दशैँको टीका र आशीर्वादसँगै पाइने दक्षिणा केमा प्रयोग गर्ने

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
समुदाय र प्रचलन अनुसार दशैँको टीकापछि कतै आफूभन्दा ठूलाले सानालाई र कतै सानाले आफूभन्दा पाको उमेरका व्यक्तिलाई दक्षिणा दिने चलन छ। दशैँको दक्षिणाले कतिपय परिवारमा आर्थिक बोझ थप्ने औँल्याउँदै सकेसम्म दक्षिणा नलिन र नदिन कतिपय अभियानकर्मीले आह्वान पनि गरिरहेका हुन्छन्।
थोरै वा धेरै जति भए पनि दशैँमा पाएको दक्षिणालाई दैनिक आवश्यकताको खर्चमा प्रयोग गर्नुभन्दा यसलाई लगानी गर्ने वा सामाजिक वा मानवीय कार्यमा प्रयोग गर्नु असल हुने निजी बित्तका एक जना जानकार तथा अभियानकर्मीको सुझाव छ।
तर आफ्नो पैसा केमा प्रयोग गर्ने वा बचत गरेर राख्ने विषय व्यक्तिको आवश्यकता र रोजाइको विषय हो।
दशैँको दक्षिणा केके मा लगानी गर्न सकिन्छ
ब्याङ्कर्स सङ्घका पूर्व अध्यक्ष भुवन दाहाल दशैँको दक्षिणालाई पनि बचत वा लगानी गर्नु राम्रो हुने सुझाव दिन्छन्।
"सबैभन्दा पहिले कसैको खाता छैन भने ब्याङ्कमा खाता खोल्न पर्यो। खाता छ भने बचत खातामा लगेर राखिहाल्ने," दाहाल भन्छन्।
अहिले बचत खातामा ३ प्रतिशत हाराहारी मात्रै ब्याज पाइने भएका कारण म्युचुअल फन्डमा लगानी गर्न अझै राम्रो विकल्प हुनसक्ने दाहाल बताउँछन्।
"हामीलाई अलि बढी आम्दानी होस् भन्ने चाहना हुन्छ। यहाँहरूको सानो रकम म्युचुअल फन्डमा लगानी गर्नुभयो भने विज्ञहरूले व्यवस्थापन गर्ने भएका कारण त्यसमा बचतमाभन्दा धेरै मुनाफा हुन सक्छ। तर सधैँ नाफा नै हुन्छ भन्ने चाहिँ हुँदैन है," दाहाल भन्छन्।
सामान्यतया न्युनतम एक हजार रुपैयाँबाटै म्युचुअल फन्डमा लगानी गर्न सकिन्छ।
म्युचुअल फन्डहरूले पनि फरकफरक क्षेत्रमा लगानी गरेका हुन्छन्। अनि म्युचुअल फन्डहरू पनि धेरै बित्तीय संस्थाका उपलब्ध छन्। लगानी अनुसार म्युचुअल फन्डहरूको मुनाफा पनि फरकफरक हुन सक्छ।
म्युचुअल फन्डमा लगानीका लागि ब्रोकरमा खाता खोलेपछि अनलाइनबाटै किनबेच गर्न सकिने दाहाल बताउँछन्।
आफैँले सोझै शेअर बजारमा लगानी गर्दा धेरै जोखिम हुने भएका कारण थोरै रकम लगानी गर्न चाहनेलाई म्युचुअल फन्ड र सरकारी ऋणपत्र लगानीका लागि राम्रो विकल्प हुन सक्ने दाहालको सुझाव छ।
परोपकारी काममा पनि दिन सकिन्छ दक्षिणा

काठमाण्डूको गोठाटारका हरिप्रकाश पुडासैनी आफूले दशैँमा पाएको दक्षिणा दान वा सहयोगमा प्रयोग गर्न थालेको दुई दशकभन्दा धेरै भइसकेको बताउँछन्।
"मैले दशैँको दक्षिणा मानव कल्याणमा लगाउन थालेको दुई-तीन दशक नै भयो। कलम कापी किन्न नसक्ने विद्यार्थीलाई किनिदिने, वर्षको एक दिन दुई दिन खाना खुवाउने, कसैलाई झोला छैन भने किनिदिने, विद्यालयको पैसा तिरिदिने। म मानवको सेवा होस् भन्ने धारणा राख्छु," पुडासैनीले भने।
हाल ८०को दशकका पुडासैनी आफूसँग भएको खानेकुरा बाँडेर खाने प्रचलनबाट आएको समाज पछिल्लो समय पैसामुखी भएको ठान्छन्।
"ठूलो दान गरेर मात्रै पनि सहयोग हुँदैन। मानिसलाई समय र परिस्थिति अनुसार के गरिदियो भने राम्रो हुन्छ त्यो गर्नु पर्छ," उनी भन्छन्
एक परोपकारी संस्थाका प्रमुख संरक्षक हेम पाठक दशैँको दक्षिणाबाट प्राप्त हुने थोरै र कमले पनि भदौको भोटेकोशी-त्रिशूली बाढी प्रभावित बालबालिकाका निम्ति न्यानो कपडाका लागि सहयोग गर्न सकिने बताउँछन्।
"अलिकति निम्न आय भएका विद्यार्थीहरूलाई जाडोको कपडा, ज्याकेट, स्वेटर किन्न सहयोग गर्यो भने थोरै पैसाले पनि ठूलो सहयोग हुन्छ," पाठक भन्छन्।
यस्तो सहयोग मन मिल्ने धेरै जना साथीहरू मिलेर गर्दा धेरै व्यक्तिहरूलाई फाइदा पुग्ने उनी बताउँछन्।
"सामूहिक रूपमा पनि हुन्छ। कसैले एक्लै गर्छु भन्यो भने पनि एक वा दुई जनालाई सहयोग गर्न सकिन्छ," पाठक भन्छन्।
उनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा पनि सहयोग गर्न सकिने बताउँछन्।
"प्रधानमन्त्री राहत कोषमा पनि सहयोग गर्दा हुन्छ। आफ्नो खुत्रुके फुटाएर पनि सहयोग गरेको सुनिन्छ," पाठक भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















