'बाटो बिरायौँ': शुक्लाफाँटामा 'हराएका' १४ महिला आफैँ घर फर्किए

तस्बिर स्रोत, DAO, Kanchanpur
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतवार अपराह्नदेखि सम्पर्कविहीन भएका १४ महिला सकुशल घर फर्किएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
उनीहरूलाई खोज्नका लागि तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरिएको थियो। जङ्गल निकै ठूलो भएको हुनाले सुरक्षाकर्मीहरूले खोजीकार्यमा ड्रोन पनि प्रयोग गर्नेबारे विचार गरेका थिए।
"जङ्गलभित्र जाँदा कसैले पनि फोन बोक्नुभएको थिएन। राति दिग्भ्रमित हुनुभएछ। उज्यालो भएपछि बिहान बाटो पहिल्याउँदै उहाँहरू आफैँ आउनुभयो," उनले भने।
ती महिलाहरू जङ्गलमा तरकारी खोज्न गएको बुझिएको छ। तीमध्ये नौ जना नातेदारहरू भएको स्थानीयवासीले बताएका छन्।
शुक्लाफाँटा क्षेत्रको बेलडाँडीमा हराएका तीन जना यसअघि नै फेला परेका थिए।
घर फर्किएपछि के भने

तस्बिर स्रोत, Shuklaphanta National Park
हराइरहेका महिलाहरू कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ का बासिन्दा भएको अधिकारीहरूले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार सबै जनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर भेटेको छ।
"उनीहरूले हामीले बाटो भुल्यौँ भन्नुभयो," उनले भने।
कोइरालाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल १५० जनालाई खोजीकार्यमा परिचालन गरिएको थियो। स्थानीय बासिन्दाहरूले पनि खोजीकार्यमा सघाएका थिए।
टोलीहरूले हिँडरै र सवारीसाधनबाट पनि जङ्गलमा उनीहरू गएको हुन सक्ने ठाउँमा खोजी गरेका थिए।
एक महिलाका आफन्तका अनुसार उनीहरू निकुञ्ज प्रवेश गर्ने बेला "मौसम अलिअलि खराब" थियो। आइतवार राति वर्षा भएका कारण उनीहरूले बाटो बिराएको हुन सक्ने ठानिएको थियो।
कसरी भएको थियो खोजी

यसअघि प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले "राति ९ बजेबाट सूचना आएलगत्तै खोजीकार्य" सुरु भएको टेलिफोनमार्फत् बीबीसी न्यूज नेपालीलाई बताएका थिए।
उनका अनुसार तीनवटै सुरक्षा निकायका टोलीहरूलाई विभिन्न नाकाबाट परिचालन गरिएको थियो।
सुरक्षा समितिको बैठक बसेर आवश्यक परेको खण्डमा हेलिकप्टर र ड्रोनको मद्दतले खोजी कार्य अघि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आइतवार राति ९ बजेसम्म ती महिलाहरू फर्किएर नआएपछि खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको बताए।
"रातभरि पानी परेको छ। हिजो दिउँसो घाम नलागेको, बादल लागेको थियो। त्यही भएर मानिसहरूलाई दिशा पत्ता लगाउन सायद गाह्रो भयो कि जस्तो लाग्छ," यसअघि उनले भनेका थिए।
उनका अनुसार विभिन्न टोलीहरू र आआफ्नो पोस्टनजिकका क्षेत्रमा सैनिकहरू पनि खोजीकार्यमा सहभागी भएका थिए।
प्रहरीले निकुञ्ज क्षेत्रमा त्यसरी प्रवेश गर्न नमिल्ने भन्दै ती महिलाहरू 'लुकीचोरी' प्रवेश गरेको बताए। खोजीकार्यमा खटिएको सुरक्षा निकायको टोलीले त्यसरी निकुञ्जभित्र प्रवेश गरिरहने व्यक्तिहरूलाई पनि सँगै लिएर गएको जनाएको छ।
सम्पर्कविहीन भएर भेटिएका महिला को हुन्

तस्बिर स्रोत, RSS
स्थानीय वडाध्यक्ष जागुराम चौधरीका अनुसार सम्पर्कविहीन महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्।
"च्याउभन्दा पनि परपुरा टिप्न हिजो ११ बजे निस्किएका हुन्। चौधरीहरूले त्यसलाई फुड्की भन्छन्," उनले सोमवार बिहान बीबीसीसँग भनेका थिए। "उनीहरू पहिला पनि जान्थे कि जाँदैन थिए त्यो मलाई थाहा भएन। पहिला नगएको भएर बाटो बिर्सिएका हुन् कि?"
स्थानीय रवीन्द्र चौधरीले आफ्ना भाउजू र भतिजीहरू पनि उक्त समूहमा भएको बताए।
"हाम्रो परिवारबाट नौ जना हुनुहुन्छ। पहिलादेखि नै जाने चलन थियो। पहिला पनि मालुमेला आसपास नै उहाँहरू जानुहुन्थ्यो।"
उनका अनुसार कसैले पनि फोन लगेका थिएनन्। "फोन लिएर जाँदा पनि जङ्गलभित्र फोन लाग्दैन," यसअघि उनले भनेका थिए।
उनका अनुसार उनीहरू आइतवार बिहानको खाना खाएर निकुञ्जतिर भएका थिए।
उनका अनुसार उनीहरू सबै खेतीपाती गर्ने मानिस हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















