मङ्गल ग्रहका लागि सारी : भारतीय 'रकेट महिला' को पहिरन अमेरिकी सङ्ग्रहालयमा

वासिङ्टनस्थित स्मिथसोनियन न्याश्नल एअर एन्ड स्पेस म्युजियममा प्रदर्शनमा राखिएको नन्दिनी हरिनाथको सारी

तस्बिर स्रोत, Smithsonian’s National Air and Space Museum

तस्बिरको क्याप्शन, वाशिङ्टनस्थित स्मिथसोनियन न्याश्नल एअर एन्ड स्पेस सङ्ग्राहलयमा प्रदर्शनमा राखिएको नन्दिनी हरिनाथको सारी
    • Author, गीता पाण्डे
    • Role, बीबीसी संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

नन्दिनी हरिनाथले भारतीय अन्तरिक्ष वैज्ञानिक कार्यालयमा चम्किलो रातो र निलो सिल्कको सारीमा पुगेको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनको रूपमा सम्झिने गरेको सुनाउँछिन्।

उक्त सारीलाई अहिले वासिङ्टनस्थित स्मिथसोनियनको न्याश्नल एअर एन्ड स्पेस सङ्ग्रहालयमा गौरवपूर्ण तरिकाले राखिएको छ।

भारतको पहिलो मङ्गल ग्रह अर्बिटर मिसन, मङ्गलयानकी उप-सञ्चालन निर्देशक रहेकी नन्दिनीले उक्त सारी सन् २०१३ को डिसेम्बर १ तारिखमा लगाएकी थिइन्।

नन्दिनी भारतको अन्तरिक्ष निकायको प्रतिनिधित्व गर्दा वा कुनै विशेष कामको दिनमा सारी लगाउने गर्छिन् जुन खास गरी उनको बुवाले उनलाई उपहार दिएका थिए।

यो अभियानका लागि "सबैभन्दा महत्त्वपूर्ण दिन" भएकाले उनका लागि उक्त सारी निर्विकल्प छनोट थियो।

नन्दिनी र भारतीय अन्तरिक्ष अनुसन्धान निकाय (इस्रो) का अन्य वैज्ञानिकहरू अन्तरिक्षयानलाई पृथ्वीको कक्षबाट बाहिर धकेल्न र मङ्गल ग्रहको कक्षमा ३०० दिनको यात्रामा पठाउन उनीहरू कन्ट्रोल रुममा थिए।

"त्यो गर वा मरको क्षण थियो, मिसनको सबैभन्दा महत्त्वपूर्ण अपरेसन," सन् २०१६ मा मैले अन्तर्वार्ता गर्दा नन्दिनीले भनेकी थिइन्, "अन्तरिक्षयान कहाँ जान्छ, कसरी जान्छ र कहिले जान्छ भन्ने हामीले निर्णय गर्नुपर्ने थियो। हामीले त्यो दिनमा जे गर्थ्यौँ त्यसमै अभियानको सफलता निर्भर गर्थ्यो।"

मङ्गलयानलाई सन् २०१४ को सेप्टेम्बर २४ तारिखमा सफलतापूर्वक मङ्गल ग्रहको कक्षमा राखियो। त्यसो गर्ने भारत चौथो राष्ट्र र यो क्षेत्रकै पहिलो थियो।

नन्दिनी भारतको पहिलो मङ्गल ग्रह अभियान मङ्गलयानकी उप-सञ्चालन निर्देशक थिइन्
तस्बिरको क्याप्शन, नन्दिनी भारतको पहिलो मङ्गल ग्रह अभियान मङ्गलयानकी उप-सञ्चालन निर्देशक थिइन्

त्यस दिन नन्दिनी र अन्य महिला अन्तरिक्ष वैज्ञानिकहरूले सारी लगाएर इस्रो कार्यालयमा उत्सव मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो र उनीहरू विश्वव्यापी रूपमा चर्चामा आएका थिए। यसले भारतमा रकेट विज्ञान पुरुषले मात्रै धानिरहेका छन् भन्ने मान्यतालाई चुनौती दिएको थियो।

इस्रोले पछि उत्सव मनाउने महिलाहरू प्रशासनिक कर्मचारी भएको स्पष्टीकरण दिँदै उक्त मिसनमा काम गर्ने थुप्रै महिला वैज्ञानिकहरू पनि रहेको र त्यति बेला उनीहरू कन्ट्रोल रूपमा रहेको बताएको थियो।

स्मिथसोनियन सङ्ग्रहालयका अन्तरिक्ष इतिहासका क्यूरेटर म्याट शिन्डेलले अमेरिकाबाट बीबीसीलाई बताएअनुसार उक्त तस्बिर "निकै आकर्षक" थियो।

"मलाई लाग्यो यो कथा भन्नका लागि उत्कृष्ट हुनेछ, यी 'रकेट महिला' जो यो महत्त्वपूर्ण अभियानको अग्र र केन्द्रमा थिए।"

शिन्डेलले सन् २०२० मा नन्दिनीलाई इमेलमार्फत सम्पर्क गरे र भारतको मङ्गल अभियानको प्रतिनिधित्व कुन कुराले राम्ररी गर्छ र त्यसमा नन्दिनीको भूमिका के हुन्छ भनेर छलफल गरे।

"मैले उनलाई कुन वस्तु राख्न इच्छुक हुन्छिन् भनेर सोधेँ। हामीले मङ्गलयानले पृथ्वीको कक्ष छोडेको दिन उनले लगाएको सारी राख्नेमा सहमति जनायौँ," शिन्डेलले भने।

यो सारीलाई खेलौना, खेल, चलचित्र पोस्टर र अन्तरिक्षमा पहिलो अमेरिकी महिलाले लगाएको प्रतिष्ठित निलो टिसर्टसँगै राखिएको छ

तस्बिर स्रोत, Smithsonian’s National Air and Space Museum

तस्बिरको क्याप्शन, यो सारीलाई खेलौना, खेल, चलचित्र पोस्टर र अन्तरिक्षमा पहिलो अमेरिकी महिलाले लगाएको प्रतिष्ठित निलो टिसर्टसँगै राखिएको छ

स्मिथसोनियनमा प्रत्येक साता १०औ हजार मानिसहरू भ्रमणका लागि पुग्छन् जहाँ भारतका अन्य थुप्रै सङ्ग्रहहरू पनि राखिएका छन्। तर तिनीहरू धेरैजसो एअर फोर्स र विमान कम्पनीहरूका हुन्।

त्यहाँ चाँदीको किस्ती पनि छ जुन सन् २००७ मा विज्ञान आख्यान लेखक आर्थर सी क्लार्कलाई उनको ९० औँ जन्मदिनमा इस्रोले सम्झना स्वरूप दिएको थियो।

"तर नन्दिनीको सारी मैले हाम्रो विज्ञान सङ्ग्रहका लागि सङ्कलन गरेको पहिलो वस्तु हो र यो पहिलो सारी हो," शिन्डेलले भने।

यो सारीलाई एअर एन्ड स्पेस सङ्ग्रहालयको "फ्यूचर्स इन स्पेस" अन्तर्गत प्रदर्शन गरेर राखिएको छ। त्यहाँ खेलौना, खेल र चलचित्रका पोस्टरहरू पनि राखिएका छन्। अन्तरिक्षमा पुग्ने अमेरिकी पहिलो महिला साली राईडले सन् १९८३ को शटल अभियानमा लगाएको निलो टी-सर्टसँगै यो सारी राखिएको छ।

यो प्रदर्शनमा राख्नु पछाडिको उद्देश्यबारे शिन्डेल भन्छन्, "अन्तरिक्षमा भएका हालैका घटनाहरू र त्यसपछि हुनसक्ने घटनाबारे भ्रमणमा आउनेहरूलाई जानकारी गराउनु हो।"

"अन्तरिक्षबारे हामीसँग धेरै प्रश्नहरू छन् र त्यहाँ राख्नुले भ्रमण गर्न आउनेहरूलाई अहिलेका ठूला प्रश्नहरू सोच्न बाध्य बनाउँछ: अन्तरिक्षमा को जाने भनेर कसले निर्णय गर्छ? हामी किन जान्छौँ? र त्यहाँ हामी पुगेपछि के गर्छौँ?"

यो प्रदर्शनी किन भन्ने प्रश्नसँग जोडिएको छ र यहाँ राखिएका वस्तुहरूले अन्तरिक्षमा जाने प्रेरणा दिन्छ।

नन्दिनीको सारीले दुईवटा प्रेरणा दिने उनी बताउँछन्।

"पहिलो, यो भारतको पहिलो मङ्गल ग्रह अभियान र देशको सफल अन्तरिक्ष कार्यक्रममा राष्ट्रिय गौरवको प्रतीक हो। दोस्रो, उनको व्यक्तिगत कथा हो जुन प्रेरणादायी छ किनभने उनको सफलताले धेरै मानिसहरूलाई विज्ञानमा पेसा बनाउन प्रोत्साहित गर्नसक्छ।"

शिन्डेल भन्छन्- सारीको सांस्कृतिक महत्त्व छ र यसलाई सजिलै चिन्न सकिने भएकाले पनि यो सारी छनोट गरिएको हो। प्रदर्शनले सङ्ग्राहलयका आगन्तुकहरूलाई प्रदर्शनीहरूको बारेमा थप जान्नका लागि टचस्क्रीन थिच्न उत्सुक बनाउँछ।

"म एकदमै खुसी छु किनभने यहाँ आउनेहरूले सारी हेरिरहेका छन् र यसको बारेमा थप जान्न चाहन्छन्। यो हाम्रो सङ्ग्रहमा थपिएको एउटा गज्जबको कुरा हो," शेन्डेल भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।