अमेरिका र इरानबीच सहमतिको घोषणा, होर्मुज जलमार्ग 'खुल्ने'

Published
पढ्ने समय: २ मिनेट

अमेरिका र इरानले आफूहरूबीच जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको घोषणा गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताएका छन्। उनका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ।

इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्।

शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रवार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने छ।

सम्झौतामा समावेश भएका विषयहरूबारे अझै स्पष्ट हुन बाँकी छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि "तेलको आपूर्ति पुनः सुरु हुने" बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने पनि बताएका छन्।

युद्ध अन्त्यका लागि सहमति भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ।

इरानका उपविदेशमन्त्रीले इरानी सरकारी सञ्चार माध्यमसँग बताए अनुसार सम्झौताको प्रारूपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधिमण्डल आइतवार तेहरान पुगेको थियो।

उनका अनुसार करिब १४-१५ घण्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारूप टुङ्गोमा पुगेको थियो।

अन्तिम सम्झौताका लागि ६० दिन भित्रमा वार्ता हुने तय भएको उनले बताएका छन्।

इरानी सञ्चारमाध्यमहरूले अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र अन्त्य गरिने सहमति भएको जनाएका छन्।

ट्रम्प के भन्छन्

इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकी सेनाले इरानका बन्दरगाहहरू पनि बन्द गर्दै आएको छ।

सम्झौतासँगै होर्मुज जलमार्ग पनि खुला हुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।

अमेरिकी राष्ट्रपतिले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै होर्मुज जलमार्गमा "कहिल्यै कुनै शुल्क नलाग्ने गरी" इरानसँग सम्झौता गरिने बताएका छन्।

टेलिफोन अन्तर्वार्तामा उनले परमाणु सम्झौता गर्न इरान असफल भए आक्रमण पुनः सुरु हुन सक्ने समेत बताए।

अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्‍यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो।

सहमतिका समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको विवरण आएका छन्।

अमेरिका र इरानबीच गत एप्रिलमा दुई साताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।