बिहेभोजमा अमेरिकी हमला हुँदा 'पाँच जनाको मृत्यु', इरानद्वारा विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार

तस्बिर स्रोत, Reuters
अमेरिकी सेनाले मङ्गलवार इरानविरुद्ध पुनः आक्रमण सुरु गरेपछि तेहरानले जोर्डन, कुवेत, इराक र बाहरेनमा रहेका अमेरिकी सैन्य आधारशिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ।
इरानी रेड क्रसका अनुसार दक्षिण इरानको सिरिकमा बिहेभोज भएको एउटा घरमा अमेरिकाले प्रहार गरेको क्षेप्यास्त्र खस्दा एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ। उक्त घटनामा ५० जना भन्दा बढी घाइते भएका छन्।
अमेरिकी सेनाले त्यसबारे जानकारी पाएको तर आफूले कहिल्यै सर्वसाधारण मानिसहरूलाई निसाना नबनाएको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार होर्मुज जलमार्गमा इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)ले व्यावसायिक पानीजहाजहरू र सो क्षेत्रमा रहेका अमेरिकी सेनामाथि हालै हमला गर्न खोजेकाले अमेरिकी सेनाले कारबाही गरेको हो।
आईआरजीसीले यो आक्रमणप्रति अमेरिकाले "पश्चात्ताप" गर्नुपर्ने चेतावनी दिएको छ।
बलिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेर जबाफ

इरानको अर्धसरकारी समाचारसंस्था तास्निमका अनुसार इरानले सिरिक घटनाको जबाफ दिन बुधवार बिहानै जोर्डनको अकाबास्थित अमेरिकी मरीन बेसमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।
जोर्डनको सशस्त्र प्रहरी बलले १३ वटा इरानी क्षेप्यास्त्रलाई छेकिएको जनाएको छ। तीमध्ये १० वटालाई नष्ट पारिएको र तीनवटा क्षेप्यास्त्र दुर्गम क्षेत्रमा खसेको बताइएको छ।
इरानले गरेको आक्रमणबाट कोही हताहत नभएको विवरण आएको छ।
जोर्डनको राष्ट्रिय सुरक्षा केन्द्रले अकाबा र माफ्राक क्षेत्रका बासिन्दाहरूलाई आकाशबाट भग्नावशेष खस्न सक्ने भन्दै सतर्क रहन चेतावनी दिएको थियो। तर पछि उक्त चेतावनी फिर्ता लिइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
कुवेती सेनाले बुधवार बिहान इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रत्युत्तर दिन आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी आक्रमणपछि बाहरेनमा पनि धेरै पटक विस्फोट भएको आवाज सुनिएको छ।
इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा आईआरजीसीले बुधवार अमेरिकी सैन्य शिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरी मर्मत केन्द्र, गोदाम र उपकरणहरू नष्ट पारिदिएको आईआरएनएले जनाएको छ।
ट्रम्पको चेतावनी
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी आक्रमणको प्रतिकार गरेमा "अझ कडा र उच्च स्तरको" आक्रमण गर्ने चेतावनी दिएका थिए।
जुलाईपछि अमेरिकाले यसअघि केही दिन पहिला पहिलो पटक इरानविरुद्ध हमला गरेको थियो।
सेन्टकमका अनुसार अमेरिकी सेनाले १२:०० ईटी (१६:०० जीएमटी) मा आईआरजीसीका भौतिक संरचनाहरूमा आक्रमण थालिएको र उक्त कारबाही बुधवार बिहान टुङ्गिएको थियो।
अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि हमला थालेका थिए। त्यसको जबाफमा इरानले इजरेल, अमेरिकी बेसहरू र खाडीस्थित अमेरिकाका साझेदार राष्ट्रहरूमा आक्रमण गर्यो। इरानले होर्मुज जलमार्गमा अवरोध गर्दै आएको छ।
अमेरिका र इरानले जुन महिनामा युद्धविराम गर्ने सहमति गरेका थिए। तर त्यसपछि दुई पक्षबीच फेरि तनाव बढेको छ।
इरानका राष्ट्रपति मसूद पेजेस्किआनलाई उद्धृत गर्दै मङ्गलवार सरकारी सञ्चारमाध्यमले दिएको विवरणअनुसार यदि अमेरिका युद्धविरामको सम्झौता पालना गर्न तयार भएमा तेहरान पनि त्यसका लागि तयार छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















