एन्फा अध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध

तस्बिर स्रोत, ANFA
फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई आर्थिक अनियमतितामा सामेल रहेकोमा दोषी ठहर्याउँदै १० वर्ष फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको छ।
फिफाको स्वतन्त्र अाचार समिति अन्तर्गत न्यायिक निकायको बैठकले सन् २००९ र सन् २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा थापाले नगद लिएको लगायत विभिन्न अनियमितता गरेको निश्कर्ष निकालेको हो।
उक्त समितिले थापाले घुस लेनदेन र भ्रष्टाचारमा संलग्न भई फिफा आचार संहिताको विभिन्न ६ वटा विभिन्न गम्भीर प्रकृतिका नियम उल्लंघन गरेकोमा दोषी पाइएको जनाएको छ।
फिफाको वेबसाइटमा राखिएको विज्ञप्ति अनुसार थापामाथि २० हजार स्विस फ्रान्क अर्थात करीब २१ लाख रुपियाँ जरिवाना पनि तोकिएको छ।
थापालाई आफ्नो व्यक्तिगत र पारिवारिक लाभका लागि अन्य फुटबल पदाधिकारीबाट रकम लिएकोमा समेत उक्त समितिले दोषी ठहर गरेको छ।
सोमबारबाट लागु उक्त प्रतिबन्धबारे थापाले बीबीसीलाई प्रारम्भिक प्रतिक्रिया दिंदै निर्णयप्रति दुखी भएको बताए।
"यो छानविन प्रक्रिया चार वर्षदेखि जारी थियो। मैले सहयोग गरेको हुँ। तर अब म यसबारे कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट मा अपील गर्नेछु," उनले भने। उक्त कोर्ट खेलसम्बन्धी विवाद मध्यस्थ गर्ने स्वीटजरल्याण्डस्थित एक स्वतन्त्र निकाय हो।
विवाद
चार वर्ष अगाडी भएको फिफा निर्वाचनका बेला तत्कालीन एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष मोहम्मद विन हमाममाथि फिफाले भ्रष्टाचारको आरोपमा आजीवन प्रतिवन्ध लगाएको थियो। उक्त घटना लगत्तै त्यसैसंग जोडिएका अभियोगहरुमा फिफाद्धारा गरिएका छानविनले थुप्रै देशका फुटबल अधिकारीहरुलाई प्रतिवन्ध जस्ता सजाय दिइसकिएको छ।
एएफसीमा कार्यरत आफ्नो छोराले हमामबाट अनैतिक रुपमा एक लाख अमेरिकी डलर प्राप्त गरेको खबरसंगै विवादमा तानिएका थापाले हमामकै निजी कम्पनीबाट १ लाख १५ हजार अमेरिकी डलर प्राप्त गरेको देखिएपछि उनी फिफाको छानविनमा परेका थिए।
छानविनको क्रममा उनी फिफाबाट दुई पटक गरी सात महिना निलम्वनमा परेका थिए।
देशभित्र एन्फा मातहतकै पदाधिकारीहरुले उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानविनमा परेका थापा सो अनुसन्धानबाट भने चोखिएका थिए।
नेपालका चर्चित पूर्व राष्ट्रिय कप्तान थापा झन्डै २० वर्षदेखि एन्फाको अध्यक्षमा रही आएका छन्। उनीमाथि एन्फामा एकलौटी नेतृत्वमा रहेको आरोप समेत कतिपयले लगाउने गरेका छन्।
हाल उनी आफ्ना दाजु कमल थापाको पार्टी राप्रपा नेपालका तर्फबाट संसदमा सदस्य समेत छन्।
नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान सहित केही नेपाली खेलाडीहरुलाई खेल मिलोमतो गरेको आरोपमा मुद्दा लगाइएको केही साता नवित्दै देशको फुटबल संघका प्रमुखमाथि फिफाले कारबाही गरेको छ।
यसले नेपाली फुटबलमा थप जटिलता र समस्या थपिने कतिपय विश्लेषकहरुले बताएका छन्।


























