनाएका थिए।

फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरेलले इरानमाथि आक्रमण थालेपछि होर्मुज जलमार्गमा २,००० वटा जहाजमा झन्डै २०,००० यात्रुहरू फसेको संयुक्त राष्ट्रसङ्घीय निकाय आईओएमले जनाएको छ।

ट्रम्प के भन्छन्

ट्रम्पले आइतवार सामाजिक सञ्जालमा लेख्दै होर्मुजबाट पानीजहाजहरूलाई बाहिर निकाल्न सघाउने घोषणा गरे।

"इरान, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाको भलाइका लागि हामीले यी देशहरूलाई हामी तिनका पानीजहाजहरूलाई ती प्रतिबन्धित जलमार्गहरूबाट सुरक्षित रूपमा बाहिर निकाल्छौँ भनेका छौँ," उनले लेखेका छन्।

यद्यपि उनले ती देश कुन हुन् भनेर स्पष्ट पारेका छैनन्।

खाडीबाट निर्यात हुने तेल तथा ग्यास एवं मालवाहक पानीजहाजका लागि होर्मुज जलमार्ग निकै महत्त्वपूर्ण छ। तर इरान युद्ध सुरु भएपछि इरानले गरेका हमलाहरू र त्यसको जबाफ दिन अमेरिकाले लगाएको नाकाबन्दीका कारण उक्त जलमार्ग अहिले लगभग ठप्प छ।

अमेरिकाको नयाँ अभियानलाई "प्रोजेक्ट फ्रीडम" नामकरण गर्दै ट्रम्पले त्यसमाथि गरिने हस्तक्षेपको प्रतिकार गर्ने जनाएका छन्।

अमेरिकी सेनाले यो अभियानमा १५,००० सैनिक, १०० वटा विमान र लक्ष्यभेदन गर्न सक्ने निर्देशित क्षेप्यास्त्रहरू प्रहार गर्न मिल्ने युद्धपोतहरू प्रयोग गरिने जनाएको छ।

इरान के भन्छ

ट्रम्पको घोषणाबारे इरानको विदेश मन्त्रालयले प्रतिक्रिया व्यक्त गरेको छ।

अर्धसरकारी समाचारसंस्था मेहरमा प्रकाशित विज्ञप्तिमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान स्ट्रेट अफ होर्मुजको "अभिभावक र संरक्षक" भएको बताए।

"पानीजहाज र शिपिङ कम्पनीहरूलाई सुरक्षा सुनिश्चित गर्न इस्लामिक गणतन्त्र इरानका सक्षम निकायहरूसँग समन्वय गर्न आवश्यक हुन्छ भन्ने थाहा छ," उनी भन्छन्।

नियमकानुन पालना गर्ने देशहरूले अमेरिकाका "अवैधानिक क्रियाकलापहरू" मान्नुपर्ने कुनै कारण नभएको उनको तर्क छ।

त्यसअघि इरानको केन्द्रीय कमान्डका प्रमुखले होर्मुज जलमार्गमा प्रवेश गर्न खोज्ने "जुनसुकै विदेशी सशस्त्र फौज"माथि जाइ लाग्ने घोषणा गरेको थियो।

वार्ता के हुँदै छ

ट्रम्पले ट्रूथ सोशलको उक्त पोस्टमा इरानसँग "निकै सकारात्मक छलफलहरू" भइरहेका र "तिनबाट सबैका लागि निकै सकारात्मक" परिणाम आउन सक्ने प्रसङ्ग पनि लेखेका छन्।

ट्रम्पले इरानले तयार पारेको र अमेरिकालाई पठाएको चौधबुँदे योजनालाई इङ्गित गर्दै टिप्पणी गरेका हुन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले उक्त योजनाबारे वाशिङ्टनबाट जबाफको समीक्षा गर्दै छ। उक्त जबाफ पाकिस्तानमार्फत् पठाइएको बताइएको छ।

पाकिस्तानले इरान र अमेरिकाबीच मध्यस्थता गर्दै आएको छ।

पाकिस्तानका अनुसार इरानले अमेरिकालाई इरानी सीमानजिकबाट आफ्ना सैनिकहरू हटाउन र इरानी बन्दरगाहहरूमाथि अमेरिकी सेनाले लगाएको नाकाबन्दी हटाउन एवम् लेबननमा इजरेली आक्रमण रोक्न भनेको छ।

पाकिस्तानले इरान र अमेरिकालाई ३० दिनभित्र एउटा सहमति गर्न आफूले आग्रह गरेको जनाएको छ।

अमेरिकाले इरानलाई जबाफ दिएको विषयको आधिकारिक पुष्टि गरिसकेको छैन। तर इजरेलको कान न्यूजका अनुसार ट्रम्पले एउटा टेलिफोन अन्तर्वार्तामा उक्त योजना आफ्ना लागि अस्वीकार्य भएको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।