ओमाननजिकै अमेरिकी हमलामा परेको ट्याङ्करबाट २४ भारतीय नाविकको उद्धार

    • Author, अभिषेक दे
  • Published
  • पढ्ने समय: ३ मिनेट

ओमाननजिकै समुद्रमा संयुक्त राज्य अमेरिकाले गरेको सैन्य कारबाहीका क्रममा एउटा ट्याङ्करमा आगलागी भएपछि चालकदलका २४ सदस्यको उद्धार गरिएको र उनीहरू सबै जना भारतीय नागरिक भएको भारतीय अधिकारीहरूले बताएका छन्। यो सोमवारको घटना हो।

चालकदलले ट्याङ्करमा आगो फैलिएको र पानीमा डुब्न लागेको भन्दै उद्धारको याचना गर्दै सन्देश पठाएका थियो। उक्त ट्याङ्करमा मालसामान भने थिएन।

यो खाडी क्षेत्रमा व्यापारिक जहाजले भोग्नुपरेको ताजा घटना हो। अमेरिका र इजरेलले इरानविरुद्ध युद्ध थालेपछि खाडीको समुद्री आवागमनमा जोखिम बढेको छ।

युद्धसँगै ओमानको खाडी र स्ट्रेट अफ होर्मुजमा जलमार्ग अवरुद्ध भएको छ भेने सैन्य गतिविधि चुलिएको छ।

भारतको बन्दरगाह तथा जलमार्ग मन्त्रालयका अधिकारी ओपेशकुमार शर्माका अनुसार एमटी म्याभिरेक्स नामक उक्त ट्याङ्करमा सोमवार स्थानीय समयानुसार दिउँसो १ः३० बजे आगो लागेको थियो।

प्रारम्भिक विवरणहरूका अनुसार उद्धार गरिएका सबै भारतीय सुरक्षित रहेको र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारी निकायहरूसँग समन्वय भइरहेको उनले बताए। यद्यपि भारतले कसरी आगो लाग्यो भनेर विस्तारमा खुलाएको छैन।

भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उक्त ट्याङ्करमा भएका चालकदलका सबै जनालाई ओमानी हेलिकप्टरबाट उद्धार गरेर मसिराह टापुमा लगिएको छ।

अमेरिकाले इरानसँग सम्बन्ध भएको भन्दै म्याभिरेक्सलाई पहिला प्रतिबन्ध लगाएको विवरण रोएटर्सले प्रकाशन गरेको छ।

भारतीय व्यावसायिक नाविकहरूको सङ्गठन अल इन्डिया सीफेरर्स यूनिअनका अनुसार पलाउको ध्वजावाहक ट्याङ्करको चालकदलमार्फत् म्याभिरेक्समा आगो लागेपछि गुहार मागिएको सन्देश प्राप्त भएको अनि त्यसपछि पूरै उद्धारका क्रममा आफूहरू सम्पर्कमा रहेको जनाएको छ।

त्यस्तै अर्को सङ्गठन फर्वर्ड सीमेन्स यूनिअन अफ इन्डियाले उक्त घटनालाई गम्भीर चिन्ताको विषय भन्दै उद्धार गरिएका नाविकहरूको सुरक्षाको सुनिश्चितता, परिवारलाई सहयोग र अन्य नाविकहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेको छ।

दुवै सङ्गठनले अहिलेको घटनामा परेक भारतीय नाविकहरूको उद्धार भएको र उनीहरू सुरक्षित रहेको पुष्टि गरेका छन्।

कसरी भयो आगलागी

अमेरिकी सेन्ट्रल कमान्डले एउटा विज्ञप्ति जारी गर्दै ८ जुनमा ओमानको खाडीमा अमेरिकी सैनिकहरूले "एउटा मालरहित तेल ट्याङ्करलाई निष्क्रिय पारेको" जनाएको छ।

उक्त जहाजले इरानको एउटा बन्दरगाहमा जाने प्रयास गरेको र त्यसबाट इरानविरुद्ध जारी नाकाबन्दीको उल्लङ्घन भएकाले कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

"चालकदलले अमेरिकी सेनाको निर्देशन पालना नगरेपछि यूएसएस अब्राहम लिङ्कन (CVN 72) बाट उडेको एफ/ए-१८ सूपर होर्नट लडाकु विमानले उक्त जहाजको इन्जिनिअरिङ र स्टिअरिङ कक्षमा लक्ष्यनिर्दिष्ट क्षेप्यास्त्र (प्रिसिजन म्यूनिशन) प्रहार गरेको थियो," विज्ञप्तिमा भनिएको छ।

"म्याभिरेक्स अहिले इरानतर्फ जाँदै छैन।"

सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाको निसानामा पर्दा जहाज तेल ओसार्दै थिएन। घटनास्थल चाहिँ स्ट्रेट अफ होर्मुजबाट दक्षिणतर्फ भएको बताइएको छ।

होर्मुज जलमार्ग साँघुरो भए पनि युद्ध सुरु हुनुअघिसम्म निकै व्यस्त रहने गर्थ्यो। सामान्य समयमा उक्त जलमार्ग हुँदै संसारको झन्डै २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने गर्थ्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।