तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भैरहवा हवाई प्रवेशबिन्दु नेपालका लागि किन महत्त्वपूर्ण, अब कसरी कार्यान्वयन होला
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को भारत भ्रमणको एउटा मुख्य उपलब्धि मानिएको भारतले अन्तर्राष्ट्रिय विमानलाई भैरहवा हुँदै नेपाल प्रवेश गर्न नयाँ हवाईमार्ग दिने सहमति कार्यान्वयनप्रति धेरैको चासो छ।
नेपाल सरकारका अवकाशप्राप्त अधिकारीहरू उक्त हवाई प्रवेशबिन्दुलाई दुईतर्फी बनाउन विगतमा द्विपक्षीय प्राविधिक तयारी धेरै अगाडि बढिसकेको बताउँछन्।
त्यसैले भारतले चाहेमा ती प्राविधिक सहमतिमा टेकेर उक्त हवाईमार्ग तत्काल सञ्चालन गर्न सकिने उनीहरूको भनाइ छ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल र भारतले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा हाल एकतर्फी रहेको काठमाण्डू-भैरहवा-लखनऊ हवाईमार्ग (ब्राभो-३४५) लाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ।
वक्तव्यमा "त्यससम्बन्धी कार्यविधि टुङ्गो लगाउन तथा नागरिक उड्डयनसम्बन्धी हाल छलफलको क्रममा रहेका दुवै पक्षका अन्य प्रस्तावहरू सम्बोधन गर्न प्राविधिक परामर्श गरिने" भनिएको छ।
आठ वर्षअघि लागेको टुङ्गो
आठ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको अन्त्यमा जारी दुई देशको संयुक्त वक्तव्यमा पनि हवाई प्रवेशमार्गबारे उल्लेख थियो।
सन् २०१८ को मे १२ तारिखमा प्रकाशित संयुक्त वक्तव्यमा "दुवै देशका प्रधानमन्त्रीले नेपालका निम्ति थप हवाई प्रवेशमार्गहरूबारे सम्बन्धित टोलीहरूबीच यथाशीघ्र प्राविधिक छलफल गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको" जनाइएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तात्कालिक उच्च पदाधिधिकारीहरू त्यसपछि दुवै देशका प्राविधिक समूहले धेरै काम गरेको बताउँछन्।
उनीहरूका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले दुवै देशका निकायलाई स्वीकृति दिएर नियमानुसारको २८ दिनको सूचना प्रकाशित गर्न भनेको थियो।
क्यानको एअर ट्राफिक म्यानेज्मन्टका तात्कालिक निर्देशक दीपक बरालका भनाइमा धेरै चरणको कुराकानीपछि सन् २०१९ सम्म करिब अन्तिम टुङ्गो लागेको थियो।
"कार्यविधि आआफ्नो एरोनटिकल इन्फर्मेशन पब्लिकेशन (एआईपी) मा प्रकाशित गर्ने, हवाईमार्ग दुईतर्फी बनाउने सहमति भएर पत्र नै आदानप्रदान भएको छ," उनी सम्झिन्छन्, "म अवकाश भएँ, त्यसपछि लामो समयसम्म कुराकानी भएन भन्ने सुनेको थिएँ।"
उनका अनुसार त्यो प्रकाशित भएको भए तत्काल कार्यान्वयन हुने थियो।
क्यानका एक पूर्वमहानिर्देशकले एआईपीमा प्रकाशित गर्ने सूचनाको बेहोरा भारतलाई पठाएपछि त्यो रोकिएको बताउँछन्।
भैरहवा विमानस्थलको इस्ट्रूमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) को प्रसारण (ट्रान्समिशन) भारतीय हवाई क्षेत्रमा प्रवेश गर्ने भन्दै भारतीय अधिकारीहरूले थप अध्ययन गर्ने भन्दै पर्खिन भनेको नाम उल्लेख गर्न नचाहने ती पूर्वमहानिर्देशकले बताए।
नयाँ आशाको आधार के?
भारत र नेपालमा भएका छलफलमा नेपाली टोलीको नेतृत्व गरेका क्यानका पूर्वनिर्देशक दीपक बरालले प्राविधिक विषय नखुलाएर भारतीय पक्षले गर्न नसकिने वा सम्भव नभएको जबाफ दिने गरेको बताउँछन्।
"त्यसैले मैले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कर्मचारीको तहबाट सम्भव देखिएन भनेर मैले ब्रीफ पनि गरेको थिएँ," उनले सुनाए।
क्यान र नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू हवाई प्रवेशमार्गबारे कुराकानी गर्न तयार भएनन्।
त्यसलाई लामो समयदेखि अघि बढ्न नसकेको र संवेदनशील विषय भन्दै कुनै प्रतिक्रिया दिन उचित नहुने एक अधिकारीले बताए।
मुख्य रूपमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सिमरा प्रवेशबिन्दु "अपायक पर्ने" अधिकारीहरूले बताउने गरेका छन्।
उनीहरूका अनुसार उडानको समय र खर्च बचत हुने हुँदा भैरहवाबाट प्रवेशबिन्दु नेपालको निम्ति महत्त्वपूर्ण छ।
यस पटक दुई देशका प्रधानमन्त्री स्तरमा हवाईमार्गबारे स्पष्ट उल्लेख गरेरै तयारी गर्ने भनिएकाले नेपालले नयाँ हवाई प्रवेशबिन्दु पाउने कतिपयको विश्वास देखिन्छ।
"यो असाध्यै राम्रो सहमति हो तर नेपाल प्रवेश गर्दा जहाज कति उचाइबाट ओर्लिन पाउँछ र गन्तव्य के के हुने भन्ने विषयहरू थप स्पष्ट हुनुपर्छ," क्यानका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री भन्छन्, "मलाई लाग्छ दुई प्रधानमन्त्रीको तहमै कुरा भएकाले यस पटक कार्यान्वयन हुन्छ।"
'पुरानो अध्ययन र सहमतिमा टेक्न सकिने'
दुई देशबीचको पछिल्लो सहमतिअनुसार नयाँ प्रवेशबिन्दु कार्यान्ववयनमा ल्याउन प्राविधिक छलफल गर्नुपर्ने हुन्छ।
क्यानका एक पूर्वमहानिर्देशकका अनुसार अहिले नेपालले स्याटलाइटमा आधारित 'रिक्वायर्ड न्याभिगेशन पर्फरमन्स' (आरएनपी) मा भइसकेकाले भारतीय हवाईमार्गमा आईएलएसको सिग्नल प्रवेश गर्न विवाद पनि अन्त्य भइसकेको छ।
पूर्वमहानिर्देशक क्षेत्रीका भनाइमा पुराना अध्ययन र अग्रसरता जेजति भएका थिए त्यसमा टेकेर नयाँ प्रवेशबिन्दु चाँडै कार्यान्वयन गर्न सकिन्छ तर त्यसको निम्ति राजनीतिक तहको तदारुकता आवश्यक हुन्छ।
"मलाई त्यस बेलाका अध्ययन र तयारीका दस्ताबेजहरू के कति छन् भन्ने मलाई जानकारी छैन," पूर्वनिर्देशक बराल भन्छन्, "दुईतर्फी बनाउने भन्दैमा हुँदैन, जहाज कुन उचाइबाट नेपाल प्रवेश गर्ने भन्नेमा निर्भर हुन्छ।"
उनका अनुसार ती बसै विषयमा त्यस बेला टुङ्गो लगाइएको थियो।
"अहिले मलाई धेरै कुरा त सम्झना छैन तर भैरहवा विमानस्थल सिमानानजिकै भएकाले अप्रोच कन्ट्रोल सर्भिस पनि भारतबाट दिलाउन सकिए भैरहवा अवतरण गर्ने विमानलाई सजिलो हुन्छ भन्ने हाम्रो प्रयास थियो," उनले भने।
पुरानो अध्ययन र सहमतिलाई आधार नबनाएर नयाँ अध्ययन गरेर अघि बढ्दा सुरक्षासम्बन्धी समीक्षा लगायतका विषयदेखि सूचना जारी गर्ने चरणसम्म केही महिना लाग्न सक्ने जानकारहरू बताउँछन्।
उक्त हवाईमार्ग अपेक्षित रूपमा सञ्चालनमा आएमा भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढ्ने र एक्लो सिमरा प्रवेश मार्गका कारण हुने गरेको हवाई ट्राफिक जाम र उडानतालिका प्रभावित हुने गरी आकाशमै विमान 'होल्ड' गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अधिकारीहरूको आकलन पाइन्छ।
कतिपयले भैरहवा र पोखरा विमानस्थल निर्माणमा चिनियाँ पक्षको संलग्नताका कारण ती भूराजनीतिक प्रभावको सिकार बनेको टिप्पणी गर्ने गरेको पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।