तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिल्लीमा अनशनरत सोनाम वाङ्चुकलाई प्रहरीले अस्पताल पुर्यायो
- Author, गीता पाण्डे
- Role, बीबीसी संवाददाता, दिल्ली
- Published
- पढ्ने समय: ३ मिनेट
भारतको राजधानी दिल्लीमा अनशन बस्दै आएका सामाजिक अभियानकर्मी सोनाम वाङ्चुकलाई शनिवार सखारै अस्पताल पुर्याइएको प्रहरीले पुष्टि गरेको छ।
विगत २० दिनदेखि दिल्लीस्थित जन्तर मन्तरमा आमरण अनशनमा रहेका ५९ वर्षीय वाङ्चुकलाई जबरजस्ती सफदरजङ्ग अस्पताल पुर्याइएको हो। वाङ्चुककी पत्नी गीताञ्जलिले आफू अस्पतालमै रहेको बताएकी छन्।
चिकित्सकहरूले वाङ्चुकको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ। नीट परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध उनको आमरण अनशन शनिवार २१औँ दिनमा प्रवेश गरेको छ।
जन्तर मन्तरमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको विवरणमा जनाइएको छ।
कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
"दिल्ली प्रहरीले ममाथि कुटपिट गरेको छ र मलाई नियन्त्रणमा लिएको छ," दीपकेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
किन अस्पताल लगियो?
कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले अभिजित दीपकेलाई उनी बसेको स्थानबाट नियन्त्रणमा लिएको भनी सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
"सोनाम वाङ्चुकलाई विरोध प्रदर्शन स्थलबाट हटाइँदै छ। विद्यार्थीहरूमाथि लाठी चार्ज गरिँदै छ भनेर मानिसहरूले मलाई बताएका छन्," प्रवक्ता दासले लेखेका छन्।
सो विषयमा एक्समार्फत् जानकारी दिँदै दिल्ली प्रहरीले भनेको छः "दिल्ली उच्च अदालतको आदेश र विशेषज्ञ चिकित्सकहरूको सल्लाहबमोजिम स्वास्थ्य अवस्था बिग्रँदै गएकाले सोनाम वाङ्चुकलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको छ।"
"उच्च अदालतको आदेशको पालना गर्ने क्रममा प्रदर्शनकारीहरूले अवरोध सिर्जना गर्ने प्रयास गर्दा केही समय अवस्था अलि अस्तव्यस्त बन्यो। तर प्रहरीले उच्च संयम अपनायो र सबै प्रक्रिया सुरक्षित रूपमा पूरा गर्यो। हामी जन्तर मन्तरमा उपस्थित प्रदर्शनकारीहरूलाई उक्त स्थान शान्तिपूर्ण रूपमा र अविलम्ब खाली गर्न आग्रह गर्छौँ," प्रहरीले अगाडि भनेको छ।
अदालतको आदेश के?
दिल्ली उच्च अदालतले सोनाम वाङ्चुकको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई निर्देशन दिएको थियो। उक्त विरोध प्रदर्शनमा अदालतले हस्तक्षेप गरेको यो पहिलो पटक थियो।
अदालतको निर्देशनको अर्थ वाङ्चुकको अवस्था बिग्रिएमा उनलाई अस्पताल लैजान सकिने भन्ने थियो। आमरण अनशनका क्रममा वाङ्चुकको नौ किलोभन्दा बढी तौल घटिसकेको बताइएको छ।
अभियानकर्मी वाङ्चुकको अवस्था गम्भीर हुनुभन्दा पहिले उनलाई जबरजस्ती खुवाउन माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतका दुई न्यायाधीशको इजलासले चिकित्सा परामर्शका आधारमा आवश्यक कदम चाल्न अधिकारीहरूलाई निर्देशन दिएको थियो।
अदालतको उक्त आदेश जुलाई २० का लागि सीजेपीको प्रस्तावित प्रदर्शनभन्दा केही दिनअघि मात्र आएको हो। सीजेपीले अनशन स्थलदेखि भारतीय संसद् भवनसम्म प्रदर्शन गर्न आह्वान गरेको हो।
प्रस्तावित विरोध प्रदर्शनको उद्देश्य शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा सुधारसम्बन्धी मागलाई अझ सशक्त बनाउनु रहेको सीजेपीको तर्क छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।