इजरेलद्वारा लेबननमा आक्रमण तीव्र, 'बालबालिकासहित दर्जनौँको मृत्यु'

इजरेली हमलाले बनाएको भग्नावशेष
    • Author, सामन्ता ग्र्यानविल र जोन सडवर्थ
    • Role, बेका भ्याली, लेबनन
  • Published
  • पढ्ने समय: २ मिनेट

इजरेलले दक्षिणी र पूर्वी लेबननमा बढाएको सघन आक्रमणमा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र तुल्याउने घोषणा गरेपछि यस्तो आक्रमण भएको छ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा परेर कम्तीमा ३१ जनाको मृत्यु भएको छ, ज्यान गुमाउनेमा कैयौँ बालबालिका पनि छन्।

इजरेली सेनाका भनाइमा उसले हिज्बुल्लाहका १०० भन्दा बढी पूर्वाधार केन्द्र र लडाकुहरूलाई निशाना बनाएको छ।

यसलाई अमेरिकी मध्यस्थतामा एप्रिलको मध्यमा भएको युद्धविराम यताको सबैभन्दा भीषण बमबारी भएको एउटा रातको रूपमा लिइएको छ।

हिज्बुल्लाहलाई निशाना बनाउन 'प्याडल अझ जोडले दबाउन' आफूले निर्देशन दिएको कुरा नेतन्याहूले सोमवार बताएपछि यो आक्रमण भएको छ।

सुरक्षा मन्त्रिपरिषद् बैठकमा मङ्गलवार बोल्दै इजरेलले "लेबननमा आफ्नो अभियान अझ गहिरो बनाइरहेको" उनले बताएका थिए।

'जटिल वार्तालाई बिथोल्ने जोखिम'

सोमवारको आक्रमणको दृश्य

तस्बिर स्रोत, Reuters

"आईडीएफ (इजरेली डिफेन्स फोर्सेस्)ले ठूलो फौजका साथ स्थल कारबाही गरिरहेको छ र सुदृढ इलाकालाई नियन्त्रणमा लिइरहेको छ," नेतन्याहूले भनेका छन् - उनीहरूले उत्तरी इजरेलमा आफ्ना समुदायहरूलाई हिज्बुल्लाहको हमलाबाट जोगाउन "सुरक्षा इलाकालाई सुदृढ" तुल्याइरहेका छन्।

युद्धविरामको दुवै पक्षबाट बारम्बार उल्लङ्घन हुने गरेको बताइएको छ।

यसले अमेरिका, इजरेल र इरानबीच जारी युद्ध रोक्न चलिरहेको जटिल वार्तालाई बिथोल्ने जोखिम निम्त्याएको छ।

विशेषगरी लेबनानको दक्षिणी भागमा इजरेली हवाई र तोप आक्रमणहरू दैनिक जसो हुन्छन्।

हिज्बुल्लाहले उत्तरी इजरेलस्थित समुदाय र दक्षिणी लेबननको भूभाग कब्जा जमाएर बसेका इजरेली फौजलाई लक्षित गर्दै रकेट र ड्रोन प्रहार गर्दै आएको छ।

इजरेली प्रधानमन्त्रीको 'प्रण'

स्थानीय सञ्चारमाध्यमका अनुसार बेका भ्यालीको मशगरा गाउँ र बुर्ज अल शमालीसहित दक्षिणी लेबननभर हवाई आक्रमण गरिएको छ।

सरकारी सञ्चार माध्यमका अनुसार केही आक्रमणहरू करिब ९०० वर्ष पुरानो ब्युफोर्ट क्यासल नजिकै भएको बताएका छन्, जसलाई संयुक्त राष्ट्रसङ्घीय निकाय युनेस्कोले "मध्ययुगीन किल्लाहरूको सबैभन्दा राम्ररी संरक्षण भएका उदाहरणहरूमध्ये एक" भनेर मान्यता दिएको छ।

सोमवारको भिडियो वक्तव्यमा नेतन्याहूले हिज्बुल्लाहलक्षित आक्रमण सङ्ख्या र यसको तीव्रता दुवै हिसाबले बढाउन लागेको जनाएका थिए।

त्यसलाई उनले इरानले सहयोग गरेको सिया मुस्लिम समूहको आक्रमणको जबाफ भनेका छन्।

उक्त समूहको आक्रमणमा फाइबर-अप्टिक ड्रोन पनि छन् जसले इजरेली सुरक्षा प्रणालीलाई विफल तुल्याउन सक्छ।

"हामी उनीहरूलाई कडा झट्का दिने छौँ," उनले आफ्नो प्रण सुनाए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।