ट्रम्प र पोपबीच चर्किएको विवादको केन्द्रमा छन् यी तीन विषय

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र पोप लिओ चौधौँबीच इरान युद्धलाई लिएर अस्वाभाविक सार्वजनिक विवाद चर्किएको छ।
सन् २०२५को मे महिनामा नियुक्त भएका अमेरिकामा जन्मिएका पोप – यसअघि कार्डिनल रोबर्ट प्रिभोस्ट –ले सुरुमा उनका पूर्ववर्ती पोप फ्रान्सिस - जो ट्रम्प प्रशासनका प्रखर आलोचक थिए - भन्दा भिन्नै कम बोल्ने शैली अपनाएका थिए।
भ्याटिकन र ह्वाइट हाउसबीच महिनौँदेखि तनाव बढ्दै थियो। यसपालि पोपले ट्रम्पको नाम लिएपछि त्यो अहिले छताछुल्ल भएको हो।
विदेशनीति

तस्बिर स्रोत, Reuters
आइतवार ट्रम्पले सामाजिक सञ्जालको प्ल्याट्फर्म ट्रूथ सोशलमा लामो पोस्ट राख्दै पोपलाई "अपराध (नियन्त्रण)मा कमजोर, विदेशनीतिमा खराब" भनेर चर्को आलोचना गरे।
"इरानले परमाणुअस्त्र राख्नु ठिकै हुन्छ भन्ने पोप मलाई चाहिँदैन," ट्रम्पले लेखे।
"अमेरिकामा विशाल परिमाणमा लागुऔषध पठाउने र अझ उसका जेल खाली गरेर हत्यारा, लागुऔषध तस्करहरूलाई हाम्रो देशमा पठाउने भेनेजुएलामाथि अमेरिकी आक्रमण नराम्रो भन्ने पोप मलाई चाहिँदैन।"
उनले पछि एआईबाट सिर्जित तस्बिर पोस्ट गरे जसमा उनी जीजस क्राइस्टजस्तो देखिन्छन् र उनले एक बिरामीलाई "उपचार" गरिरहेको देखिन्छ। उनको त्यो कार्यलाई लिएर धार्मिक नेता तथा टिप्पणीकारहरूले चर्को आलोचना गरेका छन्। पछि उक्त पोस्ट मेटाइयो।
तेहरानले परमाणु कार्यक्रम तथा होर्मुज जलमार्गबारे राखिएका माग नमाने "इरानी सभ्यता नाश गरिदिने" ट्रम्पको चेतावनीलाई पोप लिओले निन्दा गरेपछि ट्रम्पले सो पोस्ट राखेका थिए।
पोपले त्यस्ता धम्कीलाई "पूर्णत: अस्वीकार्य" भन्दै क्याथलिक धर्मावलम्बीहरूलाई राजनीतिक नेताहरूलाई "शान्तिको निम्ति कार्य गर्न" दबाव दिन आह्वान गरेका थिए।
त्यसअघि पनि पोप लिओले ट्रम्पको नाम लिएका थिए।
"राष्ट्रपति ट्रम्पले हालै युद्ध अन्त्य गर्न चाहेको मैले सुनेँ। आशा गरौँ उनी (युद्ध रोक्ने) कुनै विकल्प खोज्दै छन्," मार्च ३१ मा उनले पत्रकारहरूलाई भनेका थिए।
आइतवार ७० वर्षीय पोपले नेताहरूलाई जारी रक्तपात रोक्न फेरि आह्वान गरे।
गत वर्ष पोप लिओले उक्त पद सम्हाले लगत्तै गाजामा तत्काल युद्धविराम, बन्धकहरूको रिहाइ तथा मानवीय कार्यमा विना अवरोध पहुँच हुनु पर्ने बताएका थिए।
सन् २०२५ को अगस्टमा पोप लिओले प्यालेस्टिनीहरूले पाएको "सामूहिक सजाय" तथा बाध्यतापूर्ण विस्थापनको निन्दा गर्दै गाजाको अवस्थालाई अस्वीकार्य भनेका थिए।
क्रिस्मसको प्रवचनमा संसारका १ अर्ब ४० करोड क्याथलिकहरूलाई सम्बोधन गर्दै उनले गाजाको अवस्थाबारे बोलेका थिए।
गाजाको विषयमा ट्रम्प र पोप लिओबीच सार्वजनिक विवाद परेको थिएन तर भित्रभित्रै पोपले अमेरिकी र इजरेली क्रियाकलापलाई चुनौती दिएको रूपमा बुझिएको थियो।
यो वर्षको ज्यानुअरीमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्रिएकोबारे पनि पोपले चिन्ता व्यक्त गरेका थिए।
उनले भेनेजुएलाको सार्वभौमसत्ताप्रति समर्थन गर्न, संविधानानुसार विधिको शासनको पालना गर्न तथा मानवाधिकारको पूर्ण सम्मान गर्न आह्वान गरेका थिए।
आप्रवासन

तस्बिर स्रोत, Getty Images
आप्रवासन तनावको अर्को मुख्य स्रोत हो।
पोप लिओले ट्रम्पको कडा आप्रवासन नीतिको बारम्बार आलोचना गरेका छन्। गोस्पेलको करुणा तथा आत्मसम्मानसम्बन्धी सिकाइहरूमा जोडिएको एक नैतिक दायित्वको रूपमा पोपले यो विषयलाई उठाएका छन्।
सन् २०२५ को नोभेम्बरमा उनले अमेरिकामा विदेशीहरूलाई "अत्यन्त अपमानपूर्ण ढङ्गमा" व्यवहार गरिएको बताए। अमेरिकी क्याथलिक विशपहरूले देशनिकाला तथा आप्रवासनविरुद्धका कारबाहीले निम्त्याएका आशङ्का र त्रासको वातावरणबारे जारी गरेको विज्ञप्तिमा पनि त्यस्तै भावना प्रतिबिम्बित भएका थिए।
"मलाई लाग्छ हामीले मानिसहरूलाई मानवतापूर्ण व्यवहार गर्ने उपाय पहिल्याउनुपर्छ," पोप लिओले भने। तर उनले "प्रत्येक देशसँग को, कसरी र कहिले आफ्नो देशमा मानिसहरू आउन सक्छन् भनेर तोक्ने अधिकार छ" पनि भनेका थिए।
गत अक्टोबरमा सेन्ट पिटर्स स्क्वाएरमा सम्बोधन गर्दै उनले क्याथलिकहरूलाई आप्रवासीलाई "चिसो बेवास्ता वा भेदभाव" नगर्न भनेका थिए। साथै ट्रम्पका नीतिहरू चर्चको 'प्रो लाइफ' भावनानुकूल नभएको भनेर प्रश्न पनि गरेका थिए। ती टिप्पणी पुरातनवादी क्याथलिक समुदायबाट आलोचित पनि भएका थिए।
धर्म र राजनीतिक अधिकार
आइतवार ट्रम्पले सामाजिक सञ्जालमा राखेको पोस्टले विदेशनीतिमात्र समेटेको थिएन, त्यसमा पोपलाई आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको आरोप लगाइएको थियो। "अमेरिकाको राष्ट्रपतिलाई आलोचना गर्ने पोप मलाई चाहिँदैन। म जे गर्नाका निम्ति ठूलो मतले निर्वाचित भएँ त्यही गरिरहेको छु।"
बरु पोप लिओ चाहिँ अमेरिकी भएकाले मात्र पोपमा नियुक्त भएको उनको सङ्केत थियो: "यदि म ह्वाइट हाउसमा नहुँदो हुँ त लिओ भ्याटिकनमा हुने थिएनन्।"
सोमवार ११ दिने अफ्रिका भ्रमणमा निस्किएका पोपले उनको विमानमा बोल्दै ट्रम्पसँग व्यक्तिगत रूपमा बहस गर्न अस्वीकार गरे।
"म राजनीतिज्ञ होइन र उनीसँग बहस गर्न म चाहन्नँ," उनले भने।
"युद्धको विरोधमा, अनि शान्ति, वार्ता र बहुपक्षीयताको प्रवर्धनको पक्षमा म निरन्तर बोलिरहने छु।"
आफूलाई "ट्रम्प प्रशासनको त्रास नभएको" भन्दै उनले गोस्पेलको रक्षार्थ बोलिरहने बताए।
सन् २०२४ मा अमेरिकामा भएको निर्वाचनमा ५५% क्याथलिक मतदाताहरूले रिपब्लिकनलाई रोजेको असोसिएटेड प्रेसको एक सर्वेक्षणले देखाएको छ। क्याथलिकहरू अमेरिकी जनसङ्ख्याको २० प्रतिशत छन्। उपराष्ट्रपति जेडी भान्स पनि क्याथलिक हुन्।
ट्रम्प प्रशासनले पुरातन इभान्जेलिकल प्रोटेस्टन्ट नेताहरूसँग निकट सम्बन्ध कायम राखेको छ र इरान युद्धलाई पनि धार्मिक कोणबाट प्रस्तुत गर्ने गरेको छ।
विज्ञहरू के सोच्छन्?

तस्बिर स्रोत, Social media
विज्ञहरूले पोपले विश्वमञ्चमा ट्रम्प र उनका विदेशनीतिका उद्देश्यलाई नैतिक चुनौती दिन चाहेको उनका पछिल्ला भनाइले देखाउने बताउँछन्।
"उनी अमेरिकी भएकाले भ्याटिकन ट्रम्पप्रति नरम छ भन्ने आरोप नलागोस् भन्ने उनी चाहन्छन्," भ्याटिकन मामिलाका जानकार इटलीका प्राज्ञ मासिमो फागिओलीले रोएटर्सलाई बताए।
"लिओ निकै सोचविचार गरेर बोल्ने मानिस हुन्," ट्रिनिटी कलेज डब्लीनका प्राध्यापक फागिओलीले भने। "मलाई उनले ती टिप्पणी यत्तिकै गरेका हुन् जस्तो लाग्दैन।"
पोपसँग निकट शिकागो कार्डिनल ब्लाज कुपिचले रोएटर्ससँग बोल्दै उनले विगतका पोपहरूले जस्तै विश्वनेताहरूलाई युद्धबाट अलग्गिन भनेको बताए।
"फरक के मात्र हो भने … बोल्ने सन्देशवाहकले अहिले अमेरिकी तथा सम्पूर्ण अङ्ग्रेजी बोल्ने विश्वका मानिसहरूले बुझ्ने शैलीमा बोले," उनले भने।
अन्तर्राष्ट्रिय क्याथलिक शान्ति आन्दोलन प्याक्स क्रिस्टीका पूर्वनेता मारी डेनिसले पोप लिओका पछिल्ला टिप्पणीहरू तथा उनले ट्रम्पलाई गरेका प्रत्यक्ष आह्वानले "निरन्तर जारी हिंसाले आक्रान्त मुटुलाई प्रतिबिम्बित गर्ने" बताइन्।
"यो निरन्तरको हिंसाबाट थकित सबै जनाप्रति उनी नजिकिन चाहन्छन् जो साहसी नेतृत्वको पर्खाइमा छन्," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















