विश्वकपमा तेस्रो स्थानको प्रतिस्पर्धा तीन कारणले रोचक हुन सक्छ

फ्रान्स र इन्ङ्ग्ल्यान्डको विश्वकप टोलीका प्रमुख खेलाडीहरू

तस्बिर स्रोत, FIFA via Getty Images

    • Author, साम ड्रुरी
    • Role, बीबीसी खेल संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

फेरि एक पटक विश्वकप जित्ने इङ्गल्यान्डको सपना चकनाचुर भए पनि प्रतियोगिताबाट यो टोली बाहिरिइसकेको छैन।

बरु इङ्ग्ल्यान्डले सन् १९६६ यता पुरुष फुटबलमा पहिलो ठूलो उपाधिको प्रतीक्षा गरिरहेको छ।

तेस्रो स्थानका लागि इङ्गल्यान्डले फ्रान्सविरुद्ध शनिवार राति अर्थात् नेपाली समयअनुसार आइतवार बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्दै छ।

बुधवार आर्जेन्टिनासँगको हारसँगै विश्वकप जित्ने सपना अन्त्य भएपछि अबको खेलको महत्त्व ठूलो लाग्न सक्छ। तर अबको खेल पनि कम्तीमा तीन वटा कारणले महत्त्वपूर्ण छ।

१. गोल्डन बुटको प्रतिस्पर्धा

किलियान म्बाप्पे सन् २०२२मा गोल्डन बुट समाउँदै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, किलियान म्बाप्पेले सन् २०२२को विश्वकपमा गोल्डन बुट जितेका थिए

इङ्ग्ल्यान्ड र फ्रान्स दुवै टोलीका खेलाडीहरू एउटा व्यक्तिगत उपाधिका लागि अझैसम्म प्रतिस्पर्धामै छन्। त्यो हो गोल्डन बुट।

फ्रान्सका कप्तान किलियान म्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै यो विश्वकपमा आठ गोल गरिसकेका छन्।

म्बाप्पेको जति नै गोल आर्जेन्टिनाका लिओनेल मेस्सीले पनि गरेका छन्। तर चार 'असिस्ट' गरेका मेस्सी म्बाप्पेभन्दा अझै अगाडि छन्। म्बाप्पेका नाममा तीन 'असिस्ट' छन्।

अब म्बाप्पेको टोली र मेस्सीको टोली दुवैले एक-एक खेल खेल्न बाँकी छ। मेस्सीले फाइनलमा र म्बाप्पेले तेस्रो स्थानमा प्रतिस्पर्धा गर्दै छन्।

तेस्रो स्थानको खेलमा गरिएका गोल पनि गोल्डन बुटको गणनामा समावेश हुन्छन्। त्यसैले मेस्सीलाई पछि पार्ने अवसर म्बाप्पेसँग अझै छ। तर यदि म्बाप्पेले थप गोल र असिस्ट गरे भने पनि एक दिनपछि हुने फाइनलमा आफ्नो पनि अङ्क बढाउने असवर मेस्सीसँग छ।

यदि म्बाप्पेले गोल गरे वा दुई असिस्ट गरे भने उनले सन् १९९० मा इङ्ग्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा गोल गरेर गोल्डन बुट जित्ने इटालीका साल्भातोरे स्किलाचीको उपलब्धि दोहोर्‍याउन सक्छन्।

यो प्रतिस्पर्धामा इङ्गल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम पनि छन्। उनीहरू दुवै जना मेस्सी र म्बाप्पेभन्दा दुई गोलले मात्रै पछाडि छन् अर्थात् छ-छ गोल गरिसकेका छन्। उनीहरू पनि गोल्डन बुटको प्रतिस्पर्धामै छन्।

२. इङ्गल्यान्डका लागि ऐतिहासिक मौका

इङ्ग्ल्यान्डको टोली

तस्बिर स्रोत, Reuters

उपाधि जित्ने सपना समाप्त भइसकेको भए पनि इङ्गल्यान्डका लागि तेस्रो स्थानको खेल अझै ऐतिहासिक बन्न सक्छ।

विश्वकप सुरु हुँदा समर्थकहरूले तेस्रो स्थानमा चित्त बुझाउने सपना पक्कै देखेका थिएनन्। तर यदि फ्रान्सलाई हराउन सके, इङ्गल्यान्डले पछिल्ला ६० वर्षयताकै उत्कृष्ट विश्वकप प्रदर्शन गर्नेछ।

फ्रान्सलाई हराएर तेस्रो स्थान जितेको अवस्थामा सन् १९६६ को उपाधि यताकै सबैभन्दा बलियो प्रदर्शन इङ्गल्यान्डको हुने छ।

यसअघि विश्वकपमा तेस्रो स्थानका लागि खेलेका दुई खेलमा इङ्ग्ल्यान्ड पराजित भएको थियो।

सन् १९९० मा इटालीसँग र सन् २०१८ मा बेल्जमसँग पराजित भएको इङ्ग्ल्यान्ड चौथो स्थानमा मात्रै सीमित भयो।

स्वर्ण र रजत पदकको यात्रा सकिएपछि कम्तीमा काँस्य पदक भए पनि जित्ने प्रयास त इङ्गल्यान्डले गर्ने नै भयो।

३. अवसर नपाएका खेलाडीलाई मौका?

कोबी माइनू इङ्ग्ल्यान्डका प्रशिक्षकसँग

तस्बिर स्रोत, PA

विश्वकपको अन्तिम खेलमा इङ्ग्ल्यान्ड र फ्रान्स दुवै देशका प्रशिक्षकले केही प्रमुख खेलाडीलाई आराम दिन सक्ने सम्भावना छ।

त्यसले अहिलेसम्म खेल्ने अवसर नपाएका खेलाडीलाई मौका दिन सक्छ।

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइनूले अहिलेसम्म एक मिनेट पनि खेल्ने मौका पाएका छैनन्। दबाव कम भएकाले इङ्गल्यान्डले अबको खेलमा उनलाई विश्वकप डेब्यू गराउन सक्छ। यसो गर्दै हालै बिरामी परेका डेक्लान राइसलाई पनि विश्राम दिन सकिन्छ।

ओली वाट्किन्सले पनि कम अवसर पाएका छन्। उनले हालसम्म छ मिनेट मात्रै खेलेका छन्। इभान टोनीले पनि त्यति नै समय मात्र मैदानमा बिताएका छन्।

अर्कोतर्फ फ्रान्स सन् २०१८मा विश्वकप विजेता बन्दा राष्ट्रिय टोलीमा रहेका एन्गोलो कान्टेले पनि यो पटकको प्रतियोगितामा अहिलेसम्म खेल्न पाएका छैनन्। अहिले ३५ वर्ष पुगेका उनका लागि यो विश्वकप नै अन्तिम हुने सम्भावना छ।

म्यानचेस्टर सिटीका प्लेमेकर रायन शेर्कीले पनि ८५ मिनेट मात्रै खेलेका छन्। यो पटक उनलाई प्रशिक्षकले सुरुबाटै खेलाउँछन् त?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।