भारतले नेपाललाई थप बिजुली दिने भए पनि 'पीक आवर'मा अपुग हुने चिन्ता, माग धान्ने योजना के छ?

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपालले भारतबाट थप बिजुली आयात गर्ने अनुमति पाए पनि पीक आवर अर्थात्‌ उच्च माग हुने समयमा अझै अपर्याप्त हुने अधिकारीहरूले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणले यो हिउँदयामका लागि छिमेकी मुलुक भारतबाट थप ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति मङ्गलवार पाएको हो।

भारतको ऊर्जा निकायले मङ्गलवारदेखि लागु हुने गरी प्रतिस्पर्धात्मक दरमा दैनिक १७ घण्टासम्म ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता अच्युतबाबु घिमिरेले बताए।

यसअघि आउँदो डिसेम्बर महिनाको अन्त्यसम्मका लागि ६५४ मेगावाट बिजुली किन्ने अनुमति पाएको विद्युत्‌ प्राधिकरणसँग भारतबाट अब कुल आयात अनुमति १,००४ मेगावाट बराबर पुगेको छ।

तर बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म आयात गर्न नमिल्ने भएकाले पीक आवरको माग व्यवस्थापनका लागि थप बिजुली आवश्यक पर्न सक्ने प्राधिकरणका प्रवक्ता घिमिरेले औँल्याए।

माग धान्ने रणनीति

उनका अनुसार भारतका दुई वटा राज्यबाट गरी ३५० मेगावाट बिजुली आयात गरिने छ। "बिहारतर्फको प्रसारणलाइनबाट ३०० मेगावाट र उत्तर प्रदेशको नौतनवाबाट ५० मेगावाट विद्युत् आयात गर्ने अनुमति हामीलाई प्राप्त भएको छ," बीबीसी न्यूज नेपालीसँग प्रवक्ता घिमिरेले भने।

नयाँ आयात अनुमतिले यसपालिको हिउँदयाममा बिजुलीको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न केही सहज हुने अधिकारीहरूको अपेक्षा छ।

तथापि पीक आवरको माग धान्न भने हाल पाइएको आयात अनुमति समेत पर्याप्त नहुने आकलन रहेको छ।

गत भदौमा भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारणलाइनमा क्षति पुगेपछि नियमित प्रणालीबाट उल्लेख्य परिमाणको विद्युत् विच्छेद भएकाले हिउँदमा बिजुली व्यवस्थापन थप चुनौतीपूर्ण हुन सक्ने ठानिएको हो।

"हामीसँग स्टोरेज पावर प्लान्टहरू कुलेखानी वान, टू र थ्री छन्। त्यसका साथै रन अफ दि रिभर आयोजना पनि छन्। तिनको अधिकतम उपयोग गरेर हामी पीक लोडलाई व्यवस्थापन गर्ने रणनीतिमा रहन्छौँ," हिउँदयामको रणनीतिबारे प्रवक्ता घिमिरेले अगाडि थपे।

"त्यति हुँदाहुँदै केही अपुग बिजुली भारतबाट आयात गरेर पीक समयमा [बिजुलीको माग] व्यवस्थापन गर्ने योजनामा हामी छौँ।"

दुई सय मेगावाट बिजुली जुनसुकै समयमा प्रयोग गर्न मिल्ने गरी दिन भारतलाई अनुरोध गरिएको प्रवक्ता घिमिरेले बताए। त्यसो भएमा पीक आवरको माग व्यवस्थापनमा सहज हुन सक्ने अनुमान अधिकारीहरूको छ।

निर्यात अनुमति

नेपाल विद्युत्‌ प्राधिकरणले आयातसँगै भारतमा बिजुली निर्यात गर्न पनि अनुमति पाएको छ।

प्राधिकरणका प्रवक्ता घिमिरेका अनुसार विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न अनुमति प्राप्त भएको हो। अबका एक-दुई दिनमा प्रक्रिया पूरा भई निर्यात शुरू हुने उनले बताए।

"यो सिजनका लागि हामीले धेरै निर्यात गर्ने अवस्था रहँदैन। किनभने सुक्खायाम आउँदै छ। नदीमा पानीको बहाव घट्दै जान्छ अनि उत्पादन कम हुने भएपछि हाम्रो निर्यात क्षमता घट्दै जान्छ र आयात बढ्दै जान्छ," उनले भने।

नेपालले सामान्यतया वर्षायाममा उत्पादन बढी हुँदा भारतमा विद्युत् निर्यात गर्छ भने हिउँदयाममा उत्पादन घट्ने र माग बढ्ने भएकाले भारतबाट विद्युत् आयात गर्ने गरेको छ।

ऊर्जा उत्पादक के भन्छन्?

यो हिउँदयाममा पीक आवरका बेला जलाशययुक्त आयोजना चलाएर गर्जो टार्नुपर्ने निजी ऊर्जा उत्पादकहरूको संस्था ईप्पानका अध्यक्ष मोहन डाँगी बताउँछन्।

"कुलेखानी जलविद्युत्‌ आयोजनालाई पीक आवरमा चलाएर लोड व्यवस्थापन गर्न सकिएला," बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर दीर्घकालका लागि आत्मनिर्भर हुनुको विकल्प नरेहको डाँगीको तर्क छ। "त्यसको उपाय भनेको आत्मनिर्भर हुनु हो। त्यसका लागि हामी जलाशययुक्त आयोजनामा जानुपर्ने हुन्छ। हुन त पिकिङ रन अफ दि रिभर आयोजना धेरै बनिरहेका छन्, तर ती पूरा भएका छैन," उनले अगाडि थपे।

खर्च घटाउँदै आम्दानी बढाउन सरकारले एक दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य घोषणा गरेको छ।

त्यति बेलासम्म १५ हजार मेगावाट आन्तरिक खपत र बाँकी बिक्री गर्न सकिने अधिकारीहरूको आकलन छ।

ईप्पानका अध्यक्ष डाँगीका अनुसार १२ हजार मेगावाट क्षमताका आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) भएकोमा ४,३०० मेगावाट निर्माण सम्पन्न भइसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।