पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ

- Author, बल्ला सतीश
- Role, बीबीसी संवाददाता
- Published
- पढ्ने समय: ७ मिनेट
जब सडकमा हीराको थुप्रो लगाएर बेचबिखनको प्रसङ्ग आउँछ, दक्षिण भारतस्थित विजयनगर साम्राज्यको नाम मानिसहरूको दिमागमा सबैभन्दा पहिले आउँछ।
दक्षिण भारतमा आज पनि मानिसहरू राया शासकहरूको समयमा हम्पीको सडकमा हीराको कति ठूलो व्यापार थियो भन्ने सुनाउँछन्। यस बारेमा चलचित्रहरू पनि बनेका छन्।
तर त्यहीँ क्षेत्रमा शासन गर्ने अर्को साम्राज्य पनि हीरा व्यापारका लागि उत्तिकै प्रसिद्ध थियो भन्ने कुरा कमै मानिसलाई मात्र थाहा छ।
त्यो थियो गोलकोन्डा राज्य, जसको राजधानी अहिले हैदराबाद भनेर चिनिन्छ।
सबैभन्दा धेरै हीरा भेटिने ठाउँ?

तस्बिर स्रोत, Getty Images
अधिकांश तेलुगू नागरिकहरूका निम्ति गोलकोन्डाको अर्थ एउटा पुरानो किल्ला मात्र हो। तर अङ्ग्रेजी भाषामा 'गोलकोन्डा' शब्द भाग्य र समृद्धिका लागि प्रयोग हुन थाल्यो। यसको कारण बुझ्न गाह्रो छैन।
जसरी हम्पीको सडकमा ठूलो मात्रामा हीराको व्यापार हुन्थ्यो, त्यस्तै व्यापार अहिलेको हैदराबादको पुरानो बजार कारवाँ क्षेत्रका सडकहरूमा पनि हुन्थ्यो।
१८औँ शताब्दीसम्म भारत विश्वमा हीराको सबैभन्दा ठूलो र महत्त्वपूर्ण स्रोत थियो। अफ्रिका र दक्षिण अमेरिकामा हीराको खानी १८औँ शताब्दीपछि मात्र फेला परेको हो।
दक्षिण भारतमा कृष्णा, तुङ्गभद्रा र पेन्ना नदी वरपरका क्षेत्रहरू हीराको मुख्य स्रोत थिए। त्यसैले विजयनगर, बिजापुर र गोलकोन्डा जस्ता साम्राज्यहरूको पहिचान हीरा कारोबारसँग जोडियो।
कुनै समय गोलकोन्डा राज्यको भाग, कोल्लूर गाउँ अहिले आन्ध्र प्रदेशको पलनाडु जिल्लामा छ।
त्यहाँ पुग्न बेलमकोन्डाबाट खेतबारी, झाडी, पहाड छिचोल्नुपर्छ।
त्यहाँबाट अगाडिको बाटोबाट ट्र्याक्टर र मोटरसाइकलबाहेक अन्य कुनै सवारीसाधन जान सक्दैनन्।
मोबाइल नेटवर्क र विद्युत् सेवाबाट वञ्चित यो गाउँमा फाट्टफुट्ट घरहरू मात्र देखिन्छन्।
तैपनि टाढा-टाढाबाट पुगेका केही मानिस हप्तौँसम्म जमिन खन्ने र बालुवा छानिरहेका हुन्छन्।
ऐतिहासिक दस्ताबेजहरूले लगभग ८०० वर्ष पहिले, कोल्लूर विश्व प्रसिद्ध हीरा खानीका लागि परिचित रहेको देखाउँछन्।
त्यो ठाउँको बारेमा धेरै बुझ्न कम्तीमा ४०० वर्ष पहिले युरोपबाट पुगेका पर्यटक र व्यापारीहरूले लेखेका पुस्तकहरू पढ्नुपर्छ।
हीरा खानी भएको गाउँ पानीमा विलय

सन् १६१८ देखि १६२२ बीचको कुरा हो। विलियम मेथोल्ड नाम गरेका एक विदेशी पर्यटक युरोपबाट कोल्लूर पुगेका थिए। त्यहाँ मानिसहरूको भीड देखेर उनी छक्क परे।
उनले गाउँ नजिकैको हीरा खानीमा ३० हजार मानिसले काम गर्ने गरेको लेखेका छन्।
उनको लेखनको करिब ५० वर्षपछि सन् १६६५ मा फ्रान्सेली पर्यटक ब्याप्टिस्ट टेभर्नियर त्यो ठाउँमा पुग्छन्।
त्यो गाउँमा ३० हजार होइन ६० हजार मानिसहरूले काम गर्ने गरेको उनले लेखेका छन्।
त्यसपछिका वर्षहरूमा उक्त गाउँ पूर्ण रूपमा पानीमा डुब्यो। त्यस गाउँमा अहिले चार परिवार मात्र बस्छन्।
उनीहरू बाख्रा पालन गरेर जीविका चलाउँछन्। त्यहाँबाट डुङ्गामा बसेर कृष्णा नदीको पुलिचिन्तला जलाशयमा केही किलोमिटर अगाडि जाँदा पानीको बीचमा एउटा टापु देखिन्छ।
वास्तवमा यो जलमग्न गाउँको अग्लो भाग हो। त्यहाँ केही मानिसहरू ससाना टेन्टमा बस्छन् र जमिन खन्दै हीरा खोजिरहेका हुन्छन्।
अहिले पनि यहाँ हीरा भेटिने गरेको चर्चा हुन्छ। त्यसैले ठूलो सङ्ख्यामा मानिसहरू आफ्नो भाग्य परीक्षा गर्न त्यहाँ पुग्छन्।
खानीको पर्याय बनेको कोल्लूर गाउँ

"१८औँ शताब्दीसम्म दक्षिण भारतको दक्कन क्षेत्र हीराको प्रमुख स्रोत थियो," जिओलोजिकल सर्भे अफ इन्डिया (जीएसआई) का अवकाश प्राप्त वैज्ञानिक एसभी सत्यनारायणले बीबीसीसँग भने, "कोहिनूर मात्र होइन, ग्रेट मोगल, रीजेन्ट, आँर्लोफ, निजाम र होप जस्ता हीराहरू पनि यहाँ भेटिएका थिए। विशेष गरी १३औँ र १७औँ शताब्दीको बीचमा हीराको व्यापार निकै फस्टाएको थियो।"
सत्यनारायणका अनुसार आन्ध्र प्रदेश र तेलङ्गानाका कृष्णा र पेन्ना नदीको उपत्यकामा ठूलो सङ्ख्यामा हीरा फेला पाइन्थ्यो। र सन् १७२५ मा ब्राजिलमा हीरा खानी फेला नपर्दासम्म यो क्षेत्र हीराको सबैभन्दा ठूलो स्रोत थियो।
"अङ्ग्रेजहरूको आगमन हुनुभन्दा पहिले, हीराले भारतको विदेशी व्यापारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो," इतिहासकार तथा पत्रकार नानिसेट्टी शेरीशले बीबीसीलाई भने, "हीरासँग सम्बन्धित धेरै रोचक कथाहरू पनि छन्। सामान्यतया, गर्मीमा नदीको पानी सुकेपछि पानीभन्दा बाहिर देखिने जमिनमा मानिसहरू हीरा खोज्छन्।"
कारवाँ : हीरा निकासीका लागि प्रसिद्ध क्षेत्र

हैदराबादको पुरानो बजारमा रहेको कारवाँ क्षेत्र कुनै समय हीराको बेचबिखनका लागि प्रसिद्ध थियो।
गुजराती, मारवाडी र अन्य भारतीय व्यापारीहरू त्यहाँ बसोबास गर्न पुगिसकेका थिए। विदेशीहरू पनि यहाँ निरन्तर पुग्थे।
इतिहास शोधकर्ता र पत्रकार नानिसेट्टी शेरीशका अनुसार, फ्रान्सका एक पर्यटक थेवनोले गोलकोन्डा क्षेत्र हीराहरूको धर्ती भएको लेखेका थिए।
"१७औँ शताब्दीसम्म गोलकोन्डाको शासनमा २३ वटा र बिजापुरको शासनमा १५ वटा हीरा खानीहरू थिए। भनिन्छ-- औरङ्गजेबले गोलकोन्डामा आक्रमण गर्नुको एउटा कारण त्यहाँ ठूलो मात्रामा रहेको हीरा हो।"
उनका अनुसार खानीमा जति कामदारहरू हुन्थे थिए, त्यति नै चौकीदारहरू राखिन्थे र विजयनगर साम्राज्यको पतनपछि गोलकोन्डा राज्य हीरा व्यापारीहरूको प्रमुख केन्द्र बनेको हो।
के यहाँ कोहिनूर भेटिएको थियो?

कोहिनूर हीरा वास्तवमा सुरुमा कहाँ फेला परेको हो भन्ने कुनै स्पष्ट प्रमाण छैन।
यद्यपि अधिकांश इतिहासकार र भूगर्भविद्हरू कोल्लूर खानीमा फेला परेको विश्वास गर्छन्।
कोहिनूर शाहजहाँसम्म पुगे पछिको इतिहास स्पष्ट रूपमा लिपिबद्ध छ। त्यसले कसरी हीरा एउटाको हातबाट अर्कोसम्म र अन्ततः ब्रिटेनको शाही मुकुटको हिस्सा बन्यो भन्ने बताउँछ।
तर शाहजहाँसम्म यो कसरी पुग्यो भन्ने कुराको कुनै ठोस प्रमाण छैन।
"मेरो अनुसन्धानका अनुसार हीरा कोल्लूर खानीबाट सिधै गान्डीकोटाका शासक मिर जुमलासम्म पुगेको थियो। उनले आफ्नो वफादारी देखाउन शाहजहाँलाई उपहारका रूपमा दिएका हुन्," शेरीश भन्छन्, "मुगलका दस्ताबेजमा हीराको रङ्ग, आकार, पानीजस्तो स्पष्ट चमक, पारदर्शिता र रातो मखमलको कपडाले बेरिएको बाकसको वर्णन गरेको भेटिन्छ जुन कोहिनूरसँग मिल्छ।"
उनका भनाइमा त्यस बेला त्यति धेरै हीरा फेला पार्ने एउटा मात्र खानी कोल्लूर थियो।
"शासक मीर जुम्लासम्म पुग्दासम्म हीराको कुनै नाम थिएन। शाहजहाँले त्यसलाई 'कोहिनूर' नाम दिएका हुन्। फारसीमा यसको अर्थ 'प्रकाशको पहाड' हुन्छ," शेरीश भन्छन्।
अहिले त्यहाँ हीरा कसले खोजिरहेको छ?

कोल्लूर जस्ता ठाउँहरूमा १३औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म अर्थात् लगभग ६०० वर्षसम्म व्यापक रूपमा उत्खनन गरिएको थियो।
अहिले आममानिस, गरिब परिवार र निम्न मध्यम वर्गका कैयौँ मानिसहरू आफ्नो भाग्यको परीक्षा गर्न ती क्षेत्रमा हीरा खोज्छन्।
मनसुनको सुरुका दिनमा त्यहाँ हीरा भेटिने सम्भावना बढी हुने गरेको उनीहरू सुनाउँछन्।
कुरनूल जिल्लाको जोन्नागिरी, अनन्तपुर जिल्लाको वज्रकरुर, कृष्णा जिल्लाको परिताला र गुन्टूर जिल्लाको कोल्लूरमा मे महिनाको अन्त्यतिरदेखि जुलाईको अन्त्यसम्म तेलङ्गाना र आन्ध्र प्रदेशबाट मानिसहरू हीराको खोजीमा पुग्छन्।
कतिपय आफूसँग चामल, नुन, तेल र खुर्सानी जस्ता अत्यावश्यक सामग्री लिएरै जान्छन्।
केही व्यक्तिहरू हप्ताको बाँकी समयमा काम गर्छन् र छुट्टीको दिन हीरा खोज्न त्यहाँ पुग्छन्।
बीबीसीले यहाँ हीरा खोज्न गएका धेरै व्यक्तिहरूसँग कुरा गरेको थियो। तर हीरा फेला पारेको कसैले बताएनन्।
तर कुनै व्यक्तिले यस्तो ठाउँमा हीरा फेला पारेको, त्यो निकै मूल्यवान् रहेको र भेटाउनेले अर्को व्यक्तिलाई बेचेको जस्ता कथाहरू उनीहरू सुनाउँछन्।

तस्बिर स्रोत, Tim Graham Photo Library via Getty Images
ती कति सत्य हुन् र कति काल्पनिक भन्ने ठम्याउन गाह्रो छ।
पिडुगुरला निवासी विजयम्मालाई खुर्सानी र कपास खेतीमा नोक्सानी भयो। ऋण चुक्ता गर्न हीरा फेला पर्ने आशामा उनको एक महिना कोल्लूरमा बित्यो।
"जसलाई हीरा भेटिनु पर्ने हो भेटिन्छ, कसैले पनि यसको बारेमा कसैलाई भन्दैनन्," विजयम्माको भनाइ छ, "यदि कसैले थाहा पायो भने, उनीहरूले हीरा खोज्ने व्यक्तिलाई के गर्लान् भन्ने सम्झिँदा नै मलाई डर लाग्छ।"
एर्रागोन्डापालेम इलाकाकी नरसम्मा पनि सात महिना कोल्लूरमा बसेकी थिइन्।

उनी हरेक महिना पेन्सन लिन गाउँ जान्थिन् र बाँकी समय श्रीमानसँग हीरा खोज्दै बिताउँथिन्।
ऋण तिर्न आफूहरूले मिहिनेत गरिरहेको उनको भनाइ छ। अहिले त्यहाँका धेरै स्थानीय बासिन्दा हीरा खरिद बिक्रीका दलाल बनेको बताउँदै उनी भन्छिन्, "उनीहरूसँग हीरा गुणस्तर जाँच गर्ने मेसिनहरू छन्। यदि कुनै व्यक्तिले हीराको शङ्का गरिएको ढुङ्गा भेट्टायो भने, उसले दलालकहाँ लैजान्छ।"
त्यसपछि दलालले हीरा व्यापारीहरूसँग मूल्य निर्धारण गरेर बिक्री गराउने गरेको उनको अनुभव छ।
प्राचीन भारतीय साहित्यमा महाभारतदेखि कौटिल्यको अर्थशास्त्रसम्मका धेरै ग्रन्थहरूमा हीराबारे उल्लेख गरिएको छ। यद्यपि हीरा निकालिएका क्षेत्रहरूको बारेको विस्तृत विवरण न्यून पाइन्छ।
ती खानीहरूको बारेमा धेरै जानकारी विदेशी पर्यटक, व्यापारी र युरोपका औपनिवेशिक प्रशासकहरूको लेखनमा भेटिन्छ।
लेखक हेनीले सन् १८१४ मा उल्लेख गरेअनुसार कोडवतिकालमा बयल गाडा ढुवानी गर्नु पर्ने गरी ठूलो मात्रामा हीरा भेटिएको थियो।
कोल्लूर आज इतिहासको पानामा सीमित हुन पुगेको छ र समयसँगै भौतिक रूपमा बिलाएको छ। तर धेरै व्यक्तिहरूको लागि त्यो गाउँ अझै पनि आफ्नो भाग्य परीक्षण गर्ने आशाको ठाउँ हो।
उनीहरूलाई लाग्छ : त्यहाँ भेटिन सक्ने एउटा हीराले उनीहरूको सम्पूर्ण चोला फेरिदिन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















