नेपाली पुरुष क्रिकेट टोली एशियाड छनोटको च्याम्पिअन

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: २ मिनेट
हङ्कङलाई डीएल प्रणालीमा १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एशियाली खेलकुद (एशियाड) को छनोट प्रतियोगिताको च्याम्पिअन बनेको छ।
सिङ्गापुरमा सोमवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा हङ्कङले दिएको १८९ रन पछ्याउने क्रममा ११४ रन बनाएर खेलिरहेको बेला वर्षा भएपछि नेपाल विजेता भएको हो।
त्यति बेला नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाएको थियो।
हङ्कङका अनुभवी ब्याटर अंशुमन रथले ८० रन बनाएपछि टोलीले ७ विकेटको क्षतिमा १८८ रन चुनौतीपूर्ण स्कोर बनाएको थियो।
जबाफमा फर्ममा रहेका ओपनर कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाउँदै नेपाललाई जितको बाटोतिर डोर्याए।
हङ्कङको चुनौती
यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।
शेर मल्लले दोस्रो ओभरमा निजाकत खानको विकेट लिएर नेपाललाई सुरुआत दिलाए भने तेस्रो ओभरमा करण केसीले अनुभवी बाबर हायतलाई शून्य रनमा पवेलियन फर्काएपछि नेपालले सुरुआतमा खेल पकडमा राखेको थियो।
तर त्यसपछि लामो समयदेखि हङ्कङ टोलीमा खेल्दै आएका अंशुमन रथले इनिङ बलियोसँग सम्हाले।
लामो इनिङ खेल्ने क्रममा उनले ६५ बल ८० रन बनाए, जसमा ६ छक्का र ६ चौका सामेल थियो।
उनीबाहेक शाहीद वासिफले आक्रामक रूपमा २८ बलमा ५५ रन बनाए।
बलिङमा शेर मल्ल चम्किए। उनले कुल ४ विकेट लिएका थिए। अरू बलरहरू भने महँगो साबित देखिएका थिए।
सन्दीप लामिछानेले ४६ रन तथा करणले ४५ रन खान पुगेका थिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।
कुशलले सम्हालेको ब्याटिङ

तस्बिर स्रोत, CAN
पछिल्लो २ खेलमा लगातार शतकीय पारी खेली कीर्तिमान बनाएका ओपनर कुशल भुर्तेलले फाइनलमा पनि आफ्नो क्षमता जारी राखे।
ओपनर सहयात्री आशिफ शेख पहिलो बलमा आउट भए पनि कुशलले विपक्षी बलरमाथि लगातार आक्रमण गरेका थिए।
कुशलले ४० बलमा ६५ रन बनाए, जसमा ८ चौका र ३ छक्का सामेल थियो। त्यस्तै रोहित पौडेलले ३५ रन तथा कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा अविजित रहे।
जापानमा आगामी सेप्टेम्बरमा हुने २०औँ नागोया एशियाडमा नेपाललगायत हङ्कङ, मलेशिया र ओमान छनोट भइसकेका छन्।
सोमवार नै तेस्रो स्थानका लागि भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले पराजित गर्यो।
एशियाडमा पहिले सिधै छनोट हुने गरे तापनि अहिले छनोट चरण पार गर्नुपर्ने नियम बनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















