तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रसुवामा भीषण बाढी, मुग्लिङसम्म सतर्कता
रसुवा जिल्लामा बुधवार बिहान अचानक आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको र बाढीको तह "गत सालको भन्दा पाँच गुना" ठूलो रहेको अधिकारीहरूले बताएका छन्। यद्यपि क्षतिबारे विस्तृत विवरण आउन बाँकी नै छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।
"बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत [सरकारले] गरिरहेको छ," सचिवालयले एउटा विज्ञप्तिमा उल्लेख गरिएको छ।
सरकारले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह पनि गरेको छ।
प्रधानमन्त्रीको सचिवालय र गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा 'कमान्ड सेन्टर' स्थापना गरिएको छ र अहिले उत्पन्न घटनाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थप छलफल हुने छ।
"ठूलो क्षति भएको भनिएको छ। मुग्लिङसम्म उद्धार गर्नुपर्ने अवस्था छ भनिएको छ। हामी त्यसका लागि काम गर्दै छौँ। अहिले नै क्षतिको तहको आकलन गर्न सकिएको अवस्था छैन," गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बताए।
'धुन्चेबाट नै नदी देख्न सक्छौँ': रसुवाका प्रमुख जिल्ला अधिकारी
पोहोरजस्तै यसपालि पनि बाढी नेपाली भूमिबाट नभई तिब्बततिर उत्पन्न भएको अनुमान गरिएको छ। त्यसबारे विस्तृत विवरण आइसकेको छैन।
यद्यपि राष्ट्रिय विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले जनाएअनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँपहिरोले नदी थुनिएको र अहिले "हिउँ पग्लिएका कारण" रसुवामा बाढी आएको अनुमान गरिएको छ।
"धुन्चेबाट नै हामी नदी देख्न सक्छौँ। सामान्य अवस्थामा नदी देख्न सकिँदैनथ्यो। भोटेकोशी, लेन्देबाट जोडिएर आएको त्यो नदी धुन्चे कटेपछि त्रिशूली हुन्छ," रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बिहान बीबीसीसँग बनेका थिए।
उनका अनुसार बाढीका कारण नदीको तटमा रहेका क्षेत्रहरू धेरै प्रभावित भएका छन्। "माथि टिमुरेबाटै प्रारम्भ भएको छ। पारि (तिब्बत)बाट आएको भन्ने छ। एक्कासि सूचना आयो त्यही भएर कहाँबाट कसरी आयो यकिन छैन। टिमुरेमा ठूलो क्षति गरेको भन्ने छ।"
"स्याफ्रुबेँसीमा पनि क्षति भएको भन्ने कुरा छ। त्यहाँ पनि कति क्षति भन्ने थाहा छैन। त्यहाँ नजिकै चिलिमे पुल थियो, त्यो पनि जोगिएको छ कि छैन भन्ने स्पष्ट छैन। हाम्रो टोली गएको छ।"
हेलिकप्टर अवतरण गर्न सक्ने स्थान नभएकाले नेपाली सेनाको एउटा हेलिकप्टरले प्रभावित क्षेत्रको अवलोकन मात्र गरेको उनले बताए।
"रसुवागढी हाइड्रोको तलको ड्याम कहीँ बाँकी छैन। हामीले यहाँबाट भएको जति सुरक्षा निकाय छ त्यो खटाइरहेका छौँ। हेलिप्याड राख्ने ठाउँ छैन, त्यही भएर माथिबाट अवलोकन भइरहेको छ।"
नेपाली सेनाका प्रवक्ताले सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाका तीनवटा हेलिकप्टर औषधि र उद्धारकर्ताहरूको टोली लिएर प्रभावित क्षेत्रमा परिचालन भएको बताए।
'टिमुरेमा केही प्रहरीहरू फेरि सम्पर्कमा आए'
नेपाल प्रहरीका प्रवक्ताले "ठूलो क्षतिः भएको बुझिएको भन्दै तल्लो तटीय क्षेत्रका मानिसहरूलाई उद्धार गर्न आफूहरू केन्द्रित भएको बताए।
प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले बीबीसीसँग भने, "अहिले पानीको बहाव केही कम भएको भन्ने कुरा चाहिँ आएको छ। तर विशेष गरी नदी छेउका धेरै क्षेत्रहरू प्रभावित भएको कुरा छ।"
उनका अनुसार कैयौँ प्रहरीहरू समेत सम्पर्क बाहिर छन्। टिमुरेमा रहेकामध्ये १६ प्रहरीमध्ये पाँच जना सम्पर्कमा आएको उल्लेख गरेका उनले अन्य क्षेत्रहरूमा पनि केही प्रहरीहरू सम्पर्कविहीन भएको जानकारी दिए।
"फोन नलागेर वा सञ्चार उपकरणले काम नगरेर पनि हुन सक्छ। अहिले नै के भयो भन्न सक्ने अवस्था छैन।"
प्रहरीले काठमाण्डू जोड्ने मूल राजमार्गमा सवारीसाधनको आवागमन बन्द गरिएको भन्दै मुग्लिङबाट नै पोखरातर्फ मोडिएको जानकारी दिएको छ।
साथै विभिन्न ठाउँमा मानिसहरूलाई सुरक्षित स्थानतिर माइकिङ गरिएको अधिकारीहरूले बताएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी बस्नेतले कुहिरोले उद्धार प्रयासलाई प्रभावित बनाएको भन्दै सेनाको एउटा हेलिकप्टरले तीन जनाको उद्धार गरेको जानकारी आएको बताए। उनले भने, "अलिकति बढी क्षति टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भएको छ।"
प्रधानमन्त्रीको सचिवालय के भन्छ
प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
"जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ," विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ।
चितवनसम्म सतर्कता अपनाउन सुझाव
सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिङसम्म त्रिशूली नदीको किनारमा पर्ने स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले त्यसका लागि छुट्टाछुट्टै सूचना प्रकाशित गरेका छन्।
"यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ," सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमा लेखेका छन्।
तिमिल्सिना नुवाकोटबाट निर्वाचित जनप्रतिनिधि पनि हुन्।
नेपाली सेना के भन्छ
नेपाली सेनाका अनुसार बिहान ९ बजेतिर आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीसहितका क्षेत्रदेखि नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएको थियो।
"खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको दुईवटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको आपत्कालीन मेडिकल उद्धार टोली एमआई-१७ हेलिकप्टरसहित परिचालन भइसकेको छ," सेनाले भनेको छ।
सेनाका अनुसार धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।