अमेरिकाद्वारा इरानमाथि लगातार सातौँ रात हमला, दुवै पक्ष के भन्छन्

तस्बिर स्रोत, Getty Images
- Author, ह्यारी सेकूलिक
- Published
- पढ्ने समय: ३ मिनेट
राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धविराम सम्झौता "सकिएको" घोषणा गरेपछि अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात आक्रमणहरू गरेको जनाएको छ।
इरानका "निगरानी केन्द्रहरू, सैनिक बन्दोबस्तीका पूर्वाधार, भूमिगत अस्त्र भण्डारण केन्द्रहरू र नौसैनिक सामर्थ्यहरू"लाई निशाना बनाइएको अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जला एक्समा जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।
इरानको रेभलुश्ननरी गार्ड्स कोर आईआरजीसीले होर्मुज जलमार्ग पार गर्ने क्रममा दुई वटा तेल ट्याङ्करमा विस्फोट भएको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्डले चाहिँ उक्त दाबीलाई झूटो भन्दै खारेज गरेको छ।
रातिको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका इरानका १० वटा क्षेप्यास्त्रलाई निस्तेज पारिदिएको जोर्डनको सेनाले जनाएको छ। उसका अनुसार ती क्षेप्यास्त्र प्रहारबाट कुनै मानवीय अथवा भौतिक क्षति भएको छैन।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार घण्टौँसम्मको हमलापछि शुक्रवार राति २ः३० (बीएसटी) तिर आक्रमणहरू रोकिएको थियो।
"हमलामा अमेरिकी सेनाले लडाकु विमानहरू, ड्रोन र युद्धपोतहरू लगायतको प्रयोग गर्यो," उसको विज्ञप्तिमा भनिएको छ।
जलमार्गमा आवतजावत ठप्प

तस्बिर स्रोत, Reuters
इरानी सरकारी समाचार एजेन्सी फार्सले "होर्मुज जलमार्गको दक्षिणमा रहेको बारुदी सुरुङ बिच्छाइएको मार्गबाट गुज्रिरहेका बेला दुई वटा तेल ट्याङ्करहरूमा विस्फोट भएर आगो लागेको" जनाएको छ।
"आईआरजीसीका धेरैजसो दाबीहरू जस्तै यो पनि गलत छ," पछि अमेरिकी केन्द्रीय कमान्डले एक्समा पोस्ट गरेको थियो।
अमेरिकी र इरानी सेनाबीच जारी आक्रमण-प्रत्याक्रमणको शृङ्खलाबीच होर्मुज जलमार्ग भएर हुने पानीजहाजहरूको आवतजावत ठप्पप्रायः रहेको छ।
सामान्यतया विश्वको कुल तेल र एलपीजी आपूर्तिको करिब पाँचौँ हिस्सा उक्त महत्त्वपूर्ण जलमार्ग भएर जाने गर्छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार केश्म टापुको मध्य शहर यज्द र जलमार्गनजिकैको बन्दर अब्बास बन्दरगाहमा विस्फोटको आवाज सुनिएको छ।
शुक्रवार इरानी सेनाले खाडी क्षेत्रमा रहेका धेरै अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरेको छ।
खास गरी कुवेत, बहरेन र जोर्डनमा अनि पहिलो पटक सिरियामा पनि आक्रमण गरेको तेहरानले जनाएको छ। यद्यपि अमेरिकाले ती दाबीहरूलाई खारेज गरेको छ।
यसअघि कुवेतका अधिकारीहरूले इरानी ड्रोन हमलामा परी आफ्ना धेरै सैनिकहरू घाइते भएको तथा एउटा विद्युत् केन्द्र र पानी प्रशोधन केन्द्रमा क्षति पुगेको बताएका थिए।
अमेरिकी सैनिकहरू घाइते
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई प्राप्त जानकारीअनुसार गत साता जोर्डनस्थित दुई वटा सैन्य अखडाहरूमा भएको इरानी आक्रमणमा परी अमेरिकी सेनाका धेरै जवानहरू घाइते भएका छन्।
अमेरिकी सेनाले इरानका पुल, रेल्वे स्टेशन र विमानस्थलजस्ता गैरसैनिक संरचनामा आक्रमण गरेको भन्ने तेहरानको दाबीलाई वाशिङ्टनले अस्वीकार गरेको छ।
प्रभावित क्षेत्र होर्मोजगन प्रान्तका अधिकारीहरूले अमेरिकी आक्रमणमा परी सात जनाको ज्यान गएको बताएका छन्।
बीबीसी भेरिफाई र बीबीसी पर्सिअनले गारिभेह पुलमा भएको क्षति देखिने फूटेजको पुष्टि गरेका छन्। रात्रिकालीन भिडिओ फूटेजमा पुलमा आगोको मुस्लो देखिएको थियो।
दिउँसोका तस्वीरहरूमा सडकको एउटा खण्ड भाँचिएको र क्षतिग्रस्त पुलको वरिपरि भग्नावशेष छरिएको देखिएको थियो।
ह्वाइट हाउसका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार अमेरिकाले "सैनिक बन्दोबस्तीका पूर्वाधारलगायत संरचनाहरूमा मात्रै प्रहार गरेको छ।"
शान्तिवार्ता विफल भएयता अमेरिकाले इरानमाथि लगातार रात्रिकालीन आक्रमणहरू गरिरहेको शुक्रवार एक साता पुगेको छ।
होर्मुज जलमार्गको भविष्य सम्बन्धमा देखिएको जारी तनावले स्थायी युद्धविराम सुनिश्चित गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















