सीआईए प्रमुख अघोषित वार्ताका लागि मस्कोमा

जोन र्‍याटक्लिफ मङ्गलवार एउटा सैन्य विमानमा रुसी राजधानी पुगेका थिए

तस्बिर स्रोत, Getty Images

    • Author, जो कखलन
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी गुप्तचर निकाय (सीआईए) का प्रमुख जोन र्‍याटक्लिफ अघोषित वार्ताका लागि मस्को पुगेका बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसले जनाएको छ।

जोन र्‍याटक्लिफ मङ्गलवार रुसको राजधानी पुगेको बताइएको छ। वाशिङ्टन र मस्कोले नै भ्रमणको प्रकृति र उनले कसलाई भेट्ने विषयमा पुष्टि गरेका छैनन्।

अमेरिकी र रुसी उच्च अधिकारीबीच व्यक्तिगत कुराकानी बिरलै हुने गरेको छ।

उडानको ट्र्याकिङ डेटाले मङ्गलवार अमेरिकाको एउटा ठूलो सैन्य विमान लाट्भिया हुँदै रुस पुगेको पुष्टि गरेको छ। उक्त सैन्य विमान मङ्गलवार अबेर प्रस्थान गरेको थियो।

बीबीसी न्यूजले सीआईए, ह्वाइट हाउस र पेन्टागनसँग सम्पर्क गरेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा सी-१७ विमान मस्कोको नुकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै गरेको देखिएको छ।

फ्लाइटराडार२४ले जारी गरेको डेटा अनुसार उक्त विमान जीएमटी बिहान ५ बजेर ५० मिनेटमा रिगा विमानस्थलबाट प्रस्थान भएर ७ बजेर ४ मिनेटमा रुसी राजधानी अवतरण गरेको थियो। उक्त विमान जीएमटी साँझको पाँच बजे अगाडि नै रिगामा फर्किएको थियो।

सामाजिक सञ्जालमा देखिएको सामग्रीमा एउटा कूटनीतिक जत्था मस्को हुँदै यात्रा गरिरहेको देखिन्छ।युक्रेनका एकजना वरिष्ठ अधिकारीले सीबीएसलाई बताए अनुसार अमेरिकाले युक्रेनको एउटा वरिष्ठ प्रतिनिधिमण्डलले मस्को भ्रमण गर्न लागेको र किएभलाई उनीहरू त्यहाँबाट नगएसम्म आक्रमण स्थगित गर्न आग्रह गरेको थियो।

सीआईए निर्देशकका रूपमा र्‍याटक्लिफको यो पहिलो रुस भ्रमण गरेको ठानिएको छ। यद्यपि उनले मस्कोमा रहेका आफ्ना गुप्तचर समकक्षीहरूसँग सम्पर्क कायम राखेका छन्।

सन् २००९ देखि सन् २०२२ को बीचमा मस्कोमा ब्रिटिश सैन्य सहचारीका रूपमा काम गरेका जोन फोरम्यानले रेडियो फोरको पीएम कार्यक्रममा जर्मनीमा भर्खरैको ड्रोन गतिविधि रुससँग जोडिएको हुनसक्ने अनुमानलाई ध्यानमा राखेर यो भ्रमण "आक्रामकता व्यवस्थापन" मा केन्द्रित हुनसक्ने बताए।

उनले भने: "अमेरिकीहरूले हत्तपत्त त्यति उच्च पदस्थ अधिकारीलाई छोटो सूचनामै अघोषित रूपमा मस्को पठाउँदैनन्, जबसम्म केही हुँदैन।"

फोरम्यानले यो भ्रमणले हालै रुसमा राखिएका अमेरिकी बन्दीहरूको रिहाइको बारेमा पनि चासो व्यक्त गरेको हुन सक्छ।

युक्रेनलाई सहयोग गरेको आरोपमा रुसमा एक वर्षभन्दा बढी जेल बसेकी रुसी-अमेरिकी नागरिक क्सेनीया करेलिनाको रिहाइका लागि वार्तामा र्‍याटक्लिफले भूमिका खेलेको हुन सक्छ।

सीआईए रुससँग सन् २०२४ मा कैदी आदानप्रदान सम्झौतामा पनि संलग्न थियो जसमा वाल स्ट्रीट जर्नलका रिपोर्टर एभन गर्सकभिज, पूर्व अमेरिकी नौसेना पल ह्वेलन र रुसी अमेरिकी पत्रकार अल्सू कुर्मशेवालाई रिहा गरिएको थियो।

सन् २०२२ मा युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरे यता अमेरिकाले रुससँग सम्बन्ध बिगारेको छ। त्यसयता रुस विश्व मञ्चमा एक्लिएको छ र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धको सामना गर्नु परेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा देश भ्रमण गर्ने र्‍याटक्लीफल उच्च अमेरिकी अधिकारीहरूमध्ये एक देखिन्छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत वर्ष अलास्कामा भएको शिखर वार्तामा कुनै सफलता हासिल भएको थिएन। त्यसपछि रुस र युक्रेनबीच अमेरिकी नेतृत्वमा भएको शान्ति वार्ता रोकिएको देखिन्छ।

वाशिङ्टन संवाददाता ड्यानिअल बुश र बीबीसी भेरिफाईद्वारा थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।