बाढीले बगाएका शवको डीएनए परीक्षण यसरी गरिँदै छ, समय कति लाग्ला

    • Author, विनिता दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी-त्रिशूली बाढीपछि विभिन्न स्थानमा फेला परेर पहिचान हुन नसकेका शव र बाढीपछि बेपत्ता भएका मानिसहरूको आफन्तको गरी करिब तीन हजार भन्दा बढीको डीएनए परीक्षण गर्नुपर्ने देखिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म मृतकको डीएनए नमुना १२८६ वटा निकालिएको छ भने शवको पहिचानका लागि परिवारबाट मागिएका १७१५ वटा नमुना सङ्कलन गरिएको छ।

अहिले यी नमुनाहरूको डीएनए परीक्षण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भइरहेको र त्यसमा प्रहरीका स्वास्थ्यकर्मी, फोरेन्सिक विशेषज्ञ टोली, विदेशी (कोरिया, सिङ्गापुर, भारत र चीन)डीएनए विशेषज्ञको टोलीले काम गरिरहेको अधिकारीहरूले बताएका छन्।

यी दुवै प्रयोगशालामा परीक्षणका लागि दुई दुईवटा गरी चारवटा टोली कार्यरत रहेको उनीहरूले बताएका हुन्।

डीएनए परीक्षणका लागि भेटिएका शवहरूको दाँत/बङ्गारा वा हड्डीको नमुना सुरक्षित राखिएको र आफन्तहरूबाट परीक्षणका लागि रगतको नमुना लिइएको प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बीबीसीलाई जानकारी दिएका छन्।

"शवको डीएनए परीक्षणका लागि चार दिनभन्दा बढी लाग्छ भनेको छ भने जीवित मान्छेले आफन्त पहिचानका लागि दिएको नमुनाको परीक्षणका लागि दुई दिनलाग्छ भनेको छ," उनले भने।

"त्यसकारण मिसिनहरू थपेर, मानिसहरू थपेर चाँडोभन्दा चाँडो सक्नेगरी टोलीले काम गरिरहेको छ।"

प्रहरीले डीएनए परीक्षण गर्न थालेयता अहिलेसम्म करिब ३०० वटा डीएनए परीक्षण सकिएको जानकारी आफूलाई आएको प्रहरी प्रवक्ता काफ्लेले बताए।

यसरी दुवै तर्फको परीक्षण सकिएपछि सफ्टवेयरमार्फत मिलान गरेपछि मात्रै एकैपटक शव हस्तान्तरण प्रकृया थालिने उनले बताए।

"शवबाट आएको डीएनए रिपोर्ट र आफन्तबाट आएको डीएनए रिपोर्ट सकिएपछि हामी त्यसलाई सफ्टवेयरमा हाल्छौँ। सिस्टमले म्याचिङ गरेपछि कुन शव कुन व्यक्तिको आफन्तको हो भनेर छुट्याउँछ। त्यसपछि हामीले त्यसबारे आफन्तलाई जानकारी गराउँछौँ," उनले भने।

"सुरक्षित रूपमा जमिनमुनि राखिएको कुरालाई एउटा एउटा गरी दिन मिल्दैन। सबै परीक्षणहरू सकिएपछि एकैपटक कानुनी प्रक्रिया पूरा गरेर दिन्छौँ।"

प्रहरी प्रवक्ताले अझै हराइरहेका मानिसहरूको सङ्ख्या ठूलो रहेका कारण शव भेटिने क्रम जारी रहेकाले अझै धेरैको डीएनए परीक्षण गर्नुपर्ने हुनसक्ने बताए।

परीक्षणका जटिलता कस्ता छन्?

अन्य समयमा गरिएको भन्दा अहिले गरिने डीएनए परीक्षण जटिल रहेको र त्यसका लागि विशेष परीक्षण आवश्यक हुनसक्ने आनुवंशिक क्षेत्रमा कार्यरत एकजना वैज्ञानिक समीरमणि दिक्षित बताउँछन्।

"सरकारको दुईवटा प्रयोगशालामा कम्तीमा ३००० वटा नमुनाको परीक्षण गर्न महिनौँ लाग्नसक्छ," उनले भने।

"यसरी प्रयोगशालामा गरिने परीक्षणले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने भएकोले परीक्षण मिलेको नै हुन्छ, मान्छे पहिचान गर्न सकिने नै हुन्छ। तर अहिले माटो ढुङ्गासँग बगेर आएको शव भएकोले हामीसँग भएको प्रविधिले कति सही हुन्छ भन्ने प्रश्नचिन्ह चाहिँ छ।"

अहिले प्रहरीले कतिपय मानिसको हात वा खुट्टाजस्ता अङ्ग भेटिएको अवस्थामा डीएनए परीक्षणका लागि त्यसैबाट नमुना निकालिएको जनाएको छ।

यसले गर्दा पनि डीएनए परीक्षणका अन्य समयमा भन्दा धेरै अवधि लाग्ने विज्ञहरू बताउँछन्।

"जिउको भागहरूबाट डीएनए निकाल्न असाध्यै गाह्रो हुन्छ। निस्किएकोमा पनि जनावर, विरुवा, माटोमा पाइने जीवाणु किटाणु सबै मिसिने भएकाले अहिलेको प्रविधिले कति सूक्ष्म रूपमा पहिचान गर्नसक्छ भन्ने प्रश्न चिन्ह छ," उनले भने।

तर विधिविज्ञान प्रयोगशालाका विज्ञ पुष्करराज भट्टले भने अहिले शवहरूबाट निकालिएको दाँत र हड्डीभित्रबाट नमुना निकालिने भएकाले परीक्षण सही हुने बताए।

"दाँतभत्रिको र हड्डीभित्रको बोन म्यारोको सेल निकालेर परीक्षण गर्ने भएकोले बाहिरको कन्टामिनेसन हुने वा बाह्य तत्व मिसिने त्यस्तो हुँदैन," विधिविज्ञान विज्ञ भट्टले भने।

उनले वार्षिक रूपमा नेपालमात्रैको क्षमता ३०० शवको डीएनए परीक्षण गर्न सकिने भए पनि अहिले विदेशबाट पनि परीक्षण गर्ने मेसिनहरू आएका कारण चाँडोभन्दा चाँडो गर्ने प्रयास गरिएको उनले बताए।

"अहिलेको अवस्थामा छिटो गर्नका लागि सरकारको अनुरोधमा भारतबाट आएका विशेषज्ञसँगै दुईवटा मेसिनमा फटाफट गरिरहेका छौँ। साना र्‍यापिड किटहरू पनि कोरियाले चारवटा ल्याएको छ र हाम्रो टोली बसेर गरिरहेका छौँ," भट्टले भने।

"त्यस्तै चीनले पनि उपकरण ल्याएर नास्टमा गरिरहेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।