कङ्गोमा फैलिएको इबोला 'निकै चिन्ताजनक' रहेको चेतावनी

तस्बिर स्रोत, Anadolu via Getty Images
- Author, एमेरी माकुमेनो
- Role, बीबीसी अफ्रिका बुनिया, पूर्वी डीआर कङ्गो
- Author, जरोसलाभ लुकिभ
- Published
- पढ्ने समय: ४ मिनेट
प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गो मा तीव्र गतिमा फैलिएको इबोलाले "निकै चिन्ताजनक" अवस्था सिर्जना गरेको चिकित्सासम्बन्धी परोपकारी संस्था मेड्शा स फ्रन्टिअर्स (एमएसएफ) ले चेतावनी दिएको छ।
उक्त प्रकोप घोषणा भएको दुई सातापछि बोल्दै एमएसएफका उपनिर्देशक डा. एलन गोन्सालेसले यति चाँडै "यति धेरै घटना" पहिले कहिल्यै रेकर्ड नगरिएको बताए।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एड्हानम गेयब्रेयसस भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कङ्गोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला उनको उक्त टिप्पणी आएको हो।
कङ्गोमा यतिखेर १ हजारभन्दा धेरै इबोलाका शङ्कास्पद घटना देखा परेका छन् भनेमा कम्तीमा २४६ जनाको मृत्यु भएको छ।
छिमेकी देश युगान्डाले समेत नौ वटा घटना पुष्टि भएका र एक जनाको मृत्यु भएको जनाएको छ।
"इटुरी प्रान्तमा इबोला रोगको प्रकोप घोषणा भएको दुई हप्तापछिको अवस्था निकै चिन्ताजनक छ," गोन्सालेसले शनिवार एक विज्ञप्तिमा भने।
"इबोला प्रकोप घोषणा भएको यति चाँडै नै यति धेरै घटनाहरू पहिले कहिल्यै रेकर्ड गरिएका थिएनन्," उनले भने।
चेतावनी
गोन्सालेसले प्रभावित क्षेत्रमा खटिएका आफ्ना टोलीहरूले यस "महामारीको द्रुत फैलावटलाई अझै नियन्त्रण गर्न नसकिरहेको देखेको" बताए।
"आजको वास्तविकता भनेको कसैलाई पनि यस प्रकोपको वास्तविक मात्रा र गम्भीरता थाहा नहुनु हो। दैनिक नयाँ शङ्कास्पद घटनाहरू आइरहेका छन्। तर सयौँ नमुनाहरू परीक्षण नगरिएका पनि छन्।"
गोन्सालेसले सिमाना र विमानस्थल बन्दसहितका "मुख्य अवरोध"का कारण नियन्त्रणका प्रयास र मानवीय सहायता वितरणमा ढिलाइ भइरहेको बताए।

तस्बिर स्रोत, AFP via Getty Images
डब्ल्यूएचओले कङ्गोमा जारी द्वन्द्वले पनि इबोला प्रकोपको प्रतिकार्यमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ।
शनिवार इटुरीको प्रान्तीय राजधानी बुनिया पुगेपछि टेड्रोसले आफू र उनको टोली डीआर कङ्गोमा "प्रतिकार्यको कसरी चलिरहेको छ र सहायताका चुनौतीहरू के कस्ता छन् भनेर हेर्न आएको" बताए।
उनले प्रकोपको केन्द्रमा रहेका समुदायहरूलाई उक्त रोगसँग लड्न ठूलो भूमिका निर्वाह गर्न आग्रह गरे।
जस क्रममा डब्ल्यूएचओ प्रमुखले प्रभावित समुदायका मानिसहरूले "समस्याहरू राम्रोसँग बुझ्ने र उनीहरूलाई समाधान पनि थाहा हुने" बताए।
टेड्रोसले मृतकहरूको अन्तिम संस्कारमा उनीहरूप्रति सम्मान प्रकट गर्नु कति महत्त्वपूर्ण छ भन्ने आफूले बुझे पनि अहिले त्यो निकै खतरनाक रहेको चेतावनी समेत दिए।
"इबोलाबाट मृत्यु भएकाहरूको शव छुनेजस्ता केही अभ्यासहरूले भाइरस अझ फैलिन सक्छ। आफन्त गुमाएकाहरूका लागि शोक मनाउँदा हामीले अरूलाई पनि गुमाउन नपरोस् र शोकको चक्रमा नपरियोस् भन्ने सुनिश्चित गर्न सक्दो सबै गर्नुपर्छ," उनले भने।
प्रारम्भिक चरणको सङ्क्रमणका क्रममा परम्परागत सामुदायिक अन्तिम संस्कार महामारी फैलने अर्को माध्यमका रूपमा पाइने गरेको छ।
जहाँ स्थानीय समुदायका अधिकांश व्यक्तिले मृतकको शरीर छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन्।
इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै सङ्क्रामक हुन्छ।
नियन्त्रण प्रयास

तस्बिर स्रोत, Getty Images
बुनिया सहरमा दैनिकी धेरैजसो उस्तै देखिन्छ जहाँ मानिसहरूले घुमफिर, व्यापार र आफ्ना दैनिक गतिविधिहरू जारी राखेका छन्।
उक्त सहरको विमानस्थलमा यात्रुहरूलाई हात धुने ठाउँहरू देखाइन्छ जहाँ उनीहरू साबुन पानीले हात पखाल्छन्।
उक्त विमानस्थलका केही भागमा जनस्वास्थ्यका सूचनाहरू देखाइएका छन्।
रेडियो र टेलिभिजनमा पनि जानकारीमूलक सामग्री प्रसारण भइरहेका छन्। ती सन्देशहरू स्थानीय भाषाका साथै डीआर कङ्गोको आधिकारिक भाषा फ्रेन्चमा पनि छन्।
डब्ल्यूएचओ प्रमुखको पहिलो गन्तव्य बुनियास्थित न्याश्नल इन्स्टिट्यूट फर बायोमेडिकल रिसर्च ल्याबोरेटरी थियो जहाँ सन्दिग्ध इबोला बिरामीहरूको नमुनाहरू परीक्षण गर्ने गरिन्छ।
स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार अब उक्त केन्द्र २४ घण्टाभित्र नतिजा दिन सक्षम छ।
त्यसले गर्दा डाक्टरहरूलाई सङ्क्रमण पहिचान गर्न र उपचार सुरु गर्न सघाउनेछ।
यसअघि नमुनाहरू १,५०० किलोमिटरभन्दा परको डीआर कङ्गोको राजधानी किन्शासामा पठाइनुपर्थ्यो।
जसका कारण स्वास्थ्यकर्मीहरूले ज्यान गुमाउन सक्ने र भाइरस अझ फैलिन सक्ने जोखिम रहन्थ्यो।
यो कति खतरनाक प्रकोप हो?

तस्बिर स्रोत, Getty Images
हालको प्रकोप बुन्डीबुग्यो नाम इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ जसको कुनै प्रमाणित खोप छैन। यसका सङ्क्रमितमध्ये लगभग एक तिहाइको मृत्यु हुने गर्छ।
इबोला भाइरसबाट सामान्यतः जनावरहरू, धेरैजसो फ्रुट ब्याट, सङ्क्रमित हुने गर्छन्। तर कहिलेकाहीँ मानिसहरूले सङ्क्रमित जनावरको मासु खाँदा वा तिनको नजिक हुँदा मानिसमा त्यसको सङ्क्रमण सर्न सक्छ।
इबोला सङ्क्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थबाट सर्छ। खास गरी रगत, बान्ता, पखाला, र्याल, पिसाब, वीर्य र पसिनामार्फत फैलिन्छ।
यो सुई, ओछ्यान वा लुगाजस्ता सङ्क्रमित वस्तुहरू छोएर पनि सर्छ।
यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुन्छ।
यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसै कसैलाई आन्तरिक र बाहिरी रक्तस्राव पनि हुन्छ।
अलग्गै घटनाक्रममा शनिवार ब्रजिलका स्वास्थ्य अधिकारीहरूले आफूहरूले साओ पाउलो राज्यमा एक सन्दिग्ध इबोला घटनाबारे जाँचबुझ गरिरहेको जनाएका छन्।
त्यहाँका सञ्चारमाध्यमहरूले जनाए अनुसार हालै डीआर कङ्गोबाट फर्केका एक जना ३७ वर्षीय पुरुष यतिखेर त्यहाँ आइसोलेसनमा छन्।
यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















