तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप फुटबलले अमेरिकालाई अन्तत: 'तोड्ला' कि 'जोड्ला'?
- Author, चोल कासापोलू
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ७ मिनेट
यो साता धेरै अमेरिकीहरूको ध्यान बास्केटबल खेलमा छ। न्यूयोर्क निक्सले आधा शताब्दीभन्दा बढी समयपछि पहिलो पटक एनबीएको फाइनल जित्छ वा जित्दैन भन्नेमा दशौँ लाखको चासो रहने छ।
तर लस एन्जलसको मध्य भागमा रहेको एउटा स्पोर्ट्स बारको कुनामा अमेरिकी झण्डाले छोपिएको टेबलमा भेला भएका "अमेरिकन आउटलज" भनिने फुटबलप्रेमीहरूहरूको ध्यानमा अहिले बास्केटबल छैन।
अमेरिकी जर्सी लगाएका र झण्डामा बेरिएका यी फुटबल 'सूपरफ्यान'हरू विश्वकपअगाडि अमेरिका र जर्मनीबीचको अन्तिम मेत्रीपूर्ण खेल हेर्न भेला भएका हुन्।
"यो बिन्दुमा फुटबल मेरा लागि जीवन हो,"आफ्नी छोरीहरूसँगै त्यहाँ पुगेका किर्क लोबो भन्छन्। "तर वास्तवमा म फुटबललाई मन नपराउने परिवेशमा हुर्किएँ।"
धेरै अमेरिकीहरूजस्तै किर्क बास्केटबलवरिपरि हुर्किएका थिए। फुटबलप्रतिको उनको रुचि रमाइलोका लागि उक्त खेल खेल्ने क्रममा र किस्टिआनो रोनाल्डोजस्ता विश्व चर्चित स्टारहरूका कारण उत्पन्न भएको यो।
अर्का फुटबल समर्थक डेनी मेडिनाका लागि फुटबल कहिल्यै पनि प्राथमिकतामा रहेन। तर लिओनेल मेस्सी र किलिअन एम्बाप्पेले उनलाई त्यसतर्फ डोर्याए।
"अधिकांश अमेरिकीहरू बास्केटबल, बेसबल वा अन्य अमेरिकी खेल खेल्छन् किनभने हाम्रा प्राथमिक विद्यालयहरू त्यसैमा केन्द्रित हुन्छन्," डेनी भन्छन्। "अधिकांश खेलाडीहरू यस्तो प्रतियोगितामा जान्छन् जहाँबाट राम्रो आम्दानी गर्न सकिओस्।"
विश्वकपले देखाएको सम्भाव्यता
फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप आयोजना गर्न संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडालाई जिम्मा दिँदा उसले आर्थिक लाभलाई पनि मुख्य आधार बनाएको थियो।
अर्बौँ डलरको प्रसारण र प्रायोजन सम्झौताका कारण यो विस्तारित प्रतियोगिता अहिलेको विश्वको अति व्यावसायिक खेलबजारको सबैभन्दा फाइदाजनक प्रतिस्पर्धा हुने र फिफाले यो वर्ष मात्रै ९ अर्ब डलर कमाउने भनिएको छ।
मे महिनामा फिफाका अध्यक्ष जानी इन्फन्टीनोले अमेरिकामा फुटबलको आर्थिक सम्भाव्यतालाई लिएर उत्साह प्रकट गर्दै यसले लगानीकर्ताहरूलाई खर्बौँ डलरको आर्थिक वृद्धिको अवसर दिने बताएका थिए।
आगामी हप्ताले यो खेलकुद र व्यावसायिक घटनाले अमेरिकामा आफ्नो प्रभाव जमाउँछ कि लागत र आयोजना वरपरको राजनीतिका कारण प्रतियोगिता नै जोखिममा पर्ने छ भन्ने तय गर्ने छ।
आउँदो केही हप्ताले यो खेलकुद र व्यावसायिक घटनाक्रमले अन्ततः अमेरिकामा फुटबलमा आफ्नो प्रभाव जमाउँछ भन्ने तय गर्ने छ। आयोजनावरिपरिको लागत र राजनीतिका कारण प्रतियोगितामै असर पर्न सक्ने जोखिम कतिको रहन्छ भन्ने पनि निर्क्योल हुने छ।
सबैभन्दा ठूलो मञ्चमा विश्वका चर्चित फुटबल स्टारहरू छाउने आधार तय भइसकेको छ। तर यो खेललाई मन पराउने कति नयाँ बजारलाई आत्मसात् गर्ने गरी परिवर्तन हुन तयार छन् भन्ने पनि प्रतियोगिताले देखाउने छ।
विगत
सन् १९९४ मा संयुक्त राज्य अमेरिकामा मात्रै आयोजना भएको विश्वकप इतिहासमै उत्कृष्ट सहभागिता भएको विश्वकप हो। त्यस बेला ३५ लाख खेल समर्थकले यो प्रतियोगिता हेरेका थिए। यसले अमेरिकामा फुटबललाई मूलधारमा प्रवेश गराउन योगदान गरेको थियो।
दुई वर्षपछि, मेजर लीग सकर (एमएलएस) स्थापना गरिएको थियो, जुन प्रतियोगिता आयोजनाका लागि फिफाले निर्धारण गरेको सर्त हो। अनि कतिपयले युरोपेली खेल मान्ने फुटबलमा देखिएको अमेरिकी लगानीका कारण अर्को ठूलो फड्कोको अपेक्षा गरिएको छ।
"सन् १९९४ मा फुटबल बजार भर्खर सुरु हुँदै थियो र अहिले हामीसँग समृद्ध व्यावसायिक लीगहरू र केही विश्वकै ठूला रङ्गशालाहरू छन्," अमेरिकी सकरका प्रमुख कार्यकारी जेटी ब्याट्सनले बीबीसी स्पोर्टसँग भने। "यो समय अमेरिकमा फुटबल कस्तो देखिन्छ भनेर रूपान्तरण गर्ने एउटा अभूतपूर्व अवसर पनि हो।"
म्यान्हाटन्भिल विश्वविद्यालयमा खेल अध्ययन विषयकी प्राध्यापक एमी बास पछिल्ला तीन दशकमा फुटबलबारेका राष्ट्रिय बहस आधारभूत रूपमा नै परिवर्तन भएको बताउँछिन्।
"सन् १९९४ मा त्यो फुटबल यहाँको पनि हो भन्ने प्रमाणित गर्न एउटा परियोजना चलेको थियो," उनले भनिन्। "सन् २०२६ मा फुटबल यहाँको हो कि होइन भन्ने कुराभन्दा पनि अमेरिकाका लागि फुटबलको अर्थ के हो भन्ने प्रश्न मुख्य हो।"
"सन् १९९४ मा फुटबललाई भविष्यको खेल भनिन्थ्यो र अहिले भविष्य हाम्रा अगाडि छ।"
वर्तमान
एमएलएसले फुटल समर्थकहरूको आधार विस्तार गरेको छ भने खेलको व्यावसायिक पहुँच पनि फराकिलो भएको छ। तर यो सबै अमेरिकी शैलीमा भएका छन्। अमेरिकामा फुटबलमा माथिल्लो श्रेणीमा उक्लने वा तल्लो श्रेणीमा घट्ने व्यवस्था छैन। यहाँ फ्रेन्चाइजको मूल्य र आम्दानीमा बढी ध्यान केन्द्रित गरिएको छ।
न्यूयोर्कको होफ्स्ट्रा विश्वविद्यालयकी प्राध्यापक डाक्टर ब्रेन्डा एल्जी फुटबलको व्यावसायिक प्रस्तुति र तल्लो तहका संरचनाका भावनाबीच द्वन्द्व देख्छिन्।
"एमएलएसले लामो समयदेखि एनएफएल (अमेरिकी फुटबल लीग) र एमएलबी (मेजर लीग बेसबल)लाई अनुकरण गर्ने क्रममा भीआईपी कक्ष र लक्जरी बक्सेसहरूको व्यवस्था गरेको छ," उनले भनिन्। "तर अमेरिकी फुटबलको जीवन्त आत्मा भनेको यो एकदमै अनौपचारिक स्थानहरूमा खेलिन्छ, जस्तै पूर्वी लस एन्जलस, मायामी र फिलाडेल्फियाका मैदानहरूमा।"
जोखिम
सन् २०२६ को विश्वकपले यो तनावलाई कम गर्न नसक्ने देखिन्छ। उच्च टिकट मूल्य र यात्रा खर्चले विशेष वर्गले मात्र धान्न सक्ने प्रतियोगिता बन्ने जोखिम बढेको छ। प्रतियोगिता हेर्न लाग्ने खर्च बेहोर्न सक्ने सामर्थ्यलाई लिएर उठेका चिन्तामाझ रङ्गशला भरिन्छन् कि भरिदैँनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।
बास भन्छिन्, "हामीले विश्वकपलाई एउटा विलासी उत्पादन बनाउने जोखिम छ र त्यो फुटबलप्रति मरिहत्ते गर्ने फ्यानहरूको भावनासँग मेल खाँदैन।"
अमेरिकामा यस्ता 'डाईहार्ड' फ्यानहरू परम्परागत रूपमा नै आप्रवासी समुदायबाट आएका छन्। उनीहरूका लागि आफ्ना घरसँगको सम्पर्क जोड्ने सांस्कृतिक सेतुको भूमिका फुटबलले निर्वाह गर्छ।
"उन्नाइसौँ शताब्दीयता चाहे इटली वा आइरिस आप्रवासीहरू हुन् या आजको दिनमा ल्याटिन अमेरिकी वा अफ्रिकी आप्रवासी, उनीहरूले समर्थकहरूको आधारको जीवन्तता र ऊर्जालाई कायम राखेका छन्।"
अनि त्यो प्रभाव लस एन्जलसको स्पोर्ट्स बारमा अमेरिकी फुटबल समर्थकमाझ देखिन्छ।
डेभिड रेन्डन चार वर्षको उमेरमा ग्वाटेमालाबाट अमेरिका आएका हुन्। उनी अहिले ईस्ट हलिवुडमा बस्छन्।
"यो देशले मलाई यति धेरै कुरा दिएको छ। त्यही भएर म यो देशलाई समर्थन गर्छु। सन् १९९४ एउटा निर्णायक मोड हुन सक्छ, त्यसयता दक्षिण क्यालिफोर्नियामा फुटबलको लोकप्रियता उल्लेख्य रूपमा बढेको छ।"
आफ्ना आमाबुवा मेक्सिकोबाट बसाइँसराइ गरेर आएको बताउने कार्लोस रोड्रिगेज त्यसमा सहमति जनाउँछन्। आफ्ना छोरासहित अमेरिकाको अन्तिम 'वार्मअप म्याच' हेरिरहेका उनले थपे, "कसले सोचेको थियो कि हामीले यहाँ मेस्सीलाई देख्न पाउँछौँ। यो लीग क्रमैसँग विस्तार भइरहेको छ र विश्वले यसमा ध्यान दिइरहेको छ।"
महिला टोलीको प्रेरणा
सन् १९९४ भन्दा अघिबाटै विश्वकपको एउटा क्षेत्रमा भने अमेरिकाले नेतृत्व लिइरकेको छ।
"संयुक्त राज्य अमेरिका एउटा वास्तविक वैधानिक अन्तर्राष्ट्रिय फुटबल साम्राज्यको थलो हो, त्यो भनेको अमेरिकी महिला टोली हो," बास भन्छन्।
अमेरिकी महिला टोलीले चार विश्वकप र पाँच ओलिम्पिक्स स्वर्णपदक जितेको छ। सन् २०२२ मा उसले अमेरिकी सकरसँग बराबर भुक्तानीसम्बन्धी एउटा सम्झौता सुनिश्चित गरेको थियो।
एल्जी भन्छिन्, "महिला र किशोरीहरूले अमेरिकी फुटबल समुदायको आधारभूत स्तम्भको भूमिका निर्वाह गरिरहेका छन्।"
महिला टोलीको सफलताले अमेरिकाले यो खेललाई कसरी लिन्छ भन्ने निर्धारण गरिरहेको छ। अनि त्यो अवधारणाले अब थप बलियो बन्न लागेको देखिन्छ।
सन् १९९४ मा धेरै समर्थकहरूले समाचारपत्र र प्रतियोगितापछि देखाइने मुख्य दृश्यबाट फुटबललाई पछ्याएका थिए। तर उनीहरूले सन् २०२६ को विश्वकप फुटबलको प्रत्यक्ष अनुभव गर्न पाउने छन् र यसलाई उपेक्षा गर्न सक्ने छैनन्।
"जेन जी र जेन अल्फाका बालबालिका जसले स्वयं फुटबल खेल्दैनन्, उनीहरू पनि क्लिप्स, विवाद र चर्चित स्टारहरू देख्ने छन्," एल्जी भन्छिन्।
फुटबल संस्कृतिको दायरा अहिले परम्परागत प्रसारण च्यानलहरूभन्दा पर गएको छ तर कतिपय खेलाडीहरूले सम्पूर्ण रूपमा सामाजिक सञ्जालबाट विश्वव्यापी ख्याति कमाएका छन्।
बारभित्र फुटबल समर्थक "अमेरिकन आउटलज" मध्यान्तरको समयमा खानेकुरा र पेय पदार्थसहित विश्वकपपछिको फुटबलको भविष्यबारे छलफल गर्दै छन्। किर्क विश्वकपले अमेरिकी खेल जीवनमा फुटबललाई अग्रणी स्थानमा राख्न सुनौलो मौका दिने ठान्छन्।
"जब अमेरिकीहरू फुटबलको चेसम्याच बुझ्न थाल्ने छन् र गोल तथा जितको अर्थ समुदायका लागि के हो भनेर साँच्चिकै थाहा पाउने छन्, उनीहरू यो खेलवरिपरि झुम्मिने छन्," उनी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।