अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको मतगणना बारेको माग सर्वोच्च अदालतद्वारा अस्वीकार, अरू के हुँदै छ?

ट्रम्प
Published
पढ्ने समय: ३ मिनेट

अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियामा दर्ता भएका २० हजारभन्दा बढी मतदाताहरूका हुलाकमार्फत् प्राप्त मत पत्रहरूको गणना रोक्न ट्रम्प प्रशासनले दिएको निवेदनलाई अस्वीकार गरेको छ।

सरकारले ती मतदाताहरू अमेरिकी नागरिक नभएको दाबी गरे पनि क्यालिफोर्नियाले यति ढिलो अवस्थामा हस्तक्षेप गर्दा अस्तव्यस्तता निम्तिने भनेको थियो।

अन्यत्र लाखौँ अमेरिकीहरूले त्यसरी मतदान गरिसकेका छन्। जोर्जियामा त मध्यावधि निर्वाचनसम्बन्धी नयाँ कीर्तिमान नै कायम हुने क्रममा कुल दर्ता भएका मतदाताहरूमध्ये एक तिहाइले आफ्नो मत खसालिसकेका छन्।

यसैबीच एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनले तयार पारेका सूचीहरू त्रुटिपूर्ण रहेको फैसला सुनाएका छन्।

न्यायाधीश जेम्स बोआसबर्गले नागरिकता प्रमाणीकरणका लागि कुन प्रक्रिया अपनाउने भन्ने निर्णय गर्ने अधिकार क्यालिफोर्नियाकै भएको पनि बताएका छन्।

संवाददाताहरू क्यालिफोर्नियासँग सम्बन्धित यो घटनाक्रम मङ्गलवार हुने मतदानको नतिजाप्रति आशङ्का उब्जाउने ट्रम्प प्रशासनको अर्को प्रयासजस्तो देखिने बताउँछन्।

ट्रम्पका आरोप

अमेरिकी सर्वोच्च अदालत

राष्ट्रपति ट्रम्पले मतदाता जालसाजीयुक्त रहेको र डेमोक्र्याटहरूले आप्रवासीहरूलाई अवैध रूपमा मतदान गर्न अनुमति दिएर चुनाव आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको बारम्बार दाबी गर्दै आएका छन्।

उनले त्यस्तो धेरैजसो धेरैजसो डेमोक्र्याटिक राज्यहरूमा अनुमति दिइएको 'मेल-इन' भनिने हुलाकबाट हुने मतदानमा भएको आरोप लगाएका छन्।

क्यालिफोर्नियामा करिब २ करोड ६० लाख मानिसहरू योग्य मतदाताका रूपमा छन्।

र धेरै तल्ला तहका अदालतहरूले सङ्घीय सरकारले राज्यका चुनावमा हस्तक्षेप गर्न खोज्दै नतिजामा आशङ्का उत्पन्न गराउने प्रयास गरिरहेको भन्ने निर्वाचन अधिकारीहरूको पक्षमा देखिएका छन्।

क्यालिफोर्नियामा अन्य कुनै पनि राज्य भन्दा धेरै तल्लो सदनका ५२ सीटहरू छन्।

कैयौँ अध्ययन र राज्यका आधिकारिक मूल्याङ्कनहरू देखाए अनुसार गैरनागरिकहरूले गरेको मतदान सहित अयोग्य मतदानको सम्भावना दुर्लभ छ।

महँगो प्रचार अभियान

मतदान

अमेरिकी मध्यावधि चुनावको प्रचार अभियान सकिँदै गर्दा यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो अभियान बताइएको छ।

चुनावमा दुवै दलले अर्बौँ डलर खर्च गरेका छन् जहाँ रिपब्लिकनहरूले अमेरिकी सदन कङ्ग्रेसमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास गरिरहेका छन् भने डेमोक्र्याटहरूले उनीहरूलाई उछिन्न खोजिरहेका छन्।

अक्टोबरको मध्यसम्मको सङ्घीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार यस मध्यावधि निर्वाचन चक्रमा ९.५ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च भएको छ।

सर्वेक्षणहरूले डेमोक्र्याटहरूको बलियो प्रदर्शनको भविष्यवाणी गरिरहेका छन् जसले जीवनयापनको बढ्दो लागत र कथित सरकारी भ्रष्टाचारजस्ता मुद्दाहरूलाई लिएर चुनावी प्रचार गरेका छन्।

हाल राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीको कङ्ग्रेसका दुवै सदन - सीनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा नियन्त्रण छ।

डेमोक्र्याटहरू बहुमत हासिल गर्नका लागि पर्याप्त सीटहरू आफ्नो पक्षमा पार्ने आशा गरिरहेका छन्।

ट्रम्पले एक अनौठो समापन सन्देशमा डेमोक्र्याटिक दलका उम्मेदवारहरूलाई खतरनाक अतिवादीको संज्ञा दिए।

इरान युद्धको नवौँ महिना

इरानसँग डोनल्ड ट्रम्पको द्वन्द्व अहिले नवौँ महिनामा प्रवेश गरेको छ र राष्ट्रपति ट्रम्पले चुनावको पूर्वसन्ध्यामा बताए अनुसार यो अझै पनि उनको कार्यकालमाथि ठूलो छाया बनेर मडारिइरहेको छ।

फक्स न्यूज र द वाल स्ट्रीट जर्नलका अनुसार अमेरिकाले होर्मुज स्ट्रेटमा रहेको इरानको केशम टापुमा हमला गरेको छ। उक्त समाचारपछि तेलको मूल्यमा वृद्धि भएको छ।

तर ट्रम्पले सोमवार पत्रकारहरूलाई इरानमाथि हमला तीव्र पार्न"कुनै हतारोमा नरहेको" बताएका थिए।

"एक वा अर्को कुनै तरिकाले हामी केही त गर्ने छौँ, तर हतार छैन। हामीले उनीहरूलाई आर्थिकरूपमा कमजोर बनाइदिएका छौँ," ट्रम्पले समाचार संस्था एक्सिअस समाचार संस्थालाई बताए।

"उनीहरूसँग पैसा छैन, इन्धन छैन र त्यहाँका मानिसहरू पनि यो अवस्थाबाट निकै आजित भइसकेका छन्," ट्रम्पले भने।

सोमवार वाशिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा एक पत्रकारले उनलाई मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण सुरु गर्नुहुन्छ कि भनेर सोधेका थिए। "अहँ, गर्दिनँ," उनले भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।